Comments Add Comment

प्रदेश २ को नामाकरण गर्न प्रदेशसभाले माग्यो प्रस्ताव

२६ साउन, जनकपुरधाम । प्रदेशसभा गठन भएको झण्डै डेढ वर्षपछि प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया सुरु भएको छ ।

प्रदेशसभा सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । प्रदेशका सांसदहरुले आगामी भदौ ५ गते साँझ ५ बजेसम्म प्रस्ताव दर्ता गराउन सक्ने प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुशवाहले जानकारी दिए ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधनसँगै प्रदेशको नाम र राजधानी तोक्ने बाटो खुलेको थियो ।

प्रदेशसभा सदस्यले दुई जनाको समर्थनसहित प्रदेशको नाम प्रस्ताव गर्न सक्छन् । सांसदहरुले दर्ता गरेको नाममाथि प्रदेशसभामा छलफल हुनेछ । ७२ घण्टा संशोधन हाल्ने समय दिइनेछ ।

प्रस्ताव र संशोधनबारे सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गर्न एक विशेष संसदीय समिति बनाइनेछ । समितिले एक महिनाभित्र प्रदेशसभामा प्रतिवेदन पेश गर्नुपर्नेछ । समिति सभापतिले प्रस्ताव ल्याएपछि प्रदेशसभामा फेरि छलफल हुनेछ ।

त्यसपछि निर्णय प्रक्रिया सुरु हुनेछ । संशोधित नियमावलीअनुसार प्रदेशसभा सदस्यहरुले हस्ताक्षरमार्फत मतदान गर्नेछन् । जसको पक्षमा दुई तिहाई मत पुग्छ, त्यही पारित हुनेछ ।

१०७ सदस्यीय प्रदेशसभामा सत्तापक्षको दुई तिहाई बहुमत छैन । सत्तारुढ समाजवादी पार्टीको ३० र राजपाको २५ सांसद छन् भने प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  को ३२, नेपाली कांग्रेसको १९ र संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

सत्तारुढ समाजवादी र राजपाले मधेश प्रदेश नामाकरण गर्ने बताएको छ भने नेकपा र कांग्रेसले मिथिला अथवा मिथिला–भोजपुरा नाम राख्नुपर्नेमा जोड दिएको छ । यद्यपि प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई नै बनाउन सांसदहरु एकमत देखिएका छन् ।

प्रदेश सरकारले डा. हरिवंश झाको संयोजकत्वमा ११ कात्तिक २०७५ मा प्रदेश नामांकरण र भाषा सुझाव आयोग समिति गठन गरेको थियो । आयोगले सात महिना लगाएर २१ वैशाखमा मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन पनि बुझाएको थियो ।

प्रदेशको नामबारे आयोगले विकल्पहरु मात्र दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment