Comments Add Comment

नाडा अटो शोमा आएका सर्वसाधारण के भन्छन् ?

१२ भदौं काठमाडौं । सवारीसाधनहरुको वृहत प्रदर्शनी नाडा अटो शो २०१९ यतिबेला काठमाडौंको भृकुटीमण्डपमा जारी छ । गत मंगलबारदेखि शुरु भएको १४ औं संस्करणको नाडा अटो शोमा आगन्तुकहरुको चाप दिनप्रतिदिन बढ्दै छ ।

बिहीबार प्रदर्शनीस्थलमा पुग्दा भीडडभाड निकै थियो । चारचक्के तथा ३ चक्के सवारीसाधनहरुका बारेमा अवलोकनर्ताहरु जिज्ञासु देखिन्थे । सबैले आफूलाई मन पर्ने सवारीसाधनहरुका विषयमा विशेष चासो दिएर सोधिरहेका थिए ।

सवारीसाधनबारे बुझाउन बसेका कर्मचारीहरुलाई पनि भ्याई÷नभ्याई थियो । व्यस्तताका बावजुद हामीले कम्पनीका कर्मचारीहरुलाई सर्वसाधारणको चासोको विषयमा सोध्यौं । अवलोकनका लागि आएका सर्वसाधारणलाई पनि हामीले सोध्यौं, ‘सवारीसाधनका खरिदका लागि किन नाडा अटो शोमै आउनुभयो ?’

सर्वसाधारणले सवारीसाधनहरु रोजिरोजि एकै छानामुनि हेर्न पाइने भएकाले पनि नाडा अटो शो आएको उनीहरुले सुनाए ।

‘मैले ६ महिना अघिदेखि गाडी किन्ने प्लान बनाइरहेको थिएँ,’ भक्तपुरबाट आएका हरि गजुरेलले भने, ‘रकम पहिल्यै जम्मा भए पनि मैले नाडालाई नै पर्खिरहेको थिएँ ।’

नाडा अटो शो भदौ १० मा शुरु हुन्छ भनेपछि यसैको प्रतिक्षामा बसेको उनले सुनाए ।

‘गाडी किन्न नाडा नै पर्खिनुपर्ने बाध्यता त थिएन नि ?’ भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘विकल्प त अवश्य थियो, म शोरुममा गएर गाडी किन्न सक्थे, तर एउटै छाना मुनि धेरै कम्पनीका गाडीहरु हेर्ने अवसर भने मैले नाडा बाहेक अन्त पाउन सक्दिन थिए ।’

अर्कोतर्फ नाडामा छुट हुने भएका कारण पनि आफूले केहि समय पर्खिने निर्णय गरेको उनले बताए ।

प्रदर्शनी स्थलमा एक जोडी भेटिए जो, आफूहरु काठमाडौंकै बासिन्दा थिए । अहिले चढिरहेको गाडी पुरानो भएका कारण नयाँ किन्नका लागि आफूहरुले अवलोकन गरिरहेको उनीहरुले बताए ।

दुईमध्येका एक प्रदीप ठकुरीले भने, ‘भर्खरै हामीले सुजुकीको स्टलमा गएर केहि गाडीहरु हेर्‍यौं, राम्रै लाग्यो तर डिसिजन भने गरिसकेका छैनौं ।’ उनले अन्य कम्पनीका गाडीहरु पनि हेर्ने र सबैभन्दा उपयुक्त लागेको गाडी छानेर खरिद गर्ने पनि सुनाए ।

प्रदर्शनीमा परिवारसहित आउनेको जमात पनि थियो । काठमाडौंकै बसन्त लामा आफ्ना छोरालाई लिएर मोटरसाइकल किन्न आएका रहेछन् । उनी बजाजको पल्सर बाइकमा नजर लगाइरहेका थिए ।

‘शोरुममा जादा एउटा कम्पनीको मोटरसाइकल हेर्ने हो, भनेजस्तो छानिछानि हेर्न पाइदैन,’ उनले भने, ‘छानिछानि राम्ररी हेरेर किन्न चाहानेहरुका लागि नाडा एउटा राम्रो अवसर हो ।’

टाटाको स्टलमा पुग्दा विद्युतीय सवारीसाधनका बारेमा विशेष चासो दिइरहेको एउटा परिवार भेट्यौं । श्रीमान, श्रीमती र छोरासमेतले टाटाको विद्युतिय सवारीका विषयमा जिज्ञासा राखिरहेका थिए ।

‘अहिले हामी फोर्ड गाडी चढिरहेका छौं,’ आर्यमन नाम बताउने छोराले भने, ‘टाटाको गाडी हेर्‍यौं, मलाई मनपर्यो ।’ आर्यमनका बुवाले पनि परिवारसहित राम्रोसँग बुझेर हेर्न पाउने भएकाले नाडामा आएको बताए ।

हामी केहि प्रतिनिधि पात्रहरुको धारणा भिडियो रिपोर्टमा समेत समेटेका छौं ।

भिडियो/तस्वीरहरुः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment