Comments Add Comment

प्रधानमन्त्रीको चासोले अड्कियो दूधको मूल्यवृद्धि

११ भदौ, काठमाडौं । दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण रोकिएको छ । भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अहिले सिंगापुरमा छन् । उनी नफर्किउञ्जेल यस विषयमा नयाँ निर्णय नहुने स्रोतले बतायो । प्रधानमन्त्री नेपाल फर्किने दिन निश्चित भएको छैन ।

साउन २९ गते गठित कार्यदलले सिजनअनुसार दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने सिफारिस गरेको थियो । एकैपटक प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने भन्दै दूधको मूल्य बढाउने विषयमा प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन् ।

‘समयानुकुल मूल्य बढाउनु स्वभाविक भए पनि एकैपटक उच्च मूल्यबृद्धिले राम्रो सन्देश नजाने बुझाई प्रधानमन्त्रीको छ,’ प्रधानमन्त्री कार्यलय स्रोतले भन्यो ।

कार्यदलले सिफारिस गरेको झण्डै दुईं सातासम्म पनि मन्त्रालयले दूधको मूल्य बढाउनबारेे निर्णय लिन सकेको छैन । चाडपर्वको मुखैमा उपभोक्ता मारमा पर्ने भएकाले कृषिमन्त्री खनाल थोरै मात्र मूल्य बढाउने पक्षमा रहेको उनका प्रेस संयोजक बोमलाल गिरीले बताए ।

कार्यदलले तोकेेका दुई सिजन अनुसारको दुईथरी मूल्यबारे गहन छलफल भइरहेको कृषि तथा पशुपंन्छि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीको भनाइ छ ।
‘चाडपर्वको मुखैमा बढ्ने मूल्यले उपभोक्तालाई मार नपरोस भन्ने कुरामा मन्त्रालय सचेत छ । आन्तरिक गृहकार्य भईरहेको छ,’ प्रवक्ता सुवेदीले भने ।

दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले दुईथरी मूल्य सिफारिस गरेको थियो । प्रशोधित दूधको मूल्य कम उत्पादन हुने मौसम (लिन सिजन) मा हाल कायम प्रतिलिटर मूल्यमा १४.२९ प्रतिशत अर्थात् १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसम (फ्लस सिजन) मा हाल कायम मूल्यको ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा बढाउन सिफरिस गरेको थियो ।

कार्यदलको सिफरिस हुबहु कार्यन्वयनमा आएको खण्डमा असोजदेखि फागुनसम्म दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम हनेछ भने चैतदेखि भदौसम्मको समय प्रतिलिटर मूल्य ९० रुपैयाँ पुग्नेछ । मन्त्रालयले दूग्ध विकास संस्थालाई मूल्य बढाउन निर्देशन दिएपछि संस्थानको बोर्ड बैठकले मूल्यबारे निर्णय लिनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment