
६ भदौ, बुटवल । तिलोत्तमा नगरपालिकाले सवारी दुर्घटनामा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले तीनलाख रुपैयाँको ‘डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको हो ।
अक्षय कोषको ब्याज आम्दानीबाट प्रत्येक वर्ष एकजना उत्कृष्ट पत्रकारलाई कम्तीमा २५ हजार राशीसहित उक्त पुरस्कार दिइने छ ।
यस्तै अधिकारीको परिवारलाई राहतस्वरुप पांच लाख रुपैयां तत्काल दिने निर्णय पनि नगरपालिकाले गरेको छ ।
नगरपालिकाले स्वर्गीय अधिकारीकी श्रीमतीलाई नगरपालिकामा योग्यता अनुसारको जागिर र एक छोरा तथा एक छोरीलाई स्नातक तहसम्म रुपन्देहीका शिक्षणसंस्थामा जुनसुकै विषयमा निःशुल्क पढाइदिने निर्णय पनि गरेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
‘स्वर्गीय अधिकारीले पत्रकारितामा गरेको योगदान र उहाँको नाम वर्षौंसम्म सम्झना गराइराख्न र स्वच्छ पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेका हौं,’ नगरप्रमुख घिमिरेले भने, ‘पुरस्कारका लागि नगरपालिका, पत्रकार महासंघ रुपन्देही र अधिकारी परिवारका प्रतिनिधि रहेको छनोट समिति र कार्यविधि बनाइने छ ।’
पत्रकार अधिकारीको तिलोत्तमा नगरपालिकाले आउँदो असोज दोस्रो हप्ता आयोजना गरेको लगानी सम्मेलनका विषयमा उद्योगी-व्यवसायीसँग छलफलका लागि पूर्वी नेपालमा जाने क्रममा गत शनिबार सप्तरीमा दुर्घटनामा परी मृत्यु भएको थियो ।
श्रद्धाञ्जली सभा
पत्रकार अधिकारी निधन भएको सातौं दिनमा तिलोत्तमा नगरपालिकाले उनको निवास तिलोत्तमा ३ स्थित निवासमा श्रद्धाञ्जली सभा गरेको छ ।
सभामा नगरपालिकाको कार्यपालिका वैठकले पारित गरेको शोकप्रस्ताव नगरका प्रवक्ता सुरेन्द्र श्रीले पढेर सुनाएका थिए ।
श्रद्धाञ्जली सभामा बोल्दै नगर प्रमुख घिमिरेले स्वर्गीय पत्रकार अधिकारी दलीय घेरा भन्दा माथि उठेर मर्यादित, निष्पक्ष र सन्तुलित पत्रकारिता गर्ने अनुकरणीय पत्रकार रहेको स्मरण गरे ।
अधिकारीको निधनले रुपन्देहीको पत्रकारितामा अपूरणीय क्षति पुगेको औंल्याउंदै घिमिरेले उनका असल गुणहरुको सबैले अनुशरण गर्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
मृतक परिवारका तर्फबाट बोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले तिलोत्तमा नगरपालिकाले स्वर्गीय अधिकारीको सम्मानमा गरेका निर्णयहरुले परिवारलाई ठूलो राहत मिलेको बताए ।
दुर्घटना भवितब्य भएकाले यस विषयमा कसैले पनि प्रश्न उठाउने र बिवाद वा राजनीति नगर्न उनले आग्रह गरे ।
प्रतिक्रिया 4