Comments Add Comment

जम्मू कश्मीर विवादलाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्रमन्त्री

२ भदौ, काठमाडौं । नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताएको छ ।

भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएर जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेको छ भने लद्दाखलाई अलग राज्य बनाएको छ । यसलाई लिएर जम्मू कश्मीरमा तनाव जारी छ भने पाकिस्तानले पनि विरोध गरेको छ ।

नेपालले यसबारे कुनै प्रतिक्रिया दिएको थिएन । सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताए ।

जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको उनले जानकारी दिए । उनीहरु सुरक्षित नै भएको उनले बताए ।

नेपाल सार्कको अध्यक्षसमेत रहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए । क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह गर्दै उनले भने, ‘भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास छ ।’

 गिरीको टिप्पणीमा आपत्ति

परराष्ट्रमन्त्री ज्ञवालीले ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ’ भन्ने नेपाली कांग्रेस सांसद प्रदीप गिरीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।

गिरीको अभिव्यक्ति सरकारलाई स्वीकार्य नहुने उनले बताए । सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘उहाँले यस्तो बोल्नुभयो होला भनेर पत्याउन सकिन्न । भन्नुभएको भए हामीलाई अस्वीकार्य हुन्छ ।’

नेपाल सधैं अविभाज्य र स्वतन्त्र मुलुक भएको भन्दै उनले हल्ला टिप्पणी नगर्न नेताहरुलाई आग्रह गरेका छन् । नेपाल भारत सम्बन्ध सुमधुर भएको र दुई देशबीच उच्च स्तरमा समझदारी बनेको भन्दै मन्त्री ज्ञवालीले यस्ता टिप्पणी गर्दा सम्बन्धमा असर पर्छ भन्ने ख्याल गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कांग्रेस सांसद गिरीले नेताहरुमा कुटनीतिक ज्ञान कम भएको भन्दै ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ, यो तथ्य हो । त्यस्तो बेला तपाई चाहिँ के गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment