Comments Add Comment

माथिल्लो तामाकोसीपछि यी हुन् प्राधिकरणका ‘गेम चेन्जर’ ४ आयोजना

२ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार ३४ औं वार्षिकोत्सव समारोहमा अब ‘गेम चेन्जर’ परियोजनाहरुमा केन्द्रित हुने घोषणा गर्‍यो । देशबाट लोडसेडिङ हटाएको र प्राधिकरणलाई नाफामा लगेको जस बटुलेका कार्यकारी निर्देशक कुलमान घिसिङले अब ठूला आयोजना निर्माणमा जोड दिने बताए ।

‘रन अफ दि रिभर’ (बगिरहेको पानीबाट सीधै बिजुली निकाल्ने) प्रणालीमा आधारित धेरै आयोजनाहरु बन्न लागेको र बनिसकेको भन्दै घिसिङले अब ‘पिकिङ रन अफ दिन रिभर’ (दैनिक केही समय पानी जम्मा गरेर विद्युत निकाल्ने) र जलाशययुक्त आयोजना आवश्यक रहेको उल्लेख गरेका छन् ।

सरकारले पनि १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई हासिल गर्ने गरी प्राधिकरणले ठूला र तर कम लागतमा बन्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेको छ ।

पुँजी जुटाउने चुनौतीका बीच जनता, दातृ निकाय र आफ्नै लगानीमा ठूला आयोजना बनाउन प्राधिकरण अग्रसर भएको हो । माथिल्लो तामाकोसीमा बटुलेको अनुभवका आधारमा अन्य ठूला आयोजना बनाउन विभिन्न चरणमा तयारी गरिरहेको घिसिङ बताउँछन् । प्राधिकरणले सहायक कम्पनी खडा गरेर मात्र नयाँ आयोजनामा हात हाल्ने नीति लिएको छ ।

प्राधिकरण अब बढी प्रतिफल लिन सकिने आयोजनाहरुमा केन्द्रित हुनेछ । तर, हालसम्म निजी क्षेत्रले ‘पिकिङ रन अफ दि रिभर’ र जलासययुक्त आयोजनामा चासो दिएको छैन । बढी लगानी लाग्ने तर, बजारको सुनिश्चितता नभएकाले यस्ता आयोजनामा निजी क्षेत्र आकर्षित नभएको हो । प्राधिकरणले भने निजी क्षेत्रबाट पिकिङ र जलाशययुक्त आयोजना निर्माण भएमा बढी मूल्य दिएर विजुली किन्ने भनिरहेको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले पनि पिकिङ र जलाशयुक्त आयोजनामा निजी क्षेत्र आए राज्यले सहजीकरण गर्ने बताएका छन् । ३५ सय मेगावाट विजुली जनताकै लगानीमा निर्माण गर्न सरकारले योजना ल्याएको उनको भनाइ छ । १९ वटा आयोजना जनताको ४९ प्रतिशत लगानीमा बनाउने योजनामा सरकार छ । तीमध्ये केही आयोजना अघि बढाइहाल्न सकिने चरणमा पुगेका छन् । प्राधिकरणले केही पूर्वतयारीमा रहेका ठूला आयोजनाहरुलाई निर्माणको चरणमा लैजान तयारी तीव्र पारेको छ ।

यस वर्षको अन्त्यसम्म ४५६ मेगावाटको ‘माथिल्लो तामाकोसी’ सञ्चालनमा आउँदैछ । यो आयोजनाले हाल भारतबाट आयात हुने दुईतिहाई बराबरको विद्युत उत्पादन गर्नेछ । यसको निर्माणपछि प्राधिकरणले तत्कालै यी ४ वटा आयोजना अघि बढाउने छ ।

दूधकोसी जलविद्युत

६ सय ३५ मेगावाटको जलासययुक्त दूधकोसी आयोजना खोटाङमा बन्दैछ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा छ ।

यो आयोजना उत्तरी खोटाङको रावाबेंशी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा अवस्थित छ । आयोजना प्रमुख वसन्त श्रेष्ठका अनुसार डीपीआर तयार गर्न अब धेरै समय लाग्ने छैन ।

वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम पनि भइरहेको छ । विस्तृत इन्जिनियरिङ रिपोर्टसहित सबै प्रतिवेदन आएपछि यो आयोजना अघि बढाउन बाटो खुल्नेछ । यो आयोजना बनाउन रभुँवाघाटमा एक सय ६० मिटर अग्लो बाँध बाँधिनेछ । जम्मा भएको पानीलाई आवश्यकता अनुसार १३ दशमलव ५ किलोमिटर लामो सुरुङ बनाएर धितुङमा बन्ने पावरहाउसमा विद्युत उत्पादन गरिनेछ ।

यो आयोजना निर्माण गर्दा बाँधभन्दा माथि १० किलोमिटरसम्म डुबान हुने अनुमान छ । यसबाट करिब ८५ घर परिवार विस्थापित हुन सक्छन् । जलासय निर्माणपछि यो क्षेत्रमा पर्यटन क्षेत्रको विकास गर्न सकिने आशा स्थानीयलाई छ ।

यो देशकै ठूलो जलासययुक्त आयोजना बन्नेछ । जापानी सहयोग नियोग (जाइका)को अध्ययनमा आधारमा यसको पहिचान गरिएको थियो । आयोजनामा एसियाली विकास बैंक (एडीबी) ले लगानी गर्ने सम्भावना छ । डीपीआर पनि एडीबीकै सहयोगमा निर्माण भइरहेको हो ।

माथिल्लो अरुण

१ हजार ६० मेगावाटको बहुप्रतिक्षित माथिल्लो अरुण जलविद्युत् आयोजना पनि प्राधिकरणको अर्को ‘ड्रिम प्रोजेक्ट’ हो । गत असोजको पहलो हप्तामा बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीलाई माथिल्लो अरुण दिने निर्णय गरिसकेको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले यो आयोजनालाई ‘जनताको जलविद्युत’ अन्तर्गत निर्माण गर्न कम्पनी मोडलमा लैजाने निर्णय लिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पहुँचमार्ग निर्माणलगायतका काम अघि बढाउन लागिएको बताउँछन् ।

‘लगानी र बिजुली उत्पादनका हिसाबले सबैभन्दा राम्रो जलविद्युत आयोजना हो माथिल्लो अरुण,’ घिसिङ भन्छन्, ‘प्रक्रियाहरु टुंग्याएर छिट्टै निर्माणमा जाने योजनामा छौं ।’

यो आयोजना सुरुवातमा ३७० मेगावाटको हुने अनुमान थियो । तर, विद्युत प्राधिकरणले भने यसलाई बढाएर १ हजार ६० मेगावाटमा बनाउन लागेको हो । हाल आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन भइरहेको छ । यसको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि भइरहेको घिसिङले जानकारी दिए ।  आयोजनासम्म पुग्ने २४ किलोमिटरको पहुँचमार्ग निर्माणको लागि टेन्डर आह्वान भएको छ । २ किलोमिटर सुरुङमार्ग पनि यसमै बन्छ । यो आयोजना नेपालमा अहिलेसम्मकै ठूलो र सस्तो हुनेछ ।

माथिल्लो अरुण ‘पिकिङ रन अफ दि रिभर’ आयोजना हो । यसका लागि करिब १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसबाट करिब ५ हजार गिगावाट प्रतिघण्टा अर्थात् अहिले देशरभर खपत हुने बराबरको बिजुली उत्पादन गर्न सकिन्छ ।

‘यो तामाकोसी भन्दा पनि राम्रो आयोजना हो । लगानीका लागि विश्व बैंकसँग कुराकानी भएको छ,’ घिसिङ भन्छन् । यो आयोजना निर्माण सुरु भएको ५ वर्षमा बनाउन सकिने घिसिङको दावी छ ।

तामाकोसी ५ 

प्राधिकरणले तत्कालै अघि बढाउन लागेको अर्को ठूलो आयोजना हो, ‘तामाकोसी ५’ । यो आयोजना बनाउन प्राधिकरण अन्तरगत तामाकोसी–५ जलविद्युत कम्पनी स्थापना गरिएको छ । तामासोसी जलविद्युत कम्पनीकै नाममा लाइसेन्स जारी पनि भएको छ ।

हाल यो परियोजनामा चीनको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लगानी गर्न इच्छुक छ । तामाकोसी–५ आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गर्ने गरी निर्माण गरिँदैछ । टेलरेस टनेलबाट निस्केको पानीलाई सुरुङमार्फत सुरीदोभानमा पु¥याएर बिजुली निकालिनेछ ।

त्यहाँ अर्को भूमिगत विद्युत गृह बनाएर आयोजनाबाट सय मेगावाट बिजुली निकाल्ने योजना छ । तामाकोसी ५ मा पानी लैजाने गरी व्यवस्थापन गर्न माथिल्लो तामाकोसी निर्माणकै क्रममा आधारभूत संरचनाहरु तयार गरिएको छ ।

यो आयोजना माथिल्लो तामाकोसीको क्यासकेड प्रोजेक्ट भएकाले हेडवक्र्सको काम गर्नुपर्ने छैन । माथिल्लो तामाकोसीको टलरेसबाट ८ दशमलव २ किलोमिटर लामो सुरुङ निर्माण गरेर विद्युत गृहमा खसालेर यो आयोजना निर्माण हुनेछ । ५ दशमलव ६ मिटर व्यास भएको सुरुङमा जाने पानीलाई १ सय ६० मिटर हेडबाट खसालिनेछ ।

यो आयोजनाका लागि २५/२५ मेगावाटको ४ वटा युनिटको प्रस्ताव गरिएको छ । ल्हामेर कम्पनीले यसको डीपीआर तयार गर्दैछ । यो आयोजनाको निर्माण थाल्न अन्तिम तयारी हुँदैछ ।

विद्युत उत्पादनका हिसावले यो अन्य आयोजनाभन्दा निकै सस्तो हो । करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाको प्रतिमेगावाट लगानी १५ करोड मात्रै छ । सामान्यतया एक मेगावाटको परियोजना बन्न अहिले धेरै सस्तोमा पनि २० करोड रुपैयाँ खर्च हुन्छ ।

यो आयोजनाका प्रभावित क्षेत्र पनि माथिल्लो तामाकोसीकै प्रभावित क्षेत्र हो । यसै कारण पनि यसको व्यवस्थापन जटिल छैन । माथिल्लो तामाकोसी आयोजनाको विद्युत गृह प्रस्ताव गरिएको स्थान सडकसँगै पर्ने भएकाले यसका लागि पहुँचमार्गको पनि जरुरत छैन । यस्तै माथिल्लो तामाकोसीकै क्याम्प साइट पनि यसको निर्माणका लागि उपयोग गर्न सकिने अवस्था छ ।

तनहुँ जलविद्युत आयोजना

नेपालमा कुलेखानीपछि दोस्रो जलासययुक्त आयोजनाका रुपमा बन्न लागको छ, तनहुँ जलविद्युत् आयोजना । निर्माण सुरु भइसकेको यो आयोजना एक सय ४० मेगावाट क्षमताको हो ।

यो आयोजना बनाउन ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने आँकलन गरिएको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले १५ करोड अमेरिकी डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख अमेरिकी डलर, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी)ले ८ करोड ५० लाख अमेरिकी डलर र नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको काम थालिसकिएको छ । यो आयोजना बनेपछि हिउँद याममा कुलेखानीपछि अर्को ‘पावर ब्याकअप’ हुनेछ ।

आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनोहाइड्रो कर्पोरेसन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया सुरु गरेको हो । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेजका लागि सिनो हाइड्रोसँग तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि कर बाहेक) मा सम्झौता भएको थियो ।

आयोजनाको प्रशारण लाइन निर्माणका लागि समेत ठेकेदार कम्पनीले काम शुरु गरिसकेको छ । प्रशारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीले जिम्मा पाएको छ ।

नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि कम्पनी छनोटको काम अन्तिम चरणमा छ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले नै पहिलो प्याकेजको संरचना निर्माणका लागि सम्झौता गरेको थियो । तर, कम्पनी भागेपछि नयाँ टेन्डर आह्वान गरेर कम्पनी छान्न लागिएको हो ।

नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरीद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहुँको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवासगृह निर्माण सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment