
३० साउन, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
बिहीबार दिउँसो आकस्मिक निरीक्षणमा पुगेका खनालले विमानस्थल सुरक्षामा कार्यरत कर्मचारीसँग व्रिफिङ पनि लिए ।
उनले प्रहरी अधिकृतले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने पनि बताए ।
‘प्रहरी कर्मचारीहरुले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील, निष्पक्ष र निस्वार्थ भई बहन गर्नुपर्छ’, उनले भने ।
खनालले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङलगायतका हवाई सुरक्षासँग सम्बन्धित प्रहरीले गरिरहेका काम कारबाही अवलोकन पनि गरे ।
साथै, कार्यालयमा प्रयोग भइरहेका सुरक्षा उपकरण र साधन स्रोतबारे पनि जानकारी लिए ।
उनले विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग भेट गरेर विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल समेत गरे ।
प्रतिक्रिया 4