Comments Add Comment

स्तरोन्नतीको पर्खाइमा भरतपुर विमानस्थल

काठमाडौं बाहिरको वैकल्पिक विमानस्थल बनाउँछौं: मन्त्री भट्टराई

१२ भदौ, चितवन । गत वर्ष माघ १९ गते तत्कालिन पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी भरतपुर विमानस्थल झर्दा उनले निकै डर लागेको बताएका थिए । उनी सवार विमान एकैपटकमा अवतरण गर्न नसकेर एक चक्कर घुमाएर मात्रै ल्याण्ड गरिएको थियो ।

मन्त्री अधिकारी आफैले यस्तो अनुभूति गरेपछि उनले विमानस्थल विस्तारको योजना बनाएका थिए । विमानस्थलको दक्षिणपूर्व तर्फका अवरोध हटाउन भरतपुर महानगरपालिकालाई निर्देशन दिए । चितवनबाट फर्किए लगत्तै तेस्रो दिन उनले नागरिक उड्यन प्राधिकरणका उपमहानिर्देशकसहितको प्राविधिक टोली बनाएर विमानस्थलको थप भौतिक सुधारको योजना बनाउन लगाए । तर, दुर्भाग्य फागुन १५ गते मन्त्री अधिकारी नै हेलिकोप्टर दुर्घटनामा परे ।

मन्त्री अधिकारीको निधनपछि न त विमानस्थलको अवरोध भरतपुर महानगरपालिकाले हटाउन सक्यो, न त थप विस्तारको योजना नै अघि बढ्यो । मन्त्री अधिकारीको निधन भएको ५ महिनापछि पर्यटनमन्त्री बनेका योगेश भट्टराई पहिलोपटक विहिवार भरतपुर विमानस्थल ओर्लिए ।

विमानस्थलमा उत्रिएका मन्त्री भट्टराईलाई विमानस्थलका प्रमुख पवन गौत्तमले उनै पुराना समस्याका पोका फुकाए । उनी विमानस्थल कसरी सुरक्षित बनाउने र विस्तार गर्ने भन्ने हुटहुटीमा छन् ।

विमानस्थलका अवरोध तक्काल हटाएर सहयोग गर्न प्रमुख गौत्तमले थुप्रै पत्र महानगरपालिकालाई लेखे । तर, महानगरपालिकाले खासै चासो दिएको छैन । महानगरपालिकाले हरेक बर्ष बनाउने नीतिमा विमानस्थल विस्तारको विषय उल्लेख गर्न छुटाएको छैन । तर, काम पनि अघि बढेको छैन । विमानस्थल विस्तार भन्दा पनि अगाडि जोखिमहरु हटाउने तर्फ महानगरको ध्यान जान सकेको छैन ।

विमानस्थलको दक्षिण पूर्वतिर अनुमति नलिई बनेका घर, विधुतको ‘हाइएक्सटेन्सन लाइन’ र पश्चिम तर्फ नेपाली सेनाको घोडा फर्ममा भएका अग्ला रुखहरुको कारणले भरतपुर विमानस्थल निकैं जोखिमपूर्ण छ । विमान चालकहरूले विमानस्थललाई ‘मिनी लुक्ला’को संज्ञा दिर्दै आएका छन् । रन वे सानो हुँदा ठूला बिमान ल्याउन सक्ने अवस्था छैन । ७२ सिट र त्यो माथि क्षमतामा विमान भरतपुरमा अवतरण गर्न सक्दैनन् ।

यो पनि पढ्नुहोस भरतपुर विमानस्थल, तराईको लुक्ला !

यति एयरलाइन्सका क्याप्टेन तथा ‘सेफ्टी डाइरेक्टर’ रविशंकर कंसाकार भरतपुर विमानस्थलमा विमान अवतरण गराउन निकै जोखिम रहेको बताउँछन् । ‘विमान अवतरण गर्दा सिधैं रनवेमा नै एप्रोच गर्नुपर्दछ, सधैं एकनासको दिन हुन्छ भन्ने कुरा हुँदैन नी’ क्याप्टेन कंसाकारले गुनासो गर्दै भने, ‘हामीले पटकपटक अवरोध हटाउन र रनवे बढाउन भन्यौं तर कतैंबाट पनि सुनुवाई भएन ।’

९० प्रतिशत विमानहरु पूर्वी दक्षिणबाट अवतरण गर्ने र सोही दिशाबाट उडान गर्ने गर्छन् । विमानस्थलको दुवै क्षेत्रमा अवरोध छन् । तत्कालिन विमानस्थलका प्रमुख वच्चुराम श्रेष्ठको संयोजकत्वमा बनेको एक समितिले २०७१ जेठ ११ मा तयार पारेको प्रतिवदेनमा विमानस्थल वरपर २ सय ५७ घर मापदण्ड विपरित बनेको उल्लेख छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ विपरित घर बनेकाले तत्काल हटाउन सुझाव दिइएको छ । २०६६/०६७ मा यहाँमा धेरै घर मापदण्ड विपरित बनेका थिए । यस्ता घरहरुको उचित व्यवस्थापनको योजना महानगरपालिकासँग छैन ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विमानस्थल वरपर अवरोध गर्ने संरचना हटाउने र विस्तारको काम सँगै प्याकेजमा गरिने बताइन् । घरमाथिका संरचना हटाउने, विद्युतका लाइनलाई अण्डरग्राउण्ड गर्ने काम एकैसाथ अघि बढाउने तयारीमा रहेको मेयर दाहालले बताइन् । विमानस्थललाई विस्तार गर्ने र अवरोध हटाउने बारेमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पर्यटनमन्त्री योगेश भट्टराईसहितका सरोकारवालाहरुको वृहत छलफल भदौ १८ गते भरतपुर महानगरपालिकामा आयोजना गरिएको मेयर रेनु दाहालले जानकारी दिइन् ।

६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग १ हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ । यसलाई विस्तार गरी कम्तीमा पनि १ हजार ५ सय मिटर बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थल प्रमुख गौत्तमले बताए । भरतपुरमा वुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्छन् । विमान कम्पनीहरूले भरतपुर–काठमाडौं दैनिक ८ जहाज उडान गर्दै आएका छन् । वुद्ध एयरले पोखरा–भरतपुर एक उडान गर्छ । भदौ १५ गतेबाट यतिले पनि भरतपुर–पोखरा उडान गर्दैछ । दैनिक ७ सय यात्रुले सेवा लिदैं आएका छन् ।

काठमाण्डौं बाहिरको वैकल्पिक विमानस्थल बनाइने: मन्त्री भट्टराई

विमानस्थल प्रमुखको गुनासो सुनेपछि पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले विमानस्थल विस्तारमा आउने सबै अवरोध हटाइने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री भट्टराईले भरतपुरलाई काठमाडौं बाहिरको वैकल्पिक डोमेस्टिक (आन्तरिक) विमानस्थल बनाउने बताए ।

मन्त्री भट्टराईले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा सर्वपक्षिय बैठक भरतपुरमा नै राखेर विमानस्थल विस्तारका सन्र्दभमा सहमति जुटाइने बताए ।

‘सरकारले भरतपुर विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ’ मन्त्री भट्टराईले भने ‘यसलाई रात्रीकालिन बनाउने, रनवे थप्ने, टर्मिनल भवनलाई आधुनिक र व्यवसायिक बनाइने छ ।’ ठूला जहाज ल्याउन विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईको भनाइ छ ।

सुविधा सम्पन्न विमानस्थलको खाँचो

पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यमा चितवनले फड्को मार्दै गरेकोले यहाँ सुविधा सम्पन्न र सुरक्षित विमानस्थलको आवश्यकता देखिन्छ । नेपालकै तेस्रो पर्यटकीय गन्तब्य मानिएको चितवनमा बार्षिक २ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् । चितवनमा भरतपुर र मेघौली गरी दुई विमानस्थल भए पनि मेघौली सञ्चालनमा छैन ।

ठूला दुई मेडिकल कलेज, अस्पताल, कृषि तथा वनविज्ञान विश्वविद्यालय, अन्य कलेजहरु यहीँ छन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको चरणमा छ । विमानस्थलका प्रमुख पवन गौत्तम अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्दै गर्दा विमानस्थल पनि अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्ने बताउँछन् । भरतपुरमा ५ हजार अट्ने सिटी हल पनि निर्माण हुँदैछ । अन्तर्राष्ट्रियस्तरको प्रर्दशनी केन्द्र तयार हुने अवस्थामा छ । शक्तिखोरमा औद्योगिक क्षेत्र र युद्ध संग्राहलय निर्माण गर्ने तयारी हुँदैछ । भरतपुर विमानस्थलको स्तारोन्तीको खाँचो यहाँका सरोकारवालाहरुले औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment