+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

तिलोत्तमाले बनायो १५ वर्षे शहरी विकास योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते २०:२८

२६ साउन, बुटवल । तिलोत्तमा नगरपालिकाले गरिबी दर शून्य र आर्थिक वृद्धिदर १०.५ प्रतिशत पुर्‍याउने लक्ष्यसहित १५ वर्षे एकीकृत शहरी विकास योजना बनाएको छ ।

योजनाले हाल १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेकोमा ५ वर्षमा १० प्रतिशत र १५ वर्षमा शून्यमा झार्ने रणनीति तय गरेको छ । त्यस्तै हाल ९० प्रतिशत रहेको साक्षरता प्रतिशत ५ वर्षमा ९५ प्रतिशत र १५ वर्षमा शत प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । हाल ३.११ प्रतिशत रहेको उच्च शिक्षामा पहुँचको अवस्था आगामी ५ वर्षमा ६.१ प्रतिशत र १५ वर्षमा १२ प्रतिशत पुर्‍याइने उल्लेख छ ।

शहरी विकास योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेको छ । आगामी १५ वर्षमा ९९ किलोमिटर सडक थप गर्ने र त्यसमा १६ अर्ब एक करोड ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

हाल एकहजार ४७ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा पाँचवर्षमा एकहजार ५ सय ९५ र १५ वर्षमा १० हजार पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ ।

त्यस्तै तिलोत्तमा रिङरोड, मेगासिटी, तिनाउ कोरिडोर र रोहिणी करिडोरसहितको रिङरोड निर्माण गर्ने लक्ष्य पनि लिइएको छ । योजनाअनुसार प्रादेशिक बसपार्क, औद्योगिक ग्राम, राष्ट्रिय रंगशाला, फोहर व्यवस्थापन केन्द्र, अटो भिलेजजस्ता विषय पनि प्राथमिकतामा परेका छन् ।

तिलोत्तमा नगरले परिकल्पना गरेको ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउने र कृषि, उद्योग, पर्यटन र व्यापारलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गरिएको छ ।

योजनामा हाल १२ प्रतिशत रहेको वन क्षेत्र पाँच वर्षमा १५ प्रतिशत र १५ वर्षमा २० प्रतिशत पुर्‍याउने लक्ष्य छ । साविकका ७ गाविस मिलेर २०७१ सालमा बनेको तिलोत्तमा नगरपालिकाले आउँदो २०९०/९१ सालसम्म सडकमा मात्रै १६ अर्ब एक करोड ६० लाख रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ ।

नगरका सबै वडामा यातायातको सहज पहुँचका लागि ५३ किलोमिटर दुरीको रिङरोड र भविष्यमा बन्न सक्ने मेगासिटीलाई मध्यनजर गरी तिनाउ र रोहिणी नदी किनारमा करिडोर निर्माणको योजना पनि नगरपालिकाले अघि सारेको छ ।

१५ वर्षे एकीकृत विकास योजना अन्तर्गत पाँच वर्षे योजना सम्पन्न गर्न भौतिक र्पूाधारतर्फ ७ अर्ब ३१ करोड ६० लाख रुपैयाँ र सामाजिक विकास, वातावरण व्यवस्थापन, विपद व्यवस्थापन, संस्कृति–पर्यटन विकास, आर्थिक विकास र संस्थागत विकास जस्ता क्षेत्रगत विकासमा ९ अर्ब एक करोड १३ लाख ६० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

‘१५ वर्षे विकास योजना कार्यान्वयन गरी तिलोत्तमालाई नेपालकै नमूना र स्मार्ट नगरपालिका बनाउने लक्ष्य छ’–नगर प्रमुख घिमिरेले भने–‘यसका लागि १९ वटा प्रोजेक्ट बैंक तयार गरी स्थानीय तहमै पहिलो लगानी सम्मलेन गर्दैछौं, जसबाट दुई खर्ब लगानी भित्रिने अपेक्षा छ ।’

शहरी विकास योजनाका लक्ष्य हासिल गर्न नीजि क्षेत्र र सहकारी क्षेत्रको सहभागितामूलक साथ लिइने र उत्पादनमूलयक क्षेत्रमा लगानी आकर्षित गरिने घिमिरेले बताए ।
एकीकृत शहरी विकास योजना प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।

मन्त्री चौधरीले प्रदेशका १०९ वटै पालिकाहरुलाई योजनाबद्ध विकासका लागि प्रदेश सरकारले आह्वान गरेको भन्दै तिलोत्तमा नगरले योजना निर्माणमा अरु स्थानीय तहलाई उछिनेको बताए ।

पर्यटनमन्त्री लिला गिरीले योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेकाले सडक निर्माणमा कसैले संकीर्ण सोंच राख्न नहुने र यसका लागि सबै नगरबासीको साथ अपरिहार्य रहेको बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले योजनाबद्ध विकासले मात्रै लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाले सार्वजनिक गरेको एकीकृत सहरी विकास योजना नगर विकासका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?