Comments Add Comment

किनमेल पनि कला हो, यसरी घटाउनुहोस् घरायसी खर्च

तपाईंले ख्याल गर्नुभएको छ महिना दिनमा तपाईं के-के कुरा खरिद गर्नुहुन्छ ? दाल, चामल, नुन, तेल, मरमसला, साबुन, सागसब्जी । यी दैनिक आवश्यक्ताका सामाग्री भए । यससँगै हामीलाई बेलाबखत नयाँ लुगा फेर्न मन लाग्छ, लुगा खरिद गर्छौं ।

बेलाबखत पुस्तक पढ्न मन लाग्छ, पुस्तक खरिद गर्छौं । बेलाबखत घरबाहिरको खानेकुराको तलतल लाग्छ, खानेकुरा खरिद गर्छौं । कहिले बेडकभर, सिरक आदि खरिद गरिन्छ, कहिले विलासिताका सामाग्री खरिद गरिन्छ । कहिले सजावटका सामाग्री खरिद गरिन्छ, कहिले गरगहना ।

यावत् सामाग्रीहरु कसरी खरिद गर्नुहुन्छ ?

जब चामल सकिन्छ, तब बजारमा दौडनुहुन्छ । बजारमा देख्नसाथ केही सामाग्री उठाइहाल्नुहुन्छ । कहिले आवश्यक्ताले, कहिले रहरले खरिद गर्नुहुन्छ । कहिले काहीँ योजनाबद्ध ढंगले पनि किनमेल गर्नुहुन्छ ।

हामीलाई आवश्यक सबैकुरा हामी आफै उत्पादन गर्न सक्दैनौं । धेरैजसो कुरा बजारमा निर्भर हुनुपर्छ । खाद्यन्न, लताकपडा सबै कुरा हामी बजारबाटै खरिद गर्छौं । वास्तवमा यसरी किनमेल गर्नु पनि कला हो । तर, किनमेल त्यसबेला कला हुन्छ, जब यसमा हाम्रो निपूर्णता झल्कन्छ । जथाभावी गरिने किनमेलले आर्थिक बोझ बढाउँछ । नियोजित र सावधानीपूर्वक गरिने किनमेलले समय, श्रम र पैसाको वचत सही सदुपयोग हुन्छ ।

किनमेल हाम्रो जीवनशैलीकै एक हिस्सा हो । हामी हरेक दिन केही न केही किनिरहेका हुन्छौं । यसरी किनमेल गर्दा कति पैसा खर्च भयो ? ति पैसा कहाँबाट जुटाइयो ? खरिद गरिएको सामाग्री कति आवश्यक थियो ? ति सामाग्री कसरी उपयोग एवं उपभोग गरियो ? यो कुरा मन्थन गर्नु जरुरी छ ।

किनभने हामी किनमेला उदासिन रहन्छौं । किनमेललाई झन्झटिलो मान्छौं । त्यसैले हामी योजनाबद्ध ढंगले किनमेल गरिरहेका हुँदैनौं । यसैगरी हामी अनावश्यक किनमेल पनि गरिरहेका हुन्छौं । यसरी जथाभावी गरिने किनमेलले हाम्रो समय नष्ट गर्छ, श्रम नष्ट गर्छ । पैसाको दुरुपयोग हुन्छ ।

धेरैजसो परिवारमा आर्थिक संकट आउनुको पछाडि अव्यवस्थित किनमेल पनि एक हो । जथाभावी खरिद गर्ने र त्यसको सही सदुपयोग नगर्ने, आम्दानीको अनुपातमा खर्च बढी गर्ने जस्ता प्रवृत्तिले परिवारको आर्थिक भार थप्दै जान्छ । अन्ततः परिवार टाट पल्टन थाल्छ । जब आर्थिक रुपले कमजोर भइन्छ, कलह सुरु हुन्छ । कलहले परिवारलाई नराम्ररी ध्वस्त पार्छ । त्यसैले पैसा खर्च गर्ने कुरामा संयमित हुनैपर्छ । खासगरी किनमेलमा हामीले केही सावधानी अपनाउनुपर्छ ।

दैनिक आवश्यक्ता के हुन् ?

दैनिक आवश्यक्ताका सामाग्री जस्तो कि, दाल, चामल, तेल, नुन, टुथपेस्ट, साबुन इत्यादि । यी सामाग्रीलाई हामीले प्राथमिकतामा राख्नुपर्छ । कस्तो चामल खाने, कस्तो तेल प्रयोग गर्ने भन्ने कुरामा पनि पूर्व तयारी आवश्यक छ । दैनिक उपभोग्य बस्तुहरु एकमुष्ठ रुपमा खरिद गर्दा राम्रो हुन्छ । अर्थात हप्ता वा महिनाभर पुग्ने सामाग्री एकै पटक खरिद गर्नुपर्छ ।

यसरी एकमुष्ठ खरिद गर्दा हामीलाई के-के चाहिन्छ, कति खर्च आवश्यक छ भन्ने मोटामोटी बजेट तयार हुन्छ । एकै पटक खरिद गर्दा छुट पनि माग गर्न सकिन्छ । यसले समयको वचत भयो, श्रमको वचत भयो । पटक, पटक बजार दौडनु परेन ।

आवश्यक्ताको प्राथमिकता

हामी कम आवश्यकको सामाग्रीमा पैसा खर्च गरिरहेका हुन्छौं । अति आवश्यक कुराको चाहि संकट खेपिरहेका हुन्छौं । अर्थात सजावटको सामाग्री किनेर ल्याउँछौं, खाना पकाउने बेला तेलको भाँडो चाहि खाली हुन्छ ।

हाम्रो प्राथमिक आवश्यकता के हुन् ? हामीलाई नभई नहुने कुरा के हुन् ? कुन कुरा अति जरुरी छ ? यसरी प्राथमिता अनुसार किनमेलको सूची तयार गर्नुपर्छ ।

हामीलाई नभई नहुने कुरा वा मूख्य आवश्यक कुराहरुलाई प्राथमिकतामा राखेर खरिद गर्नुपर्छ । यसरी खरिद गर्दै जाँदा पैसा नपुगे कम आवश्यक्ताका सामाग्री खरिद नगरे पनि हुन्छ ।

सूची तयार गरौं

किनमेलमा निस्कनुअघि सूची तयार पार्नुपर्छ । यो निकै राम्रो अभ्यास हो । बजारमा पुगेपछि आफुलाई के-के कुराको खाँचो थियो भनेर सम्झनुभन्दा घरबाटै सूची तयार गरेर जानु राम्रो हो ।

सूची तयार गरिरहँदा घर परिवारमा के-कस्ता सामाग्रीको आवश्यक्ता छ, ति कति महत्वपूर्ण एवं उपयोगी छन् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

आम्दानी र खर्चको अनुपात

हामी आम्दानीभन्दा बढी खर्च गर्न पुग्छौं । त्यही कारण हामीलाई सधै पैसाको धौं धौं हुन्छ । आफ्नो आम्दानीलाई हेरेर त्यही अनुसार खर्चको विवरण तयार गर्नुपर्छ । आफ्नो आवश्यक्ता के हो भन्ने कुराको विवरण तयार गरेपछि आफ्नो आम्दानीको खाका पनि हेर्नुपर्ने हुन्छ । यदि आम्दानीभन्दा खर्च बढी भयो भने अनावश्यक सामाग्री किनमेल गर्नु हुँदैन । वा कम प्राथमिकतामा राखिएका सामाग्री हटाउनुपर्छ । वा सामाग्रीको मात्रा कम गर्नुपर्छ ।

छुट अफर छ कि ?

किनमेल गरिरहँदा कतिपय बस्तुमा छुट अफर छ वा छैन भनेर हेर्नु आवश्यक छ । चाडपर्व वा कुनै विशेष अवसरमा कतिपय उत्पादनमा छुट अफर दिइएको हुन्छ । त्यस्ता अफरहरुबाट आफुपनि लाभान्वित हुन सकिन्छ ।

मूल्य र गुणस्तरमा ध्यान

यसैगरी किनमेल गर्दा बस्तुको उचित मोल कति होला ? गुणस्तर कस्तो होला भन्ने कुरामा निकै ख्याल गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment