Comments Add Comment

प्लास्टिकको प्रयोग मृत्यु हो कि जीवन ?

प्लास्टिकको प्रयोगले हाम्रो जीवनशैलीलाई सजिलो त बनाइदिएको छ तर विस्तारै हामीलाई मृत्यु नजिक पनि पुर्‍याउँदैछ भन्ने यथार्थतालाई पनि स्विकार्नु पर्ने बेला आएको छ । वास्तवमा, यसको जिम्मेवार अरु कोही नभएर हामी आफैं नै हो । आज हामी प्लास्टिकमा प्याक भएर आएका हरेक सामानहरु प्रयोग गर्छौं । जसले गर्दा खानासँगै त्यही प्लास्टिकमा समावेश भएका हानिकारक तत्वहरु पनि अञ्जानमा नै हामीले खाइरहेका हुन्छौं ।

हामीले बिहान बच्चालाई टिफिन पठाउनेदेखि रातिको दूध खानेसम्मका भाँडाहरु प्रायः प्लास्टिककै हुन्छन् । जसका कारण कुनै न कुनै किसिमले हामी प्लास्टिकमा भएका कणहरु खान पुग्छौं । आज हामीले प्रयोग गर्ने कुराहरु जस्तै टेलिभिजनको रिमोट, फि्रजमा भएका बक्सहरु, विभिन्न सामान राख्ने र पानी पिउने बोतलहरु, क्रेडिट कार्ड, चिया खाने कप, प्लेट, चम्चा र मिनिरल वाटरको बोतलसम्म पनि प्लास्टिकले नै बनेको हुन्छ ।

प्लास्टिकको उत्पादन

संसारभर हरेक वर्ष ३० करोड टन प्लास्टिकको मात्र फोहोर उत्पन्न हुन्छ । जुन संसारको जनसंख्या बराबर नै हो । सन् १९५० देखि अहिलेसम्म ८०० करोड टन प्लास्टिकको उत्पादन भएकोमा अहिलेसम्म फोहोर प्लास्टिकको अति नै कम फोहोर मात्र रिसाइकल भएको छ । त्यस्तै कम प्रतिशत फोहोर नष्ट भएका छन् भने अत्यधिक प्रतिशतमा फोहोर पर्यावरणमा मिलेको छ । यसरी पर्यावरणमा मिलेका प्लास्टिकको फोहोर हावा, पानीको माध्यमबाट हाम्रो शरीरभित्र पुग्छ ।

प्लास्टिकका कारण खोला-नाला दुषित

आज खोला-नाला फोहोर हुने प्रमुख कारण नै प्लास्टिक र त्यसबाट बनेका सामानहरु रहेका छन् । हाम्रो वरपरका खोला-नालामा हेर्दा रंगी-बिरंगी प्लास्टिकहरु तैरिरहेको देखिन्छ । ती प्लास्टिकहरु विस्तारै खोला-नालाको पिँधमा गएर मिसिन्छन्, जसका कारण त्यहाँ अक्सिजनको मात्रा कम हुन थाल्छ । अक्सिजन कम भएपछि जीव-जन्तु दिनदिनै मरिरहेका हुन्छन् । यही कारणले हृवेल जस्तो विशाल प्राणी पनि संकटमा छ ।

प्लास्टिक गल्दैन र त्यसलाई बाल्दा हावालाई दूषित हुन्छ । यो कुरा प्रायः सबैलाई थाहा छ । प्लास्टिकको प्रयोग खतरनाक हुन्छ । यसलाई जहाँ बालिएको हुन्छ, त्यहाँ कार्बनमोनो अक्साइड जस्तो खतरानक ग्यास निस्कन्छ । यसले वायुमण्डलमा अक्सिजनको मात्रालाई घटाउँछ । यतिमात्र होइन, प्लास्टिक माटोमा मिल्दा उर्वरा शक्तिलाई पनि नष्ट गरिदिन्छ ।

एकपटक मात्र प्रयोग गरिने प्लास्टिक बढी खतरनाक

एकपटक प्रयोग गरेर फ्याँकिने प्लास्टिकबाट बनेका सामानहरुको प्रयोग अझ बढी हानिकारक हुन्छ । भाँडा माझ्ने झन्झटका कारण आज हामी प्लास्टिकबाट बनेका विभिन्न भाँडाहरु जस्तै- चिया खाने कप, प्लेट, चम्चाका साथै झोलाहरु प्रयोग गर्छौं । तर हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ प्लास्टिक घोलिनको लागि पाँच सयदेखि एक हजार वर्षसम्म लाग्छ ।

प्लास्टिकको प्रयोगबाट उत्पन्न हुने रोगहरु

प्लास्टिकमा अस्थिर प्रकृतिको जैविक कार्वनिक एस्सटर समावेश हुन्छ, जसको कारण क्यान्सर जस्तो भयानक रोग लाग्न सक्छ । प्लास्टिकलाई रंगिन बनाउनका लागि क्याडमियम जस्तो विषालु धातुहरु मिलाइएको हुन्छ, जसका कारण प्लास्टिक रंगिन देखिन्छ ।

त्यस्ता सामानहरुमा खानेकुराहरु राख्नाले ती खानेकुरामा त्यस प्रकारका बिषालु तत्व प्रवेश गर्छन् । क्याडमियम बढी मात्रामा शरीरमा पुग्दा बान्ता आउने र मुटु सम्बन्धी रोगहरु लाग्ने, बाँझोपन हुने र क्यान्सर रोग लाग्ने खतरा हुन्छ । यसैगथरी स्मरण शक्तिमा ह्रास पनि आउँछ ।

४० देशहरुमा प्लास्टिक निषेध

प्लास्टिकको प्रयोग खतरनाक हुने भएकाले संसारका ४० देशहरुमा निषेध गरिएको छ । फ्रान्स, चीन, इटाली, रुवान्डा र केन्याले प्लास्टिकको प्रयोगमा पूर्ण निषेध गरेका हुन् ।

प्लास्टिकका कारण हुने यी समस्याहरुलाई बुझ्दा-बुझ्दै पनि आज हामी प्लास्टिक प्रयोग गर्न बाध्य भएका छौं । त्यसबाट पर्यावरण र चराचर जगतमा संकट उत्पन्न भएको छ । यद्यपि दैनिक जीवनयापनमा प्रयोग हुने प्लास्टिकको प्रयोग रोक्न हाम्रालागि चुनौती छ । चुनौती भए पनि यसको प्रयोग रोक्न असम्भव भने छैन । नेपाल सरकारले २० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिवन्ध लगाएको घोषणा त गरेको छ, तर कार्यान्वयन गर्न सकेको छैन । यदि समयमा नै प्लास्टिकको प्रयोगमा रोक लगाइएन भने अक्सिजनमाक्स विना घरबाहिर निस्कन नसक्ने दिन आउन बेर लाग्ने छैन ।

त्यसैले प्लास्टिकको प्रयोगमा बारेमा सचेत रहनका लागि हामी आफैं पनि जागरुक हुनु अवश्यक भैसकेको छ । त्यस्तै सरकारले पनि प्लास्टिकको विकल्प दिएर सिंगो पृथ्वीको भविष्यलाई सुरक्षित बनाउने जिम्मेवारी वहन गर्नु आवश्यक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment