Comments Add Comment

शिशुले गर्भमा रहँदा किन लात्तीले हान्छ ?

शिशु गर्भमा हुर्कदै जाँदा विभिन्न प्रकारका क्रियाकलापहरु गर्छन् । जसमा शिशुले लात्तीले बारम्बार हिर्काएको अनुभव प्रायः सबै आमाहरुले गरेका हुन्छन् । यदि गर्भवती महिलाको पेटमा हात राख्ने हो भने वा हेर्ने हो भने पनि गर्भवती बाहेकका व्यक्तिले पनि यो कुरा थाहा पाउँछन् । बच्चाले लात्तीले हानेको अनुभव गर्भवतीका साथै सम्पूर्ण परिवारको लागि विशेष हुन्छ ।

जब महिला गर्भवती हुन्छिन्, उनमा विभिन्न प्रकारको परिवर्तनहरु आउँछ । समय बित्दै जाँदा त्यस्ता परिवर्तनहरु झन् बढी देखिन थाल्छ । महिलामा देखिएका ती परिवर्तनहरुसँगै उनको पेटमा रहेको शिशुमा पनि विस्तारै परिवर्तनहरु हुन थाल्छ । शिशुले पेटमा लात हान्नु पनि बच्चामा भएको परिवर्तनको उदाहरण हो ।

लात्तीले हिर्काएको अनुभव लिएर सबैले आनन्दको अनुभव त गर्छन्, तर किन शिशुले गर्भमा रहँदा लात्तीले हान्छन् भन्ने सायद कम व्यक्तिलाई मात्र थाहा हुन सक्छ । यदि तपाइर्ंलाई पनि गर्भमा रहेको शिशुले किन लात्तीले हान्छ भन्ने कुराको ज्ञान छैन भने आज हामी जानकारी गराउने छौं ।

बच्चा स्वस्थ हुँदा

१३ देखि २८ हप्ताको बीचमा गर्भवतीको पेट बढेको देखिने र त्यही अवधिमा पेटमा बच्चा चलेको थाहा पाउन सुरु हुन्छ । पहिलो पटक गर्भवती भएका महिलाले १८ हप्तामा र पहिले बच्चा जन्माइसकेका महिलाले १६ हप्तामा गर्भमा शिशुको चाल थाहा पाउँछन् । कसैकसैलाई गर्भवती भएको ९ हप्तामै पनि बच्चा चलेको महसुस हुन्छ । यदि गर्भमा रहेको शिशुले पेटमा लात्तीले हान्छ अथवा त्यस्तै किसिमको कुनै गतिविधि गर्छ भने त्यसको अर्थ शिशु स्वस्थ छ भन्ने बुझ्नु पर्छ ।

सही पोषण र भरपुर ताकत पाउँदा

गर्भवती महिलाले जब केही खान्छिन्, त्यो समयमा शिशुले अलि बढी नै लात्तीले हानेको महसुस हुन्छ । वास्तवमा आमाले खाएको खानाले बच्चालाई ताकत र पोषण तत्व प्राप्त हुन्छ र गर्भमा रहेको शिश चलमलाउँछ । खुट्टा चलाउँदै शिशुले गर्ने गतिविधिलाई हामी लात्तीले हानेको भन्ने गर्छौं ।

गर्भवती बायाँ फर्किँदा

गर्भवती कता कोल्टे परेर सुत्नुपर्छ भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ । चिकित्सकहरुका अनुसार उत्तानो परेर सुत्नुभन्दा बायाँ कोल्टे परेर सुत्नुपर्छ । बायाँ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ । गर्भमा रहेको शिशुमा पनि रक्त आपूर्ति बढ्छ । जसका कारण बच्चाले लात्तीले हान्ने जस्ता गतिविधि गर्छ । एक अध्ययनबाट के पत्ता लागेको छ भने गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला घोप्टो परेर वा उत्तानो परेरभन्दा वायाँ कोल्टे परेर सुतेमा मृत शिशु जन्मिने सम्भावना कम हुन्छ ।

बाहिरी परिवर्तन महसुुस हुँदा

गर्भमा रहेको शिशुले जब बाहिरी परिवर्तनलाई महसुस गर्न थाल्छ, तब उसले पनि प्रतिक्रिया जनाउँछ । जसका कारण ऊ चलमलाउँछ र पेटमा लात्तीले हानेको महसुस हुन्छ ।

अक्सिजन रोकावट नहुँदा

शिशुले गर्भमा सही तरिकाले अक्सिजन प्राप्त गरेको खण्डमा ऊ स्वस्थ र सक्रिय हुन्छ । यदि गर्भमा रहेको शिशुले लात्तीले हान्ने अथवा अन्य चलमलाउने गर्दैन भने उसलाई अक्सिजन लिन गाह्रो भएको छ वा पर्याप्त अक्सिजन पुगेको छैन भन्ने बुझ्नु पर्छ । यदि गर्भमा शिशु चलेको महसुस हुँदैन भने तुरुन्त चिकित्सककहाँ जानु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment