+
+

मकवानपुरमा अल्पका, प्रतिकिलो ७० हजारमा बिक्छ उन

सुरेश बिडारी सुरेश बिडारी
२०७६ साउन ३२ गते ७:१७

३२ साउन, पर्सा । मकवानपुरको थाहा नगरपालिका वडा नं. १० विसिंखेलमा अनौठो लाग्ने जनावर अल्पाका पालिएको छ । दक्षिण अमेरिकी देश पेरु र दक्षिण अफि्रकी मुलुक कंगोमा घर पालुवा जनावरको रुपमा पालिने अल्पाका हेर्दा अनौठो लाग्छ ।

शरीरका विभिन्न भाग अन्य जनावरसँग मिल्दोजुल्दो हुन्छ । खुट्टा बाख्राको जस्तो, अनुहार र कान खरायोको जस्तो, घाँटी उँटको जस्तो, पुच्छर अनि शरीर घोडाको जस्तो देखिन्छ । हेर्दामात्र अनौठो होइन यसको स्वभाव पनि अनौठो हुन्छ ।

यो जनावरलाई पहिलो पटक जर्मन नागरिक हार्टमुट बाउन्डरले नेपालमा भित्र्याएका थिए । उनले पेरुबाट दुईवटा भाले र दुईवटा पोथी ल्याएर वि.सं. २०५० सालमा दोलखाको जिरीमा पाल्न सुरु गरेका थिए । दोलखाको जिरीमा दश वर्ष पालेपछि ललितपुरको थैबमा ल्याइएको थियो । त्यहाँ १२ वर्ष पालेपछि वि.सं. २०७२ सालबाट मकवानपुरको थाहा नगरपालिका वडा नं. १० चित्लाङ विसिंखेलमा पाल्न थालिएको हो ।

२ सय ५० रोपनी जग्गामा फैलिएको हिमालयन प्लान्टेसन प्रालिले अल्पाका लागि मात्रै ४० रोपनी जग्गा छुट्याएको छ । फार्ममा तीन वटा पोथी, सहित १५ वटा अल्पाका छन् । फर्ममा लामो समयदेखि काम गर्दै आएका गंगा जिरेल अल्पाकाले जै घाँस र मकैको पिठो खाने गरेको बताउँछन् ।

उन बेचेर आम्दानी

अल्पाकाको शरीरमा हुने उन पश्मिनाका लागि उपयुक्त मानिन्छ । पेटको एक नम्बर उन प्रतिकिलो ७० हजारमा बिक्री हुन्छ । घाँटी, खुट्टा, पिठ्यु र छातीको उन ४० हजार प्रतिकिलोमा बिक्री हुने गरेको प्रालिका प्रवन्धक पदम सिंह खड्का बताउँछन् । ‘अल्पकाको दुईवटा क्वालिटीको उन हुन्छ, पेटको १ नम्बर भनिन्छ, घाँटी, खुट्टा, पिठ्यु र छातीको उनलाई दुई नम्बरको भन्छौं,’ उनले भने ‘दुई नम्बर उन ३० देखि ४० हजार प्रतिकिलोमा बिक्री हुन्छ । एक नम्बरको उन ७० हजार देखि १ लाख प्रतिकिलोसम्म जान्छ ।’  एउटा अल्पकाको शरीरबाट वर्षमा एकपटक दुई किलो उन निकाल्न सकिन्छ ।

अल्पाकाको संख्या बढाउने विचार गरे पनि सहज नभएको खड्काले अनलाइनखबरलाई बताए । ‘अझै थप्ने विचार त हो, तर कंगो र पेरुबाट ल्याउने प्रक्रिया लामो छ, सजिलै ल्याउन सकिन्न,’ प्रवन्धक खड्काले भने, ‘तीन वटा पोथीबाट जति उत्पादन हुन्छ त्यसलाई निरन्तरता दिने सोच हामीले राखेका छौं ।’ संख्या बढाउने उद्देश्यअनुसार काम इरहेको प्रालिले जनाएको छ ।

अहिले एउटा अल्पकाको मूल्य कति भन्ने तय नगरेको भएपनि जर्मन नागरिकबाट किन्दा एउटा भालेको ५ लाख र पोथीको ७ लाख तिरेको खड्का बताउँछन् ।

अल्पाकाको विशेषता

हत्तपत्त नरिसाउने नम्र स्वभावको जनावर हो अल्पका । यसको सिंग पनि हुँदैन । बिरालो र कुकुरले पनि मार्न सक्छ । सुरक्षाका लागि किक हान्छ र थुक्छ । आपसमा लड्दा पनि उनीहरुले एकअर्कालाई थुक्ने गरेको खड्का बताउँछन् ।

प्रवन्धक खड्काका अनुसार यसले जथाभावी दिसा पिसाब गर्दैन । एकै ठाउँमा मात्रै गर्छ । सुत्दा पनि टाउको सीधा गरेर सुत्छ । यो माइनस १० डिग्री सेन्टिग्रेटसम्म चिसोमा बस्न सक्ने जनावर हो ।

गर्मी धेरै भयो भने शरीरमा पानी हालिदिनुपर्ने खड्काले बताए । अल्पाकाको १३ महिना गर्भ अवधी हुन्छ । एक पटकमा एउटा मात्रै बच्चा पाउँछ, त्यो पनि दिउँसो मात्रै । यसको २५ वर्ष आयु हुन्छ ।

पर्यटकको आकर्षण

अल्पाका हेर्नकै लागि पनि पर्यटक फार्ममा आउने गरेका छन् । ‘चित्लाङ होमस्टे गाउँ हो । अल्पाका छ भनेर आउँछन् । टिकट पनि राखेका छौं । कतिले दिन्छन् । कतिले दिँदैनन्,’ खड्काले भने, ‘तिर्न नचाहनेलाई कर गर्दैनौं ।’

देवीप्रसाद भट्टचन सञ्चालक रहेको हिमालयन प्लान्टेसन प्रालिले अल्पका पालनसँगै ओलिभ र किवी खेती पनि गर्दै आएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?