Comments Add Comment

भुक्तानी पाएनन् उखु किसानले

२९ साउन, नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् ।

चिनी उद्योगहरुले २०७५ सालमा करीब ७० करोड रुपैयाँ र २०६९ सालमा उखु दिएबापत बाँकी रहेकामध्येको करीब ४ करोड रुपैयाँको रकम अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको जिकिर छ ।

पश्चिम नवलपरासीमा लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडौँको रकम भुक्तानी गर्न बाँकी छ ।

इन्दिरा सुगर मिल्सले २०७० सालमा करीब १६ करोड रुपैयाँ र सोभन्दा अघिल्लो वर्षको करीब ४ करोड रुपैयाँ गरी २० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको उक्त समितिले जनाएको छ ।

यसैगरी २०७० सालमा लुम्बिनी चिनी उद्योगको करीब १४ देखि १५ करोड रुपैयाँ र बागमती चिनी उद्योगले करीब ३५ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाइएको छ । समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार केही रकम उद्योगले आफ्ना बिचौलियामार्फत कम मूल्यमा किसानलाई रकम भुक्तानी गरे पनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी छ ।

तत्काल रकम भुक्तानी नभए आन्दोलन गरिने उनी बताउँछन् । सरकारले उखुको प्रतिक्विन्टल मूल्य रू. ५३६.५६ पैसा निर्धारण गरेकामा चिनी उद्योगले किसानलाई प्रतिक्विन्टल ४७१ रुपैयाँ ३६ पैसा र सरकारले बाँकी ६५.२८ रुपैयाँ प्रतिक्विन्टलका दरले यस वर्ष अनुदान दिइने जनाएको छ ।

चिनी उद्योगहरुले बक्यौता रकम भुक्तानी शुरु गरिसकेको जनाएका छन् । उद्योगहरुले अहिले प्राथमिकताका आधारमा किसानलाई खरीद पुर्जी सङ्कलन गरी भुक्तानी दिन शुरु गरिसकेको उद्योगहरुको भनाइ छ ।

आफ्नो उद्योगले अहिलेसम्म करीब २० प्रतिशत रकम भुक्तानी गरिसकेको र अब पनि बाँकी रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगका सञ्चालक राम थापा बताउँछन् । उनका अनुसार उद्योगलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले उद्योगमैत्री नीति बनाउन जरुरी छ ।

सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्वीन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । विगत वर्षदेखि जिल्लामा ७ हजार ५ सय हेक्टर जमीनमा उखु खेती हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment