Comments Add Comment

आजको पत्रपत्रिका : नेता रिझाउन सशस्त्रको दुरुपयोग

३० साउन, काठमाडौं । आज बिहीबार प्रकाशित पत्रिकाहरुमा फरक फरक समाचार महत्वका साथ छापिएका छन् । नेताबाट सशस्त्र प्रहरीको दुरुपयोग भएको, सम्पत्ति शुद्धीकरणमा सरकारले कठोर रणनीति ल्याएको, नेकपामा अझै पनि भागबन्डा नमिलेको लगायतका समाचार आजका पत्रिकाका मुख्य हेडलाइन हुन् ।

अन्नपूर्ण पोष्ट दैनिकले सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको समाचार लेखेको छ । अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएअनुसार नेकपा अध्यक्ष प्रचण्डले ४२, कांग्रेस सभापति शेरबहादुर देउवाले २१, झलनाथ खनालले १७, माधव नेपालले १४ सशस्त्र प्रहरी आफ्नो सुरक्षामा राखेका छन् । यस्तै खिलराज रेग्मीले ९ तथा डा. बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले ८-८ जना सशस्त्र प्रहरी प्रयोग गर्दै आएका छन् । समाचारमा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीहरुसँग रहेका सशस्त्र प्रहरीको विवरण पनि अन्नपूर्णले छापेको छ ।

कान्तिपुर दैनिकले अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाल कमजोर देखिने सम्भावना बढेसँगै सरकारले आतंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि कठोर रणनीति ल्याएको मुख्य समाचार छापेको छ । मन्त्रिपरिषदले गत साता ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०७६-२०८१’ पास गरेको छ ।

उक्त कार्ययोजनाअनुसार अब अन्य जुनकुनै अभियोग लागेलगत्तै अनुसन्धानकारी निकायहरुले अनिवार्य रुपमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान पनि गर्नुपर्ने समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ, ‘अब सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान र मुद्दा दायर प्रहरीले गर्न पाउने छ । त्यसका लागि प्रहरीको क्षमता अभिवृद्धि गर्ने कार्ययोजनामा उल्लेख छ ।’

नागरिक दैनिकले नेकपाभित्र विभागीय भागबन्डा नमिल्दा सचिवालय बैठक पटक-पटक स्थगित हुँदै आएको मुख्य समाचार छापेको छ ।

राजधानी दैनिकमा तीन वर्षमा १६ हजारले आत्महत्या गरेको समाचार छ ।

कारोबार दैनिकले मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत कटौती हुन थालेको समाचारलाई मुख्य स्थान दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment