Comments Add Comment

सरकारको द्विविधा : दूधको मूल्य बढाउने कि पाउडर आयात फुकुवा गर्ने ?

२७ साउन, काठमाडौं । स्वदेशी दुग्ध उत्पादकलाई संरक्षण गर्ने उद्देश्यले गत वर्षको मंसिरदेखि सरकारले पाउडर दूधको आयातमा प्रतिबन्ध लगायो । तर, अहिले दुग्ध उत्पादक कृषक र व्यवसायीको दोहोरो दवावको चेपुवामा सरकार परेको छ ।

केन्द्रीय दुग्ध सहकारी संस्थाले भदौ १ गतेसम्म दूधको मूल्य नबढाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल डेरी एशोसिएसनले किसानको मागमा नैतिक सर्मथन जनाएको छ ।

सरकोकारवालालाई बोलाएर मन्त्रालयले गरेको छलफलमा कृषकका प्रतिनिधिले दूधको मूल्य बढाउनुपर्ने बताएका थिए । तर, निजी डेरी व्यवसायीहरुले चाहिँ तीन महिनाका लागि पाउडर दूधको आयात खुल्ला गर्न सरकारलाई दबाव दिएका छन् ।

कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव तेजबहादुर सुवेदी उपभोक्ता र कृषकलाई मार नपार्ने बिकल्पहरुबारे मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको बताउँछन् । ‘तत्काल धुलो दूधको आयात खोल्दा कृषक मारमा पर्ने स्थिति छ भने दूधको मूल्य बढाउँदा उपभोक्ता पीडित हुने अवस्था छ । त्यसैले मन्त्रालयले सर्प पनि मर्ने र लाठी पनि नभाँचिने उपायको खोजी गरिरहेको छ,’ प्रवक्ता सुवेदीले भने ।

पाउडर दूध आयातले किसान मारमा पर्ने भन्दै कृषिमन्त्री आयात खुल्ला नगर्ने पक्षमा छन् ।

‘नेपाली किसानले उत्पादन गरेको गाउँघरको दूध बजारसम्म ल्याउने वातावरण बनाउनेतर्फ मन्त्रालयले भूमिका खेल्ने मन्त्रीज्यूको सोच हो,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले चाडपर्वको समयमा दूधको खपत बढी हुने भएकाले कम्तिमा तीन महिनाका लागि भए पनि पाउडर दूध आयातमा लगाइएको प्रतिबन्ध खुल्ला गर्न आग्रह गरिएको बताए । कम्तिमा ५ हजार मेटि्रक टन धुलो दूध लागि अनुज्ञा पत्र जारी गर्न आवश्याक रहेको उनको भनाइ छ ।
केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने दूध पर्याप्त उत्पादन भएकोले अभावको कारण खोजिनुपर्ने बताउँछन् । उनले भने, ‘कुनै पनि हालतमा पाउडर आयातमा लगाइएको प्रतिवन्ध खोल्नु हुन्न । त्यसो भए किसानमा मिल्क होलिडे हुन्छ । किसानले गाई बेच्न थाल्छन् ।’

दूधको मूूूल्य बढाउन राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठन हुने कार्यदलले सिफारिस गर्ने अभ्यास छ । बोर्डका अधिकारी, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान, दुग्ध सहकारी तथा किसान प्रतिनिधि, दुग्ध उद्योगका प्रतिनिधि, दुग्ध विज्ञ, पशु सेवा विभाग र मन्त्रालयका प्रतिनिधिलगायत सम्मिलित औपचारिक कार्यदलले मात्रै दूधको मूल्य बढाउनेबारे निर्णय लिन सक्छ ।

मूख्य चाडपर्वको मुखमा मूल्य बढाउँदा उपभोक्ता मारमा पर्नेभएकाले तत्कालै मूल्य बढाउन मन्त्रालय हच्किएको छ । हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ) रहेको दूधको बजार मूल्य ७० रुपैया प्रतिलिटर छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय दैनिकजसो सरकोकारवालासँग छलफलमा भए पनि निष्कर्ष भने निस्किएको छैन ।

सहकारीमार्फत नेपालमा दैनिक ९ लाख लिटर दूध संकलन हुन्छ । जबकी देशभर लगभग २२ लाख ५०० मेक्टि्रक टन दूध उत्पादन हुने बताइन्छ । कुल उत्पादनको १५ प्रतिशत दूध मात्रै बजारमा पुग्ने केन्द्रीय दुग्ध सहकारी संस्थाको भनाइ छ । बजारको माग २५ लाख मेक्टि्रक टन रहेको छ ।

उत्पादितमध्ये २५ प्रतिशत दूध अनौपचारिक क्षेत्रमा उपभोग हुन्छ । करिब ५० प्रतिशत दूध गाउँघरमा मोही पार्ने, दही, घ्यू बनाउने प्रयोजनका लागि प्रयोग हुने बताइन्छ ।

नेपालमा दूधको मूल्य ३ वर्षदेखि स्थिर छ । बाहिर तीव्र मूल्यवृद्धि भइरहेको अवस्थामा दूधको मूल्य स्थिर रहँदा आफूहरु मारमा परेको कृषक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment