Comments Add Comment

भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा

२ भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले यी क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन हुँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको जानकारी दिए । निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।

चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको बताए ।

यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् ।

रवि लामिछानेलगायतका सञ्चारकर्मी पक्राउको विषयलाई लिएर पक्ष र विपक्षमा नाराबाजी हुन थालेपछि त्यहाँ क्रियाशील राजनीतिक दलहरूले आइतबार सहयोग गर्ने सहमति गरेका हुन् । दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न आग्रह गरेका छन् ।

पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको मृत्यु रहस्मय भएकाले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्दै आइरहेको छ । यसबारे पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ । पत्रकार लामिछानेसहितका तीनमाथि जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको हाे । स्रोतका अनुसार, अनुसन्धान नसकिएकाले प्रहरीले भोलि पुनः म्याद थपका लागि लामिछानेसहितका तीनै जनालाई अदालतमा उपस्थिति गराउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment