Comments Add Comment

‘हिमालयन २ रुट’ कार्यान्वयन गर्न नेपाल र म्यानमार सहमत

४ भदौ, काठमाडौं । हिमालयन-२ रुट कार्यान्वयनमा नेपाल र म्यानमार सहमत भएका छन् । दुवै देशका नागरिक उड्डयन प्राधिकरण प्रमुखहरुबीच बुधबार भएको छलफल सहमतिमा टुंगेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस प्रयोजनका लागि निकट भविश्यमा म्यानमारमा दुबै देशका प्रतिनिधिबीच औपचारिक छलफल अगाडि बढाइने छ । नेपालमा जारी एसिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकहरुको सम्मेलनका लागि म्यानमारको टोली काठमाडौंमा छ । सोही अवसर पारी म्यानमार र नेपाली टोलीबीच द्विपक्षीय छलफल भएको हो ।

हिमालयन-२ रुट महाकाली-काठमाडौं-बागडोग्रा, गुहाटी, सिलचर, इम्फाल, मुनमिङ हुँदै हङकङसम्म पुग्छ । यो रुटका लागि नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)मै प्रस्ताव गरिसकेको छ । यसका सरोकारवाला मुलुक भारत, चीन र म्यानमार हुन् । भारतले रुट कार्यान्वयन गर्न सहमति दिइसकेको छ । चीन यसमा सकारात्मक छ । तर, म्यानमारले भने सञ्चार प्रणालीको तयारी नभएको भन्दै यो रुटमा अनुमति दिन आनाकानी गरिरहेको थियो ।

हिमालयन-२ रुट कार्यान्वयनमा आउँदा नेपाल मात्र नभइ यस आसपासका अन्य मुलुकका वायुसेवासमेत लाभान्वित हुनेछन् । अहिले नेपालबाट उडेको जहाज बंगलादेशको आकाश हुँदै हङकङसम्म पुग्नुपर्छ । हिमालयन-२ रुट कार्यान्वयनमा आउन सके १ सय १४ नटिकल माइल हवाई दूरी छोटो हुनेछ ।

त्यसो त भारतको नयाँ दिल्लीबाट उडेको जहाज कुनमिङ वा हङकङ पुग्नु पर्‍यो भने पनि कलकत्ता र बंगलादेश हुँदै जानुपर्छ । जुन लामो रुट हो । तर, दिल्लीबाट उडेको जहाज नेपाली आकास हुँदै महाकालीबाट बाहिरिएर कुनमिङ हुँदै हङकङ पुग्दा हवाई दूरी छोटिनेछ ।

नेपाललाई फाइदा

हिमालयन २ रुट कार्यान्वयनमा आउँदा नेपालको आकास हुँदै विदेशी जहाजहरु उड्न थाल्नेछन् । ती देशहरुले नेपालको रुट प्रयोग गरेवापत पैसा तिर्नुपर्छ । त्यसकारण हवाई रुट बेचेर मुलुकले आम्दानी गर्न सक्छ । अर्कोतर्फ नेपाली जहाजको उडान समय घट्दा त्यसले नेपाली बिमान कम्पनीको इन्धनसहित समग्र सञ्चालन खर्च कटौती हुने गर्छ ।

हिमालयन-२ रुटले काठमाडौंबाट यूरोपसम्म पुग्ने दुरीसमेत छोटो हुनेछ । अर्कोतर्फ जापानको टोकियोबाट लण्डन उड्ने जहाजले पनि सिधा रुटका लागि नेपाली आकासको प्रयोग गर्न सक्नेछ । ठूला जहाजका लागि २० मिनेटको उडान समय घट्यो भने त्यसले करीव १ हजार लिटर बच्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment