Comments Add Comment

साढे १७ लाख डलरमा बोष्टनका नेपालीले किने सामुदायिक भवन

भवनभित्र पशुपतिनाथ र स्वयम्भु प्रतिस्थापन

बोष्टन । अमेरिकाको बोष्टनमा नेपाली कम्युनिटी सेन्टर बनाउन १७ लाख ५० हजार डलरमा नयाँ भवन खरिद गरिएको छ । ७ अगष्टमा ब्रेनट्रीमा किनिएको नयाँ भवनमा गत बुधबार पशुपतिनाथ र बौद्ध स्तुपा प्रतिस्थापन गरिएको छ । उक्त भवन ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन’को नाममा छ । सोही भवनमा २२ सेप्टेम्बरमा साधारणसभा बोलाइएको छ ।

बुधबार बेलुका भवनमा नेपालीहरु जमघट भएर केक काटेर मिष्ठान्न प्रसाद ग्रहण गरेका थिए । चन्दा संकलन गरी भवन किनिएपछि नेपाली समुदायमा खुसियाली छाएको छ । बोस्टनका नेपालीहरुले सामाजिक सन्जालहरुमार्फत् बधाई र शुभकामना आदानप्रदान गरिरहेका छन् ।

बोष्टनमा नेपाली कम्युनिटी सेन्टर सञ्चालन गर्न नेपालीहरुले वर्षौंदेखि पहल गर्दै आएका थिए । त्यसको लागि सन् २०१२ मा पशुपतिनाथबुद्ध फाउण्डेशन न्यु इंगल्याण्ड (प्याब्फोन) गठन भएको थियो । यसमार्फत हरेक वर्ष देउँसी-भैलो खेल्ने र अन्य सुखद अवसरमा दान संकलन गरिएको थियो ।

यस्तै २०१७ मा अगष्ट ६ देखि १३ सम्म श्रीमदभागवत ज्ञानमहायज्ञ सप्ताह लगाइएको थियो । सप्ताहको नगद तथा कबोल रकमसमेत फाउण्डेशनले करिब १.८ मिलियन डलर संकलन गरेको थियो । त्यसपछि पछिल्ला दुई वर्षमा दर्जनौं घर हेर्दै जाँदा पछिल्लो पटक १.७५ मिलियन डलरमा ब्रेनट्रीको घर स्विकृत भएको हो ।

नेपालीहरु वकिलसहित नर्थफोक काउन्टीस्थित मालपोत कार्यालयमा गई दुवै पक्षबीच हस्ताक्षर गरी नेपाली कम्युनिटी सेन्टरको लागि पशुपतिनाथ बुद्ध फाऊण्डेशनको नाममा घर नामसारी गर्ने काम गरेका थिए । भवन किन्न सन् २०१९ जुन २८ मा विशेष साधारण सभाले प्याब्फोनलाई जिम्मा दिएको थियो ।

594 Washington st. Braintree,MA 02184 स्थित उक्त घर करिब ४.२४ रोपनीमा फैलिएको छ । १४ हजार चार सय स्क्वायर फुटमा फैलिएको उक्त घर सन् १९६३ मा बनेको थियो । अफिसियल पार्किङ ४७ र वरपर बाटोमा थुप्रै पार्किङ गर्न सकिने ठाउँ छ ।

तल्लो तलामा किचनसहितको हल कोठा छ । छुट्टाछुट्टै दुईवटा ठूला कोठामा पशुपतिनाथ मन्दिर र स्वयम्भू स्तुपा राखिएका छन् ।

कुनै कार्यक्रम गर्न स्टेजसहितको हल कोठा पनि छ । कुर्सिलगायतका फर्निचरहरु पनि कोठाभित्र छन् । माथिल्लो भागमा बल्कोनी जस्तै बाहिरको दृष्य अवलोकन गर्न मिल्ने ठाउँ छ । यीबाहेक दुई ठूला कोठाहरु भाडामा दिन पनि मिल्छ ।

भवनको बाहिर पार्किङ क्षेत्रमा फलामको ठूलो घण्टी राखिएको छ । पब्लिक रेल र बसको समेत सुविधा र ब्रेन्ट्री स्टेशनबाट मात्र १० मिनेटको पैदल दुरीमा सो भवन छ ।

भवन किनेको खुसीयालीमा बुधबार बेलुका भएको बिशेष जमघट तथा केक काट्ने कार्यक्रममा प्याब्फोनका अध्यक्ष विष्णुमणि आचार्यले फाउण्डेशन स्थापनाकालदेखि, बोष्टन सप्ताह हुँदै हालसम्मका डोनरहरु सबैलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

सो भवन किन्नका लागि सबैभन्दा बढी ५१ हजार डलर समाजसेवी लक्ष्मीनारायण र झरना प्रधानले सहयोग गरेका थिए । यस्तै शिव श्रेष्ठ र अञ्जु श्रेष्ठले ४१ हजार डलर सहयोग गरेका थिए । साथै प्याबफोन डट ओआरजी वेबसाइटमार्फत पनि रकम संकलन गरिएको थियो ।

नयाँ सामुदायिक भवनलाई हात्तीको संज्ञा दिँदै उनले भने, ‘हात्तीलाई पाल्न ठूलो खर्च, दानापानी चाहिन्छ, पुनः ठूलो हृदयका साथ सहयोगमा जुट्नहुन अनुरोध छ ।’

त्यस्तै प्याब्फोनका चियरपर्सन मिलन गुरुङले पनि फाउण्डेशनको अभियानमा लागि पर्ने सबैलाई धन्यबाद दिँदै मिडियाकर्मी साथीहरुको योगदान नभुलिने बताए ।

प्याब्फोनका महासचिव ध्रुव घिमिरेले सञ्चालन गरेको कार्यक्रममा जीबीएनसीका अध्यक्ष अर्जुन कुँवर, एन आर एन बोष्टन च्याप्टरका नवनिर्वाचित अध्यक्ष प्रेम तामाङ, एनडब्लुजीएन की अध्यक्ष शान्ती जोशी, प्याब्फोन नरउड मेट्रो वेष्ट सबकमिटीका अध्यक्ष सुरेश ढकाल, जीबीएनसीका पूर्वअध्यक्ष बिनोद ओली, प्याब्फोनका सिनियर भाइस प्रेसिडेन्ट राम थापा, महासचिव भुवन गुरुङ, पूर्वमहासचिव महेश्वर पन्तले शुभकामना मन्तव्य दिएका थिए ।

यसैगरी प्याबफोनका सचिव यम पौडेल, आर्थिक बिभाग प्रमुख सुशील पौडेल, सल्लाहकारहरु प्रल्हाद केसी, डा.उषा शर्मा, रुक्मणी कार्की, विजय शर्मा, काजी शेर्पा, न्यु हृयाम्पसायरबाट आएका लोक लामा र मानार्थ सदस्यद्वय रञ्जन बुढाथोकी र मिन केसीले पनि एक-एक मिनेट शुभकामना मन्तब्य राखेका थिए ।

ग्रेटर बोष्टनमा नेपालीहरुको चाप बढ्दो छ । यहाँ करिब २५ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ । त्यसैले एक नेपाली सांस्कृतिक केन्द्रको आवश्यकता महसुस भएको थियो, ताकि त्यहाँ सामाजिक गतिविधि गर्ने, जन्मदेखि मृत्यु संस्कारसम्मका कर्म गर्ने, नेपाली भाषा साहित्य, कला, संस्कृतिमा रमाउन सकियोस् ।

त्यसैले बोष्टनमा सामाजिक क्षेत्रका सम्पूर्ण नेपालीको प्रतिनिधित्व हुने गरी प्याब्फोनको गठन गरिएको थियो । यसका पदाधिकारीले हरेक वर्ष पारदर्शी र इमान्दारीका साथ चन्दा रकम संकलन गरेका थिए । सन् २०१७ मा वाचन प्रविण दिनबन्धु पोखरेललाई बोस्टनमा ल्याएर श्रीमतभागवत सप्ताह आयोजनासमेत गरियो । घर किन्ने कुरा सार्वजनिक भएपछि पनि पछिल्लो एक महिनामै साढे दुई लाख डलर रकम उठेको थियो ।

सप्ताहसमेत गरेर फाउण्डेशनका कुल दाताको संख्या १००० हुन, अब करिब २१५ जनाबाट ७ लाख ४५ हजार डलर मात्र उठाउन बाँकी छ । नयाँ डोनर पनि थपिने क्रम जारी छ ।

बुधबार बेलुकाको केक काट्ने कार्यक्रममा पनि बोष्टनकी सामाजिक क्षेत्रकी  मान्ति शाह एवं शान्ति जोशीलगायतले सहयोग हस्तान्तरण जारी राखे । सामाजिक अग्रज मान्ती शाहले भवन सञ्चालनका लागि आफ्नो एक महिनाको तलब प्याब्फोनलाई दिने घोषणा गरिन् । यसैगरी एनडब्लुजीएनकी अध्यक्ष शान्ती जोशीले आफूले कबोल गरेको रकमसमेत गरेर ४ हजार डलर प्याब्फोनलाई बुझाई सबै चुक्ता गरिन् ।

सोही भवनमा घर किनिसकेपछि कम्युनिटी सेन्टर सञ्चालन गर्न र मर्गेज तिर्न त्यतिकै अप्ठ्यारो हुने भएकाले आफूले कबोल गरेको रकम बुझाउन फाउन्डेसनले सबैलाई आग्रह गरेको छ ।

– यम पौडेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment