Comments Add Comment

नेकपा नेताको माग : माथिल्लो कर्णालीमा जीएमआरसँगको सम्झौता खारेज होस्

३ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जीएमआरसँग गरिएको सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन् ।

‘सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले माथिल्लो कर्णाली परियोजनासम्बन्धमा जीएमआरसँग भएको सम्झौता नेपालको हितविपरीत भएको बताए । यो आयोजना नेपालको हितअनुकुल निर्माण हुनुपर्ने खनालले बताए ।

‘माथिल्लो कर्णाली र बुढीगण्डकी परियोजना राष्ट्रहितको संरक्षण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री भीम रावलले जीएमआरसँग भएको माथिल्लो कर्णाली सम्झौता र विद्युत विकास सम्झौता दुबै नेपालको हितमा नभएको बताए । ती सम्झौता खारेज गरेर माथिल्लो कर्णाली नेपाल आफैंले बनाउनुपर्ने रावलले बताए ।

माथिल्लो कर्णाली सम्झौता खारेज भई उक्त आयोजना नेपालको पक्षमा निर्माण नभए त्यसका विरुद्ध ठूलो आन्दोलन उठ्ने चेतावनीसमेत नेकपा नेता रावलले दिए ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दासमेत रहेका रावलले जीएमआरले माथिल्लो कर्णालीमा बाँध निर्माणका नाममा तल्लोतटीय क्षेत्रमा कर्मचारीहरुको सञ्चय कोषको लगानीमा एकलौटी लाभ हात पार्न खोजेको गुनासो गरे ।

कार्यक्रममा बोल्दै नेकपा सांसद एवं पूर्वऊर्जामन्त्री राधा ज्ञवालीले पनि जीएमआरसँगको सम्झौता खारेज गरी उक्त आयोजना नेपालले आफ्नै लागि बनाउनुपर्ने बताइन् ।

माओवादी वैद्य समूहका नेता नेता सीपी गजुरेलले भारतीय कम्पनी जीएमआर र सतलजसँग भएका माथिल्लो कर्णाली र अरुण तेस्रो सम्झौता दुबै राष्ट्रघाती भएको बताए ।

माथिल्लो कर्णाली आयोजनाबारे कार्यपत्र प्रस्तोता माथिल्लो कर्णाली बचाउँ राष्ट्रिय अभियानका भरत शाहीले जीएमआरसँगको सम्झौता खारेज गरी उक्त आयोजना ४१८० मेगावाट पूर्ण क्षमतामा निर्माण हुनुपर्ने बताए ।

माथिल्लो कर्णाली र बुढीगण्डकी परियोजनाबारे कार्यपत्र प्रस्तुत गरेका प्रा.डा. हरि पण्डितले माथिल्लो कर्णाली परियोजनालाई ४१८० मेगावाट क्षमतामा जलाशय परियोजनाका रुपमा अघि बढाउँदा बुढीगण्डकी भन्दा ५ गुना सस्तोमा बन्ने बताए ।

कार्यक्रममा जलस्रोत अभियन्ता रतन भण्डारीले जीएमआर र नेपाल सरकारबीच भएको माथिल्लो कर्णाली प्रारम्भिक सम्झौता र परियोजना विकास सम्झौता (पीडीए) दुबै नेपालको हित विपरीत रहेको बताए ।

कार्यक्रम पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पुष्पलाल मित्रता केन्द्रकी उपाध्यक्ष जयन्तीकला राई, नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवाली, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेकपाका ऋषि कट्टेल, राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन पुष्पलाल मित्रता केन्द्रका महासचिव एवं नेकपा नेता रविन कोइरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment