+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उमेर हदका विषयमा राष्ट्र बैंक सञ्चालक समितिमा बिवाद

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते १३:०५

२४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र सीईओको उमेरहद सम्बन्धमा जारी गरेको परिपत्रका विषयमा नेपाल राष्ट्र बैंक सञ्चालक समितिभित्र बिवाद उत्पन्न भएको छ । राष्ट्र बैंकले गत आइतबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै नयाँ उमेर हद तोकेको थियो ।

राष्ट्र बैंकले सञ्चालक समितिमा छलफल नै नगरी सो निर्णय लिएकाले बिवाद भएको एक सञ्चालकले बताए । ‘परिपत्र जारी गरेपछि केही बैंक तथा वित्तीय क्षेत्रबाट गुनासो पनि आयो, फेरि सञ्चालक समितिमा छलफल पनि भएको थिएन,’ ती सञ्चालकले भने, ‘अब सञ्चालक समितिमा छलफल गरेर यो निर्णय फिर्ता लिने तयारी गरेका छौं ।’

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाअनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्म मात्रै काम गर्न पाउनेछ । ६९ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सीईओ पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले व्यवस्था गरेको हो ।

यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको छ । जसअनुसार सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष हुनुपर्छ । यसअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नु  पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्थाले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ, नविल बैंकका अध्यक्ष शम्भु पौड्याल, गरिमा विकास बैंकका संचालक भुपेन्द्रबहादुर खड्का, प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले पद गुमाएका छन् । ४ दिनअघि मात्रै ४ वर्षे कार्यकालका लागि पुनर्नियुक्ति पाएका मानन्धर बैंकबाट बिदा भइसकेका छन् ।

प्रवक्ता भन्छन्- तत्काल ब्याक हुँदैनौं

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने उमेर हदका विषयमा कुनै बिवाद नरहेकेा दावी गरे । उमेर हद तोकेर जारी गरिएको परिपत्र कार्यान्वयन समेत भइसकेको भन्दै उनले तत्कालै परिपत्र फिर्ता हुने सम्भावना नरहेको बताए ।
कार्यान्वयनपछि कस्तो असर पर्छ त्यसको अध्ययन गरेर त्रैमासिक वा अर्धवार्षिक समीक्षामार्फत संशोधन गर्न सकिने भए पनि अहिले नै राष्ट्र बैंकले आफ्नो निर्णयबाट फिर्ता नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?