Comments Add Comment

आर्थिक वर्षको पहिलो महिनामै साढे ५७ लाख बजेट रकमान्तर

४ भदौ, काठमाडौं । सरकारले आर्थिक वर्ष प्रारम्भ भएको पहिलो महिनाबाटै बजेट रकमान्तर गर्न थालेको छ । अर्थ मन्त्रालयका अनुसार गत साउनमा दुईवटा कार्यक्रमका लागि ५७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ बजेट रकमान्तर गरिएको हो ।

त्यसमध्ये १० लाख रुपैयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा गएको छ । कार्यालयको भैपरी आउने खर्चबाट साधारण प्रशासनमा रकमान्तर गरी १० लाख रुपैयाँ खर्च गरिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यो रकम प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्ने प्रयोजनका लागि रकमान्तर गरिएको हो ।

उता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साउन महिनामा ४७ लाख ६५ हजार रुपैयाँ रकमान्तर निकासा गरेको छ । सरकारले ६ असारमा गठन गरेको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका लागि सो रकम रकमान्तर गरिएको हो ।

एक महिनाको अवधिमा सरकारले विभिन्न व्यक्तिलाई १६ लाख २१ हजार रुपैयाँ नगद बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालसहित १२ जनालाई ३ लाख ६६ हजार ६ सय १२ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

कंचनपुर घटनाका घाइते अर्जुन भण्डाराको नियमित कुरुवासमेतको व्यवस्थापन खर्चवापत मासिक २५ हजार राहत रकम उपलब्ध गराउन गृह मन्त्रालयका नाममा ४ लाख २० हजार ५ सय ३० रुपैयाँ निकासा दिइएको छ ।

पूर्वी चौकी ५, डोटीमा खोप लगाएपछि मृत्यु भएका ४ जना बालबालिकाको अभिभावकलाई जनही १० लाख उपलब्ध गराउने प्रयोजनका लागि पहिलो चरणमा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ निकासा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा दिइएको छ । धादिङका केशव बिसुराललाई गृह मन्त्रालयमार्फत ५ लाख ७३ हजार ८ सय ८५ रुपैयाँ प्रदान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

एक महिनामा सरकारले ६८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त अवधिमा ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ बजेट खर्च भएको छ । त्यसमध्ये चालुमा ३ अर्ब ५९ करोड र पूँजिगतमा ५९ करोड ६५ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्यांक रहेको छ ।

गत ९ देखि ११ जुलाईमा रसियामा आयोजित एक कार्यक्रममा जान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले टिकट लिएका थिए । उक्त कार्यक्रममा मन्त्रीको सट्टा सहसचिवले भाग लिएका थिए । मन्त्रीको रद्द भएको टिकट र सहसचिवको भ्रमण खर्चवापत ४ लाख ४० हजार रुपैयाँ मन्त्रालयका नाममा निकासा दिइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment