Comments Add Comment

यसपटकको तीजमा कक्टेल वेयर चलेको छ : क्षितिजा शाक्य

कुनै बेला उत्कृष्ट अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी अभिनेत्री हुन् क्षितिजा शाक्य । उनले केही टेलीश्रृंखला तथा चलचित्रहरुमा अभिनय गरेर मनोरञ्जन क्षेेत्रमा आफ्नो बेग्लै स्थान बनाउन सफल भइन् । राम्रो अभिनय गरेर दर्शकको मन जिते पनि अभिनेत्री शाक्य झण्डै डेढ दशकदेखि अर्कै विधामा सक्रिय छिन् ।

फेसन डिजाइनिङको अध्ययन गरेपछि उनी फेसन डिजाइनरको रुपमा आफ्नो करियरलाई अघि बढारहेकी छिन् । काठमाडौैं मलको चौथो तल्लामा रहेको ‘क्षितिजा एपारल’ नामको बुटिक उनैको हो । प्रस्तुत छ फेसन डिजाइनर क्षितिजा शाक्यसँग तीज विशेष पहिरनको बारेमा गरिएको कुराकानीको सम्पादित अंश :

यसपटकको तीजमा कस्ता पहिरनको माग बढी छ ?

यसपटकको तीजमा लगाइने पहिरनहरुको कुरा गर्नु पर्दा सम्पूर्ण रुपले ‘वेस्टर्न मोडिफाइ’ को क्रेज बढेको छ । तीजमा लगाइने पहिरनको रंगको कुरा गर्नु पर्दा चल्तीका रंगहरु रातो, गुलाबी, पहेंलोलाई नै मन पराउँछन् । कसैले वेस्टर्न कक्टेल त कसैले गाउन, सारी, लेहेंगा रोज्छन् । तर ती पहिरनहरु पनि मोडिफाइ गरको मन पराउँछन् ।

तीजका पहिरनका लागि कुन उमेरका महिलाहरु बढी आइरहनु भएको छ ?

प्रायः सबै उमेरका महिलाहरु आइरहनु भएको छ । त्यसमा पनि विशेषगरी विवाहित तथा मिडिल एज्ड महिलाहरु डिजाइनर वेयरको खोजीमा आउनु हुन्छ । मेरो बुटिकमा तीजका लागि उपयुक्त हुने पहिरनहरु किन्न आउने ग्राहकहरुमा गृहिणी तथा कामकाजी दुवै पाएकी छु । यसबाहेक अनलाइन सपिङमार्फत मैले तयार पारेका तीजका पहिरनहरु नेपाल बाहिर पनि जान्छन् । खासगरी अमेरिका, बेलायत, अष्टे्रलिया, जापान, पोर्चुगल आदि देशहरुबाट पनि तीजका पहिरनको माग भएको थियो । विदेशमा बस्ने नेपाली चेलीहरुले भने प्रायः हृयाबी वेयर नै लिनुहुन्छ ।

बुटिकमा तयार पारिएका तीजका पहिरनहरु बाहिरका पसलको तुलनामा महंगो हुने अनुमान गरिन्छ नि ?

बुटिकहरुमा प्रायः हरेक प्रकारका पहिरनहरु उपलब्ध हुन्छन् । अझ कतिपय बुटिकहरुमा सामान्यदेखि ह्याबी हृयाण्ड वर्क गरिएका पहिरनहरु पनि राखिएका हुन्छन् । सामान्य पहिरनहरु खासै महंगो नभए पनि हृयाण्ड वर्क गरिएका हृयाबी पहिरनहरु निकै महंगोसमेत पर्न सक्छन् । त्यसैले हामीले ग्राहकको रोजाइलाई ध्यानमा राख्दै सकेसम्म सस्तो मूल्यमै पहिरनहरु उपलब्ध गराइरहेका छौं ।

तीजकै लागि भनेर नयाँ डिजाइन के आएको छ ?

विशेषगरी तीजमा सारी तथा लेहेंगाकै प्रयोग बढी हुन्छ । तर, त्यसमा हामीले समयअनुसार परिवर्तन ल्याउनका लागि ग्राहकहरुकै चाहनाअनुसार इम्ब्राइडरी गरिएका ब्लाउज तथा सारीहरु, गाउनहरु तयार पारेका छौं । त्यस्ता ब्लाउज, सारी र गाउनहरुमा हातले बुट्टा भरिएका पनि छन् । यस्तै पहिरनमा महिलाहरुको बढी रुचि देखिएको छ । ग्राहकको रुचिलाई ध्यानमा राख्दै डिजाइनलाई मोडिफाइ गरिरहेकी छु ।

अघिल्ला वर्षको तुलनामा यसपटक पहिरनको ढाँचामा केही परिवर्तन भएको छ कि ?

अघिल्ला वर्षहरुको तुलनामा यो वर्षका तीजका पहिरनहरु निकै नै फेसेनबल भएका छन् । अघिल्लो वर्ष लेहेंगा र सारीको माग बढी थियो, तर यो वर्ष    वनपिस गाउन, भरिएका सारीहरु, कक्टेल गाउन, धोती डिजाइन पहिरनहरुको माग बढी छ । यसबाहेक भारतीय संस्कृतिको प्रभावस्वरुप यो वर्ष सरारा र गराराको फेसन पनि आएको छ ।

फरक शारीरिक बनावट भएका व्यक्तिलाई कस्तो पहिरन लगाउने सुझाव दिनु हुन्छ ?

महिलाको शरीरको बनावट जस्तो छ, त्यसैमा केन्द्रित भएर पहिरन डिजाइन गर्नु पर्छ । जस्तै यदि कुनै महिला मोटी हुनुहुन्छ र पेट पनि ठूलो छ, तर उहाँको उचाइ होचो छ भने धेरै छाला देखिने र एकनासको रंगको पहिरन डिजाइन गर्नुपर्छ ।

अग्ला महिलाहरुलाई भने कम्मरको भागमा ब्रेक दिएर होरिजेन्टल प्लेसमेन्ट भएको लाइन भएको प्याटर्नको पहिरन डिजाइन गर्नु पर्छ । यसका साथै ग्राहकको डिमाण्ड र रोजाइलाई ध्यान दिएर उनीहरुलाई कलर कम्बिनेसन, फिनिसिङ, मेटेरियलहरुका बारेमा पहिला नै सम्पूर्ण कुरा बुझाएर सन्तुष्ट भएपछि मात्र होची, अग्ली, मोटी, दुब्ली आदिको शारीरिक बनावटअनुसार पहिरन डिजाइन गर्नु पर्छ ।

महिलाहरु तपाईंले नै डिजाइन गरेका तीजका पहिरनहरु खोज्न आउने कारण के हो ?

हुन त मेरो बुटिकमा त्यस्तो विशेष कुरा केही पनि छैन, तर मेरो काम गर्ने शैली कस्तो छ भने ग्राहकहरुले जुन थिम लिएर आउनु हुन्छ, म उहाँहरुसँगै बसेर त्यो डिजाइनको बारेमा छलफल गर्छु र गुणस्तरका बारेमा बुझाउने प्रयास गर्छु । शायद विगत १४ वर्षदेखिका ग्राहकहरुलाई मेरो सल्लाह, सुझाव तथा काम चित्त बुझेर होला, उहाँहरु मकहाँ आइरहनु हुन्छ । म यही कुरालाई मेरो सफलताको रहस्य मान्छु ।

किनभने मकहाँ आएपछि किन्नु नै पर्छ भन्ने छैन, मैले उहाँहरुसँग जसरी डिल गर्छु, त्यही कुरा उहाँहरुलाई मन पर्छ र बारम्बार मलाई खोज्दै आउनु हुन्छ । त्यसैले मेरो बुटिकमा त्यस्तो विशेष केही छैन, मेरो लागि मकहाँ आउने ग्राहकहरु नै विशेष हुनुहुन्छ ।

अन्त्यमा, तीजमा रातो रंगका पहिरनको मात्र माग हुन्छ कि अन्य रंगहरु पनि प्रयोग गरिन्छ ?

तीजमा करिब ८० प्रतिशत पहिरनहरु रातै रंगका हुन्छन्, किनभने अधबैंशे महिलाहरुलाई तीजमा रातै रंग मनपर्छ । तर भरखरका युवतीहरुले भने गुलाबी, मस्र्टड यल्लो, पिच, मिन्ट, मल्टिकलर तथा गोेल्डेन रंगहरुका पहिरन पनि मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment