Comments Add Comment

युवा दिवसमा नेकपाको युवा संघलाई ‘बाइपास’

२८ साउन, काठमाडौं । राष्ट्रिय युवा परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सत्तारुढ नेकपाको भातृ संगठन युवा संघ नेपाललाई कार्यक्रममा सहभागी गराएन ।

दिवसका अवसरमा सरकारी संस्थाका रुपमा रहेको राष्ट्रिय युवा परिषदले सोमबार प्रज्ञा भवनमा ‘युवा सम्वाद’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. रुपेश श्रेष्ठ, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही, अनेरास्ववियूका अध्यक्ष ऐन महर र युवा परिषद सदस्य लीला शर्मालाई वक्ताका रुपमा निम्तो गर्दै पत्र पठाइएको थियो । पत्रमा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगानाको हस्ताक्षर छ ।

पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि युवा अभियन्ताका रुपमा कार्यक्रममा सहभागी हुँदा सत्तारुढ नेकपाको युवा संघका प्रतिनिधिलाई भने निम्त्याइएन ।
युवाको कार्यक्रममा युवा संघलाई नै निम्तो नगरिएको भन्दै कतिपयले सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।

के भन्छन् ढुंगेल ?

परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले भने युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराएपछि युवा नेताका रुपमा नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेलाई बोलाइएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘दीपशिखाजीलाई बोलाउन परिषदको कार्यकारी सदस्य क्षितित थेबेलाई जिम्मा दिइएको थियो, दीपशिखाजीले म भ्याउँदिन भन्नुभएछ, त्यसपछि उहाँको सट्टा लेखनाथजीको नाम राखेर पत्राचार गरियो ।’

ढुंगेलले भने, ‘अहिले जे प्रचार म सुनिरा’छु, मैले फेसबुकमा हेरिरा’छु, त्यसमा सत्यता छैन, त्यस्तो कुनै मनसाय पनि छैन । मनमा सोचेको पनि छैन ।’

दीपशिखा भन्छन्- मुख्य समारोहमा मलाई बोलाइएन

युवा संघका अध्यक्ष दीपशिखाले भने युवा परिषदले मुख्य उदघाटन समारोहमा नबोलाएर त्यस अन्तर्गतको सम्वाद कार्यक्रममा मात्रै फोनमार्फत् खबर गरेकाले आफू सहभागी नभएको बताए ।

दीपशिखाले भने, ‘उदघाटनको मुख्य समारोहमा मलाई बोलाइएन । तर, त्यसपछिको सम्वाद कार्यक्रममा युवा संघका प्रतिनिधिले टेलिफोनमार्फत् खबर गरेका थिए । अफिसियल्ली खबर नआएकाले म सहभागी भइनँ ।’

आफूलाई मञ्च नदिने नियतका साथ परिषदले कार्यक्रममा नबोलाएको सापकोटाले आरोप लगाए । उनले भने, ‘विदेशमा भएका भुपेन्द्रजंग शाहीलाई पत्र लेखेर कार्यक्रममा बोलाइयो, अनेरास्ववियूका अध्यक्ष ऐन महरलाई मञ्चमा बोल्न दिइयो, तर मलाई बोलाइएन । यस्तो गर्नुको कारण मलाई मञ्चमा बोल्नै नदिने नियत हो ।’

पछिल्लो समय नेकपाका युवा-विद्यार्थी संगठनभित्र पूर्वएमाले र पूर्वमाओवादी गुटको विवाद चर्कंदै जान थालेको छ । युवा परिषदको कार्यक्रममा युवा संघका अध्यक्षलाई नबोलाइनुका पछाडि यही बिवादले काम गरेको नेकपाभित्रै विश्लेषण हुन थालेको छ ।

युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तत्कालीन एमालेसम्वद्ध युवा नेता हुन् । पार्टी एकतापछि नेकपाको युवा संघको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment