Comments Add Comment

पूर्वी नेपालमा डेंगुको संक्रमण बढ्दो, धरान सबैभन्दा बढी प्रभावित

२९ साउन, विराटनगर । पूर्वी नेपालमा डेंगु देखापरेको तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । खासगरी तीन तहका सरकारबीच समन्वय प्रभावकारी नहुँदा डेंगु नियन्त्रणको काम निस्प्रभावी देखिएको छ । यो अवधिमा दुई जनाको डेंगु संक्रमणबाट मुत्यु भएको छ ।

३१ वैशाखमा सुनसरीको धरानमा पहिलो पटक डेंगुको विरामी फेला परेका थिए । पछिल्लो समय डेंगुबाट सुनसरीसहित झापा र मोरङ गरी तीन जिल्लामा करिब ५ हजार मानिस बिरामी छन् ।

२०६०/६१ मा मुलुकमा पहिलो पटक डेंगुको विरामी फेला परेका थिए । विगत वर्षहरूमा बाँके, कास्की, चितवन लगायत जिल्लामा डेँगु देखापरे पनि तत्कालै नियन्त्रणमा आएको थियो । यस वर्ष सुनसरी, मोरङ र झापा जिल्लाका साथै पूर्वी पहाडी जिल्लाहरु पाँचथर र भोजपुरमा पनि डेंगुका विरामी फेला परेका छन् । पाँचथर र भोजपुरमा पहिलो पटक डेंगुका विरामी भेटिएका हुन् । यसबाट तराई मधेसका जिल्ला मात्र होइन, पहाडी जिल्ला पनि डेंगुको जोखिममा रहेको बुझ्न सकिन्छ ।

लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । यसअघि चिकित्सकले ‘एसिड एजिप्टाई’ जातको पोथी लामखुट्टेले मात्र धरानमा डेंगु रोग सारेको बताउँदै आएका थिए । विजयपुरको वडा कार्यालय नजिकै होटलले जम्मा गरेको पानीमा पहिलो पटक ‘एडिस एल्बो पिकस’ जातको लामखुट्टेका अन्डा, लार्भा र प्युपा फेला परे । यसलाई चिकित्सकहरुले डेंगु सार्ने नयाँ जातको लामखुट्टे भनेका छन् ।

चिकित्सकका अनुसार एजिप्टाई बढी सक्रिय हुने र एकसाथ चार–पाँच जना मानिसलाई टोक्न सक्ने भए पनि पिकस भने केही लोसो हुने भएकाले कमलाई मात्रै टोक्न भ्याउँछ ।

एक घर, एक डेंगुको विरामी

डेंगुबाट सबैभन्दा बढी धरानका बासिन्दा प्रभावित छन् । हरेक घरमा डेंगुका बिरामी छन् । कुनै घरमा त सात जनासम्म संक्रमित पाइएका छन् । सम्भवतः अहिले नेपालकै सबैभन्दा बढी डेंगुबाट प्रभावित क्षेत्र हो धरान ।

धरानमा फैलिएको डेंगु नियन्त्रणका लागि बेलैमा प्रभावकारी रूपमा अभियान सञ्चालन नगरेको आरोप धरान उपमहानगरपालिकाले खेप्दै आएको छ । उपमहानगपालिका भने स्थानीय आफैं जागरुक नभएसम्म समस्या नसुल्झिने निश्कर्षमा पुगेको छ ।
धरान उपमहानगरपालिकाकी कार्यवाहाक मेयर मञ्जु भण्डारीले डेंगुु सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान जारी राखे पनि खासै प्रभावकारी नभएको बताइन् । ‘नगरबासी आफैं जागरुक नभएसम्म डेंगु नियन्त्रणको च्यालेन्ज रहीरहन्छ,’ उनले भनिन्, ‘नगरबासीले घर सफा गर्ने, पानी जम्न नदिने, लार्भा नष्ट गर्ने उपाय नअपनाएसम्म डेंगुको जोखिमबाट धरान मुक्त हुन सक्दैन ।’

समन्वय अभाव

विशेषज्ञलगायत अन्य जनशक्ति केन्द्र सरकारसँग छ । तर स्वास्थ्यसम्बन्धी धेरै जिम्मेवारी स्थानीय तहमा छ । स्थानीय सरकारसँग आफ्नै विशेषज्ञ नहुनु, कहाँ र कसरी समन्वय गर्ने भन्ने अन्यौल हुनुले पनि महामारी नियन्त्रणमा तालमेल भइरहेको छैन । प्रदेश सरकार र स्थानीय सरकार डेंगु नियन्त्रणमा लागेको बताइरहे पनि दुई सरकारको डेंगु नियन्त्रणमा गरेको प्रयास निस्प्रभावी देखिएको छ ।

धरानमा डेंगुबारे सचेतना फैलाउने काम सँगसँगै लामखुट्टे मार्नका लागि सर्च एण्ड डिस्ट्रोय टोली परिचालन गरिएको छ । यसका लागि उपमहानगरपालिकाले ३० लाख बढी बजेट खर्च गरिसकेको कार्यवाहक मेयर भण्डारीको भनाइ छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अधिकारीले पनि सचेतना अभियानमा ३० लाख रुपैयाँ खर्च गरिएको बताउँछन् । तर, कार्यवाहक मेयर भण्डारीले भने त्यसबारे आफूलाई जानकारी नभएको बताइन् । उनले भनिन्, ‘प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि कहाँ कसरी अभियान चलाएको छ, धरान उपमहानगरपालिकाको कार्यवाहक मेयरको हैसियतमा मेरो नोटिसमा छैन ।’

दुवै सरकारले डेंगु नियन्त्रणका लागि आवश्यक योजना बनाएर काम गर्न नसक्दा डेंगुले भयावह स्थिति निम्तिएको स्थानीयको बुझाइ छ । नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले डेंगु देखापरेको शुरुवाती चरणमा नै यसको नियन्त्रणका लागि प्रदेश र नगर सरकारले प्रभावकारी कदम नचालेका कारण संक्रमण बढेको बताए । सचिव तामाङले भने, ‘डेंगुले भयावह रुप लिएपछि सरोकारवाला निकाय तातिए पनि नियन्त्रण विधिको योजना नबनाई अभियान चलाइएको थियो, जुन प्रभावकारी बनेको देखिएन ।’

तथ्यांकमा छैन एकरुपता

सबैभन्दा प्रभावित भनिएको धरानमा डेंगुको सक्रमणबाट मानिस थलिएर उपचारको लागि अस्पताल भर्ना हुने क्रम रोकिएको छैन । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि डेंगुका नयाँ विरामी भर्ना हुने क्रम बढिरहेको छ ।

‘डेंगु संक्रमितहरु उपचारका लागि अस्पताल भर्ना हुने क्रम अहिले पनि उत्तिकै छ,’ प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले भने, ‘डेंगुका नयाँ विरामी उपचारका लागि दैनिक २० देखि २५ जना अस्पतालमा भर्ना हुने गरेका छन् ।’

गत जेठ अन्तिमतिर डेंगुका विरामी घटेको जस्तो देखिएपनि असार र साउन महिनामा पानी परेपछि फेरि बढेको बताए । साउनमा मात्र ७ सय २० जना डेंगुका बिरामी थपिएका प्रतिष्ठानले जनाएको छ ।

यद्यपि सुनसरी, मोरङ र झापासहितका जिल्लामा डेंगुका विरामीको संख्यामा एकरुपता भेटिँदैन । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी सुनसरीमा २ हजार ८ सय ३ जना डेंगु सक्रमित फेला परेको जनाएको छ । जबकी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा भर्ना भएका डेंगुका विरामीको अहिलेसम्म एकिन तथ्यांक ४ हजार ३१ जना भएको बताएको छ । यसमा अन्य निजी स्वस्थ्य संस्थामा उपचारका लागि गएको विरामीको संख्या संलग्न छैन ।

प्रतिष्ठानका अनुसार धरानमा मात्र ५ हजार बढी डेंगुका विरामी छन् । तर प्रदेश सरकारको तथ्यांकमा भने यो संख्या २९ सय ३० जना छ ।

सामाजिक विकास मन्त्रालयको अभिलेखमा हालसम्म झापा जिल्लामा १ सय १० जना र मोरङ जिल्लामा १७ जना डेंगु सक्रमित फेला परेका छन् ।

पछिल्लो तीन वर्षको तथ्यांकमा छिटपुट मात्र डेंगुुका बिरामी विपी प्रतिष्ठानमा भेटिएका थिए । २०७३, २०७४ र २०७५ सालको आँकडाअनुसार क्रमशः १३, १२ र ११ जनामा मात्र डेंगुु संक्रमण पाइएको थियो । तर अहिले डेंगु संक्रमण ह्वात्तै बढेको छ ।

प्रदेश १ मा एक करोड स्वाहा

तीन महिनाको अवधिमा प्रदेश एकका जिल्लामा एक करोड रुपैयाँ डेंगु नियन्त्रणमा खर्च भइसकेको छ, तर डेंगु संक्रमणको दर घटेको छैन ।

धरान उपमहानगरपालिका कार्यालयले डेंगु नियन्त्रणका लागि चारवटा फगिङ मेसिन खरिद गर्दा मात्र ३ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । यसबाहेक डिजल, औषधि, प्राविधिकलाई भत्ता सुविधा र जनचेतना कार्यक्रम सञ्चालनमा पनि खर्च भएको छ ।

यसबाहेक चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि आकस्मिक कोषबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरी खर्च भइरहेको स्वास्थ्य महाशाखाका प्रमुख रामबाबु यादवले बताए ।

यसैगरी प्रदेश सरकारले धरानसँगै मोरङ र झापामा डेंगु नियन्त्रणका लागि ८० लाख रुपैयाँ बजेट खर्च भएको जनाएको छ । प्रदेश सरकारले उपचार गर्न ५० लाख र जनचेतना अभियान चलाउन ३० लाख रुपैयाँ खर्च गरिएको जनाएको छ ।

डेंगुका विरामीको उपचारमा सहयोग पुगोस् भनेर प्रदेश सरकारले प्रतिष्ठानलाई दुईवटा भेन्टिलेटर मेसिन खरिदका लागि ४५ लाख रुपैयाँ पनि उपलब्ध गराएको छ । डेढ महिनाअघि नै रकम दिइए पनि प्रतिष्ठानले अहिलेसम्म पनि ती उपकरण खरिद गरेको छैन । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले भने उपकरण खरिद प्रक्रिया अघि बढाइएको बताएका छन् ।

डेंगु संक्रमितको निःशुल्क उपचार

सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलको नेतृत्वमा झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर डेंगुविरुद्ध सचेतना फैलाउने, औषधि छर्कने र बिरामीको उपचार गर्ने जस्ता काम भइरहेको बताउँछन् ।
उनका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको मेची अस्पताल र विराटनगरको कोशी अञ्चल अस्पतालमा डेंगुका विरामीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । अन्य सरकारी अस्पतालमा उपचार गराएकाहरुले अस्पतालको प्रमाणित बिल ल्याएमा बिलअनुसारको खर्च पाउँछन् ।

दाहालका अनुसार सुनसरी जिल्ला अस्पताललाई निःशुल्क उपचारका लागि ३ लाख तथा कोशी अञ्चल अस्पताल र झापा जिल्ला अस्पताललाई दुई लाख रुपैयाँको दरले बजेट पठाइएको छ । त्यसैगरी रगत परीक्षणका लागि सरकारी अस्पतालहरुलाई आवश्यक किट पनि उपलब्ध गराइएको छ ।

फोहोर ढलमा भन्दा घरकै छत, आँगन, भाँडाकुँडा र ट्यांकीहरुमा डेंगु संक्रमण गराउने लामखुट्टे हुर्कने भएकाले त्यसको नियन्त्रणमा बढी ध्यान दिनुपर्ने विज्ञको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment