
२६ साउन, काठमाडौं । आइएमई नेपाल लिटरचेर फेस्टिभल (साहित्य महोत्सव) को आठौँ संस्करण आउँदो मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा हुने भएको छ ।
आयोजक बुकवर्म फाउन्डेसनले आइतबार पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी गराएको हो । फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी छलफलका सत्र रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् साहित्यकार डा. शशी थरुर, भारतीय गीतकार एवम् कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगायत चर्चित अन्तर्राष्ट्रिय हस्तीहरूका साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार सहभागी हुने फाउन्डेसनले जनाएको छ ।
यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै उत्कृष्ट मानिने डीएससी पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशीबराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।
‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पुर्याउनेछ’ फेस्टिभलका निर्देशक अजित बरालले भने ।
प्रतिक्रिया 4