Comments Add Comment

यस्तो बन्ने भयो काठमाडौं निजगढ द्रुतमार्ग

सिकाली र कोदेश जोगिने, लागत बढ्ने

११ भदौ, काठमाडौं । नेपाली सेनालाई निर्माणको जिम्मा दिएको दुई वर्षपछि काठमाडौं निजगढ जोड्ने द्रुतमार्ग कस्तो बन्नेछ भने पूर्ण खाका तयार भएको छ ।

भदौ पहिलो साता मन्त्रिपरिषद्ले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्गको प्रस्थान विन्दु ललितपुरको खोकना नै भएको छ । द्रुतमार्गको कुल लम्बाई ७२.५ किलोमिटर हुनेछ, जसमा तीन वटा सुरुङमार्ग पनि पर्छ ।

चार लेनको यो सडक पार गर्न लगभग १ घन्टा (एक घन्टा दुई मिनेट ३३ सेकेण्ड) लाग्ने अनुमान छ ।

प्रस्थानविन्दु खोकना, सिकाली मन्दिर जोगाइने

द्रुतमार्ग निर्माणको जिम्मा पाएपछि सेनाले खोकना क्षेत्रमा टेन्ट टाँगेर काम थाल्यो तर, स्थानीयबासी आन्दोलनमा उत्रिए ।

निर्माणधीन आयोजनाहरु बाहिरी चक्रपथ, बाग्मती करिडोर, कुलेखानी १ सय ३२ केभीए प्रसारण लाइन, स्याफ्रुबेसी ठोरी रेलमार्गलगायतले यहाँ निजी जमिन मासिँदै गएको भन्दै स्थानीय वासिन्दाले विरोध गरे । द्रुतमार्गले ऐतिहासिक सम्पदा सिकाली मन्दिर र कोदेश क्षेत्रलाई समेत क्षति पुर्‍याउने भएपछि खोकनाबासी सडकमा नै उत्रिए ।

यो पनि पढ्नुहोस द्रुतमार्गको प्रस्थानविन्दु हेरफेर, सिकाली मन्दिर जोगाइने

द्रुतमार्ग निर्माणको जिम्मा पाएको सेना र स्थानीय जनप्रतिनिधिले विकल्प खोजे । जनप्रतिनिधिले बुङ्गमती नजिकै रहेको फर्सिडोललाई प्रस्थान बनाउने सहमति पनि गरे ।

तर सिकाली मन्दिरसँगै कोदेशलाई संरक्षण गर्ने गरी नयाँ रेखांकन गरिएको छ र खोकना नै प्रस्थान विन्दु भएको छ ।

यसअनुसार खोकनामा ७८ रोपनी र फर्सिडोलमा ३० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।

तीन वटा सुरुङ

द्रुतमार्गको अर्को विवाद थियो, ठिंगन र लेनडाँडामा कान्ति लोकपथसँग जुध्नू ।

एसियाली विकास बैंकको सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइनअनुसार त्यो क्षेत्रमा १. ३७ किमी लामो छोक्रेडाँडा–ठिंगन–लेनडाँडा सुरुङमार्ग बनाउनुपर्ने हुन्थ्यो । तर कान्ति लोकपथको मुनि सुरुङ बनाउनु चुनौतीपूर्ण मानिएको थियो ।

अब तीन वटा सुरुङ बनाइने छ । महादेवडाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमी लामो सुरुङमार्ग बनाइनेछ ।

लागत बढ्यो, लम्बाई घट्यो

सेनाले फास्ट ट्रयाकको जिम्मेवारी लिँदा भारतीय कम्पनी आइएलएफएसले बनाएको डीपीआरमा १ खर्ब १२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो ।

कोरियन कम्पनी सुसुङ इञ्जिनियरिङ एण्ड कन्सल्टिङलाई डीपीआर तयार गर्ने जिम्मेवारी दिइयो, जसमा फास्ट ट्रयाकको खर्च १ खर्ब १८ अर्ब पुग्ने आँकलन गरेको थियो । ‘अब नयाँ डीपीआर अनुसार आयोजनाको लागत मूल्य अभिवृद्धि करसहित १ खर्ब ७५ अर्ब पुग्नेछ’, आयोजनाका प्रमुख एवं प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ भन्छन् ।

मुआब्जा, ढुवानी खर्चलगायतका विषय समेटिएकाले खर्च बढेको उनको तर्क छ ।

नयाँ डीपीआर अनुसार द्रुतमार्गको लम्बाई भने घट्ने छ । यसअघि द्रुतमार्गको लम्बाई ७६.३ किलोमिटर थियो । अब ७२.५ किमी कायम भएको हो । तीन वटा सुरुङमार्गले सडकको लम्बाई घटाएको नेपाली सेनाले बताएको छ ।

डीपीआरअनुसार सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर कायम गरिएको छ भने तराईमा २७ मिटर हुनेछ । सुरुङमार्गमा ८७ वटा पुल हुनेछ । प्यासेन्जर अन्डर पास १२, आभेरपास एउटा तथा सवारी अन्डरपास ५ र ओभरपास ४ वटा हुनेछ ।

निर्धारित समयमा काम सक्न गाह्रो

नेपाली सेनाकाअनुसार हालसम्म २५.४४ किमी खण्डको सवग्रेड फर्मेसन लभेलको काम भएको छ भने झण्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको छ ।

निजगढस्थित बकैया खोलामा दुई बेलिब्रिज जडान भइरहेको छ भने थप दुई जडानको क्रममा छन् । धेद्रेमा एक र सिस्नेमा दुई वटा जडानको क्रममा छ । खोकनाको सिकालीमा दुई वटा, फर्सिडोल र महादेवटारमा एकएक वटा बेलिब्रिज जडान गरिनेछ । बकैया खोलामा पनि थप एक बेलिब्रिज जडान गरिनेछ ।

चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २१ वैशाख २०७४ मा द्रतमार्ग र्निर्माणको जिम्मा नेपाली सेनाले दिएको थियो । २७ साउनमा औपचारिक रुपमा जिम्मा पायो, त्यसअनुसार २७ साउन ०७८ भित्र फास्ट ट्रयाक निर्माण सकिनुपर्ने हो । तर, यो अवधिमा निर्माण सम्पन्न हुनेमा संशय उत्पन्न भएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पनि फास्ट ट्रयाक निर्माणमा पहिलेभन्दा बढी समय लाग्न सक्ने देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment