Comments Add Comment

छानबिन समितिको निश्कर्ष : सगरमाथामा जाम होइन, आरोहीको लाम

दिनमा १५० लाई मात्र पठाउन सुझाव

२९ साउन, काठमाडौं । १० जेठ २०७६ मा सगरमाथा आरोहणको एक तस्वीर भाइरल बन्यो । आरोही निर्मल पूर्जाले सगरमाथा आरोहणका दौरान खिचेको उक्त तस्वीरले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा समेत राम्रै स्थान पायो ।

तस्वीरले सगरमाथामा आरोहीको भिड देखाउथ्यो । कतिपयले आरोहणका क्रममा भएको (आरोही÷सहयोगी गरी १५ जना) मृत्युलाई सारमाथाको जामसँग जोडेर हेरे । यसबारे प्रश्न उठेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्व अअध्यन समिति नै बनायो ।

समितिले बुधबार पर्यटनमन्त्री योगेश भट्टराईलाई आफ्नो प्रतिवेदन पेश गरेको छ । मन्त्री भट्टराईले समितिको सिफारिस पालना हुने र नेपाललाई सुरक्षित पर्वतीय गन्तब्यका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

के भएको थियो हिमालमा ?

अध्ययन समितिकाअनुसार सगरमाथासहितका हिमालचूली आरोहण गर्न सन् २०१९ को मूख्य मौसम अनुकूल थिएन । मे ९ र १० मा मौसम अनुकूल रहेपनि त्यस अगाडि आएको फानी नामक आँधिले हिमाली भेगमा ठूलो हिमपात भइरहेको थियो । यसले डोरी टाँग्ने काम प्रभावित भयो । त्यसबेला मौसम प्रतिकूल रहेको भन्दै पर्यटन विभागले सूचना नै जारी गरेको थियो ।

१४ मे २०१९ मा मात्र डोरी टाँग्ने समूह सगरमाथा चुचुरोमा पुगेको थियो । त्यो दिन कञ्चनजंघा, लोत्से र मकालु हिमालमा एकै पटक डोरी टाँग्ने समूह पुगेको थियो ।

त्यसपछि मात्र आरोहणको बाटो खुल्यो । १६ तारिखसम्म केही अनुकूल मौसम भएकाले दुई दिनमा ८४ जना आरोही चुचुरोमा पुग्न सके । मे १७ देखि २० दिनसम्म भने फेरि मौसम प्रतिकूल बन्यो । २१ मेबाट भने मौसम केही अनुकूल भयो ।

त्यो दिन एकैपटक धेरै आरोही क्याम्प ४ र साउथ कोल (७९०० मिटर) उचाईमा पुगेर चुचुरोमा जाने प्रतिक्षा गरिरहेका थिए । ल्लो क्याम्पबाट माथि पुगेका आरोही एकै स्थानमा भेला भए । सबै आरोही २२ मेको बिहानै उचाईतर्फ लागे ।

मौसम अनुकूल बनेको एकै दिन एकैपटक धेरै आरोही लामवद्ध भई उकालो लागेपछि २२ मेका दिन सगरमाथामा लामो लाइन देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ । मन्त्री भट्टराईले यसलाई ‘ट्राफिक जाम नभई आरोहीको लाम’ को संज्ञा दिएका छन् ।

मृत्युको कारण

यस दिन सगरमाथामा २ सय २३ जनाले आरोहण गरेका थिए भने एक आरोहीको निधन भएको थियो । २३ मेमा थप तीन जनाको मृत्यु भएको थियो ।

आरोही चुचुरोतर्फ लम्कदै गर्दा मौसम प्रतिकूल बनेपछि लामो समय आरोहीले अत्यन्तै चिसो मौसममा दिन कटाउनु परेको थियो । त्यहाँ अक्सिजनको समेत अभाव हुन्छ । आरोहीहरु पर्ख र हेरको अवस्थामा थिए । लामो समय उचाईमा बसेपछि धेरै विदेशी आरोही कमजोर हुने गर्छन् । २३ मेमा तीन आरोहीको निधनको कारण हाइअल्टिच्यूड सिकनेस मानिएको छ ।

समितिकाअनुसार आरोहीको मृत्युको कारण शारीरिक कमजोरी, आकस्मिक मूर्छा र हाइअल्टिच्यूड सिकनेस मानिएको छ । मे २४ र २५ मा निधन भएका एक÷एक आरोहीको निधन भने दुर्घटनाका कारण भएको पाइएको छ । अधिक आरोहण भएको दिन मे २२ मा सगरमाथामा भएको निधन ०.४४ प्रतिशत रहेकोबाट सगरमाथा सुरक्षित गन्तब्य रहेको पुष्टि हुने समितिको निष्कर्ष छ ।

सुझाव के–के छन् ?

समितिले एक दिनमा १ सय ५० भन्दा बढी आरोहीलाई चुचुरोमा लैजान नहुने सुझाव दिएको छ । त्यस्तो योजनासहित दैनिक योजना बनाउनु पर्ने उसले बताएको छ ।

  • हिमालमा प्रभावकारी मौसमी प्रणालीको विकास र त्यसमा उचित समन्वय गर्नुपर्ने ।
  • स्पष्ट आरोहण योजना बनाएर त्यसका आधारमा मात्र आरोहणको चाँजोपाँजो मिलाउनु पर्ने ।
  • आरोहण गराउने एजेन्सीमाथि कडाई गर्नुपर्ने ।
  • ८ हजार मिटरभन्दा माथि आरोही पठाउने एजेन्सीले आरोहण व्यवस्थापन गर्न थालेको तेस्रो वर्षपछि मात्र पठाउन पाउने व्यवस्था गर्नुपर्ने ।
  • सस्तो मूल्यमा आरोहणको प्रतिस्पर्धा गराउँदा समस्या आएकाले अब ८ हजार मिटर माथिको हिमाल चढ्नेले प्रतिआरोही ३५ हजार डलर एजेन्सीलाई पठाएको विवरण पेश गरेपछि मात्र आरोहण अनुमति दिनुपर्ने ।
  • सम्पर्क अधिकृत खटाउँदा व्यक्तिगत नभई समूहमा खटाउनुपर्ने ।
  • सगरमाथामा उपसचिवको नेतृत्वमा टोली पठाउने, जसमा दुई अधिकृत, एक जना डाक्टर, नेपाली सेनाका क्याप्टेन वा मेजर तहका कर्मचारी, २ जना सशस्त्र प्रहरी वा नेपाल प्रहरीका कर्मचारी, २ जना नासु, एक जना कम्प्यूटर अधिकृत र आवश्यकता अनुसार सहयोगी कर्मचारी हुनुपर्ने ।
  • सगरमाथामा ७५ दिनका लागि कर्मचारी खटिनुपर्ने र एक टोली २५ दिन खटिने गरी व्यवस्था गर्नुपर्ने ।

आरोहीलाई मापदण्डले कस्ने

शारीरिक रुपमा सक्षम नभए पनि रहरै रहरमा आरोहणमा जाने धेरै आरोही हुन्छन् । समितिले आरोहीका लागि निश्चित मापदण्ड अनिवार्य गराउन सुझाएको छ ।

आधारभूतसहित उच्च पर्वतारोहण तालीम लिएको हुनुपर्ने र नेपालको ६५०० मिटर उचाईको हिमाल आरोहण अनिवार्य गर्ने नीति ल्याउन सुझाव दिइएको छ । एक आरोहीलाई एक तालिमप्राप्त नेपाली जनशक्ति अनिवार्य गर्न प्रतिवेदनमा भनिएको छ ।

आरोहीले निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने, खोज, उद्धार तथा उपचारको आवश्यक रकम सहितको बीमा अनिवार्य गर्ने र आरोहीले आफ्नो स्वास्थ्य अवस्था तथा हिमाल आरोहणको क्षमता भए–नभएको बारे आत्मघोषणा पछि मात्र आरोहणमा पठाउनु पर्ने सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment