Comments Add Comment

एकअर्कासँग कसरी बनाउने प्रेमिल सम्बन्ध ?

विगत लुकाउनु समझदारी हो भने वर्तमान लुकाउनु धोखा दिनु हो । यदि यी कुराहरुलाई ध्यान दिने हो भने श्रीमान्-श्रीमतीबीचको भरोसा झन् बलियो हुन्छ र आपसी प्रेम बढ्दै जान्छ ।

हाम्रो जीवनमा कुनैपनि सम्बन्ध अति महत्वपूर्ण हुन्छ । यीनै सम्बन्धहरुमा श्रीमान्-श्रीमतीको सम्बन्ध सबैभन्दा विशेष र नजिक हुन्छ । भनिन्छ, श्रीमान्-श्रीमती शरीर दुई तर आत्मा एक हुन् । जीवनरुपी गाडी यीनै दुई पाङ्ग्राको सहायतामा चल्ने गर्छ । त्यसैले दम्पत्तिले एक-अर्काको सम्बन्धमा प्रेम, साथ र सहयोग दिनु अति आवश्यक हुन्छ ।

पुरुषको तुलनामा महिलाहरु धेरै भावुक हुन्छन् । उनीहरुमा साना-ठूला तथा राम्रा-नराम्रा कुराको छिट्टै प्रभाव पर्छ । तर तीनै महिलाको भित्री मन पुरुषको तुलनामा अति नै बलियो हुन्छ । त्यसैले उनीहरु ठूलाभन्दा ठूला पीडा पनि सहन सक्छन् र कसैलाई यसको बारेमा थाहासमेत हुन दिँदैनन् । आफ्नो श्रीमानलाई समेत कतिपय कुराहरु बताउँदैनन् । तर दाम्पत्य जीवनमा माया-प्रेम यथावत राख्नका लागि एक-अर्कालाई हरेक कुरा बताउनु आवश्यक छ ।

श्रीमान्-श्रीमतीको सम्बन्ध एउटा राम्रा साथीको जस्तो हुनु पर्छ । केवल श्रीमतीमात्र होइन श्रीमानले पनि हरेक कुरा श्रीमतीलाई बताउनु आवश्यक हुन्छ । यदि तपाईं संयुक्त परिवारमा रहनु हुन्छ भने आफ्नो परिवारका सदस्य र आफ्ना श्रीमतीलाई गर्नुपर्ने व्यवहार राम्रोसँग बुझ्नु पर्छ । जसरी तपाईं आफ्ना आमा-बुबा र भाइ-बहिनीसहित अन्य सदस्यलाई मान-सम्मान र माया गर्नु हुन्छ, त्यस्तै माया-प्रेम र सम्मान श्रीमतीलाई पनि दिनु पर्छ । त्यस्तै श्रीमतीले पनि श्रीमानको भावना बुझ्नु पर्छ, उनले श्रीमानलाई परिवारको कर्तव्य पूरा गर्न सहयोग गर्नु पर्छ । आफ्नो बारेमा मात्र सोच्ने जस्ता कार्य गर्नु हुँदैन ।

अधिकांश प्रेम विवाहमा श्रीमान्-श्रीमतीबीचमा साथीको जस्तो व्यवहार हुन्छ, तर त्यही व्यवहार परम्परागत अर्थात मागी विवाहमा हुँदैन भन्ने सोचाइ अधिकांश दम्पत्तिहरुको हुन्छ । यद्यपि, विवाह जस्तो भएतापनि श्रीमान्-श्रीमतीबीच सामञ्जस्य भैरहनु नै सफल वैवाहिक जीवनको मूल मन्त्र हो । यदि दम्पत्तिबीच एक-अर्काप्रतिको हरेचाह र माया बराबर हुने हो भने श्रीमान्-श्रीमतीलाई राम्रो साथी बन्न प्रेम अथवा मागी, जस्तो प्रकारको विवाहमा पनि कुनै फरक पर्दैन ।

हिजोआज प्रायः श्रीमान्-श्रीमती कामकाजी नै हुन्छन् । यस्तो स्थितिमा दम्पत्तिको एक-अर्काप्रतिको विश्वासमा कमी आउन थाल्छ । एक-अर्काप्रति शंका बसेको हुन्छ । त्यसैले यस्तो स्थितिमा श्रीमान्-श्रीमतीले एक-अर्काको सम्पूर्ण कुरा शेयरिङ गर्नु आवश्यक छ । यसले तपाईंहरुबीचको विश्वासलाई मजबुत बनाउन सहयोग गर्छ । तर शेयरिङ गर्ने भनेर अनावश्यक कुराहरु पनि शेयरिङ गर्नु भयो भने त्यसले तपाइर्ंको सम्बन्ध टुट्न पनि सक्छ । कुनै-कुनै कुरा गोप्यरहँदा नै तपाईंको दाम्पत्य जीवन सुखी र खुशी रहन्छ ।

त्यस्तै सबैको आफ्नो अलग प्रकारको व्यक्तित्व हुन्छ, जुन समय बित्दै गएपछि हरेक थाहा हुँदै जान्छ । तर आफ्नो व्यक्तित्व अरुमा हावी हुन दिनु हुँदैन । हामीले स्वयम् आफ्नो भावनामा संयम राख्न सिक्नु पर्छ । समय अनुकूल अपेक्षा राख्नु पर्छ ।

श्रीमान्-श्रीमतीको सम्बन्धमा कुनै किसिमको समस्या नहोस् भन्नाका लागि आपसी प्रेम, विश्वास र एक-अर्काको हमराज हुनु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment