Comments Add Comment

कार किन्दै हुनुहुन्छ ? तपाईंका लागि १४ टिप्स

१३ भदौ, काठमाडौं । नेपालमा अहिले निजी सवारीसाधन किन्ने सिजन सुरु भएको छ । दशैंतिहार नजिकिँदै गर्दा काठमाडौंमा नाडा अटो–शोले माहोल तताइसकेको छ ।

आफ्नै गाडीमा सरर हुइँकिन नचाहने को होला ? तर, यो इच्छा पूरा गर्न आर्थिक क्षमता पनि बलियै हुनुपर्छ । यदि तपाईं मासिक आम्दानी पर्याप्त छ भने हातमा टन्नै पैसा हुनुपर्छ भन्ने चाहिँ छैन । किनकी तपाईंमाथि लगानी गर्न बैंकहरु तत्पर हुन सक्छन् ।

गाडी किने निर्णयमा पुगिसकेपछि अर्को अन्योलको घडी आउँछ, कुन गाडी किन्ने ? कस्तो किन्ने ? धेरैलाई गाडीको ब्रान्ड र मोडलको बारेमा विस्तृत जानकारी पनि हुँदैन । त्यसैले गाडी किन्दा केही मूलभुत कुराहरुमा ध्यान पु‍र्‍याएन भने भविष्यमा पछुताउनुपर्ने अवस्था पनि आउँछ ।

हामी यहाँ निजी कार किन्नुअघि विचार पुर्‍याउनु पर्ने केही कुराहरु तपाईंलाई सुझाउँदैछौं :

पूर्वयोजना तयार गर्नुस्

पहिले स्पष्ट योजना बनाउनुस् । परिवार, साथीभाई र आफन्तजनसँग सर–सल्लाह गर्नुस् । कुन मूल्यसम्मको कार किन्ने भन्ने स्पष्टता तपाईंमा हुनुपर्छ । तर अन्तिम निर्णय गर्न हतारिनु पर्दैन । थोरै पैसाको लोभ गरेर आफ्नो चाहना एवं आवश्यकतामा सम्झौता सकभर नगर्नुस ।

लगानीको स्रोत

यति पैसा चाहिने भनेर निक्र्यौल भएपछि लगानीको स्रोतबारे आँकलन गर्न थाल्नुस् । आफूसित कति नगद छ, कति सरसापटी गर्न सकिन्छ र कति बैंकबाट ऋण लिनुपर्छ भन्ने खाका तयार गर्नुस । सकभर ऋणको मात्रा घटाउने प्रयास गर्नुस् ।

बैंकबाट ऋण लिँदा अप्ठेरो अवस्थामा पनि गाडीको नियमित किस्ता तिर्न सक्ने क्षमता तपाईंको हुनुपर्छ । कम ब्याजदरमा अटो लोन लिने गरी बैंकहरुसँग परामर्श गर्नुस् ।

अध्ययन गर्नुस्

कस्तो गाडी किन्ने भन्ने निर्णयमा पुगेपछि गाडीहरुबारे अध्ययन थाल्नुस् । गाडी चढिसकेका साथीभाईसाग सरसल्लाह गर्नुस । इन्टरनेटमा गाडीहरुबारे प्रशस्तै जानकारीहरु भेटिन्छन् । आफूले किन्ने खालको सेगमेन्टमा कस्ता–कस्ता गाडीहरु कुन–कुन मूल्य र विशेषतासहितका छन् भन्ने हेर्नुपर्छ । त्यस्ता गाडीहरुलाई तुलना गर्दा राम्रो हुन्छ ।

विभिन्न कारसम्बन्धी वेबसाइटमा यस्तो तुलना गरिएका भिडियो सामग्रीहरु पाइन्छन् । गाडीको समीक्षा गरिएका ‘रिभ्यू’ भिडियोहरु पनि हेर्नुस् । मूल्य, फिचर्स र सुविधाहरु दाँजदा उत्कृष्ट लागेका गाडीहरुलाई सर्ट लिस्ट गर्नुस् ।

सस्तो मूल्यमा नलोभिनुस्

सामान्यतया कुनै पनि नयाँ गाडी किन्दा ग्राहकले सबैभन्दा पहिले मूल्य हेर्छन् । छुट कति छ भन्नेमा बढी चासो र चिन्ता राख्छन् । तर मूल्य मात्रै हेरेर हुँदैन ।

मूल्यमा सम्झौता गर्दा तपाईंले कमजोर पर्फमेन्स भएको गाडी रोज्ने खतरा हुन्छ । यसो भन्दैमा आफूले ‘अफोर्ड’ नै गर्न नसक्ने महंगो गाडी किन्नुपर्छ भन्ने होइन । आफ्नो बजेटलाई ध्यान दिनैपर्छ ।

स्थापित ब्रान्ड रोज्नुस्

प्रायः मूल्यको मात्र पछि लाग्दा नयाँ गाडी किन्नेहरु ब्राण्डमा ध्यान दिँदैनन् । तर, गाडीको ब्राण्ड निकै महत्वपूर्ण हुन्छ । मूल्य अलिकति बेसी परे पनि स्थापित ब्राण्डको गाडी किन्दा हुने फाइदा धेरै छन् ।

गाडी किन्दा आफ्नो ठाउँमा कुन ब्राण्डले राम्रो गरिरहेको छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ । कम्पनीको सर्भिस नेटवर्क के छ ? पार्टसको उपलब्धता कति सहज छ ? लगायतका विषयमा पनि ब्राण्डले खास आर्थ लाग्छ ।

पुनःविक्री मूल्य

सुरुमा गाडी किन्दा मान्छेले त्यसलाई पुरानो भएपछि बेच्ने कुरा कहिल्यै सोचेका हुँदैनन् । तर, केही समयलगत्तै उ त्यसबाट अपग्रेड हुन चाहन्छ ।

तर, आफू अपग्रेड हुने समयमा आफूले लगानी गरेको गाडीको रिसेल भ्यालु कम छ भने समस्या हुन सक्छ । महंगोमा किनेको गाडी छोटो समयभित्रै निकै कम मूल्यमा विक्री गर्नुपर्ने अवस्था आउँछ ।

कमजोर ब्राण्डका गाडी किनेको एक–दुई वर्षमै रिसेल भ्यालु निकै घट्छ । सडकमा जुन कम्पनीको गाडीको भिजिबिलटी जति बढी हुन्छ, त्यति नै रिसेल भ्यालु बढी आउँछ ।

आरामदायी गाडी चिन्नुस्

गाडी चढेपछि त्यो आफ्नो लागि आरामदायी हुनु पहिलो शर्त हो । गाडी भित्र तपाईं बसेपछि सहज महसुस गर्नुपर्छ ।

गाडी किन्नेले ‘म सँगै को–प्यासेन्जर पनि बस्छन्’ भन्नेमा पनि ध्यान दिनुपर्छ । यसका लागि लेग–रुम राम्रो हुनुप‍र्‍यो । हेड रुम पनि हेर्नुप‍र्‍यो ।

नेपालको बाटोको दूरावस्था सबैलाई थाहा छँदैछ, त्यसैले सस्पेन्सन कस्तो छ ? भन्ने बुझ्नुपर्छ । गाडी किन्नुअघि नै यो दिर्घकालका ठीक हुन्छ की हुँदैन भन्ने चिन्ता गर्नुपर्छ । कम्फर्ट फिचर्समा ध्यान दिइएन भने अफरोडमा धेरै समस्या आउन सक्छ ।

अत्यावश्यक सुविधा खोज्नुस्

गाडीका फिचर्सबारे ग्राहक सचेत हुनैपर्छ । गाडी किन्नुअघि त्यसका विभिन्न फिचर्सहरुमा पनि ध्यान दिनुपर्छ । यदि तपाईं समय–समयमा लामो यात्राका लागि निस्किरहनु हुन्छ भने बुट स्पेश कति छ भन्नेमा होस पुर्‍याउनुस् ।

आफ्नो आवश्यक्ता अनुसारको बुट स्पेश भएका गाडी किन्ने प्रयत्न गर्नुहोस् । एयर कन्डिसनर कस्तो छ भन्ने हेर्नुस । ब्लु–टुथ कनेक्टीभिटी पनि अब गाडीमा आवश्यक छ । ड्राइभिङको समयमा फोन आउँदा यो फिचर्सले सहयोग गर्छ । यसले सेफ्टीका लागि पनि सघाउँछ ।

यस्तै अडियो सिस्टम कस्तो छ ? कप होल्डर र पकेटहरु कति छन् ? ड्यास बोर्डको ग्लोब्समा कुलिङ सिस्टिम छ कि छैन ? लगायतका विषयमा ध्यान दिनुपर्छ । किनभने यस्ता युटिलिटी फिचर्सहरुले यत्रालाई सहज बनाउँछन् ।

अफरोडमा जान सक्नेलाई महत्व

तपाईंको गाडी कस्तो सडकमा बढी गुड्छ भन्ने कुरा महत्वपूर्ण छ । नेपालका प्रायः सडकहरुको अवस्था नाजुक छ । त्यसअनुसार सकेसम्म उत्कृष्ट ग्राउण्ड क्लियरेन्स भएको गाडी किन्नुपर्छ । नेपाली सडकको अवस्थाका कारण अफरोडमा पनि गाडी लैजानुपर्छ भन्ने कुरा बिर्सनुहँदैन ।

गाडीलाई कन्डिसनमा राख्नका लागि पनि राम्रो क्लीयरेन्सको महत्व हुन्छ । आफुले नियमित प्रयोग गर्नुपर्ने सडकलाई ध्यानमा राखेर उपयुक्त ग्राण्ड क्लीयरेन्स भएको गाडी रोज्नुपर्छ ।

तेलको खपत

प्रिमियम गाडी चढ्नेका लागि तेलको खपतदर खासै महत्वपूर्ण नरहला । तर, इन्ट्री र कम्प्याट लेभलका कार चढ्नेका लागि यो पनि महत्वपूर्ण विषय हो ।

आफ्नो आम्दानी र खर्चको क्षमताअनुसार माइलेज भएका गाडी रोज्नुपर्छ । कम माइलेज भएका गाडीले झनै खर्च बढाउन सक्छन् । काठमाडौंसहितका ट्राफिक जाम हुने शहरका लागि गाडी किन्दै हुनुहुन्छ भने पहिलो र दोस्रो गियरमा कति फ्युल खपत हुन्छ भन्नेमा ध्यान दिनुपर्छ । तर, पहिलो र दोस्रो गियरमा दिने माइलेज पनि शहरी क्षेत्रमा गुड्ने गाडीका लागि ध्यान दिनुपर्छ ।

कति सुरक्षित ?

नेपालमा सवारी दुर्घटना बढ्दो छ । सडकमा कति बेला दुर्घटनामा पर्ने हो भन्ने पत्तो हुन्न । त्यसैले आफूले किन्ने गाडीमा सुरक्षाका लागि के–के फिचर्सहरु छन् भन्नेमा ध्यान दिनुपर्छ ।

विशेषगरी हाइ–वेमा गाडी हाँकिरहनुपर्ने अवस्थाका लागि यो झनै महत्वपूर्ण हुन्छ । हाइ–वेमा गाडी तीव्र गतिमा गुड्ने भएकाले एयर ब्याग भएका गाडी बढी सुरक्षित हन्छन् । अहिले विभिन्न एडभान्स् सेफ्टी फिचर्सहरु गाडीमा राख्ने गरिएको छ ।

आजभोलि प्रायः सबै कम्पनीहरुले एयरब्याग फिचर्स राखेरै कारहरु ल्याउने गरेका छन् । शहरभित्र कम गतिमा हाँक्नेहरुले एयर ब्यागमा चासो दिँदैनन् । त्यो स्वभाविक नै हो । तर, सकेसम्म सुरक्षाका मामिलामा सम्झौता नगरेकै बेस हुन्छ ।

स्पेर्यसको उपलब्धता र सर्भिसिङ

गाडी मेसिनरी साधन हो । यो किन्दा तपाईंले भोलि बिग्रन्छ पनि भन्ने कुरा पनि भुल्नुहुँदैन । सस्तो मूल्यका कार चलाउन तथा मर्मत गर्न पनि सस्तो नै पर्छ । तर, कम्पनीअनुसार यसको लागत भने फरक हुन्छ ।

पुराना कार उत्पादकहरुले तिनको स्पेयर पार्ट्स सस्तो मूल्यमै उलपल्ध गराउँछन् । नयाँ कम्पनीहरु पनि यसका लागि प्रतिस्पर्धामा छन् । पाट्र्सको उपलब्धता पनि सहज हुन जरुरी छ । कम्पनीको सर्भिस नेटवर्क पनि राम्रो हुनुपर्छ । त्यसैले आफूले किन्ने कम्पनीको गाडीको मर्मत खर्च, पार्टसको उपलब्धता र सर्भिस नेट्वर्कलाई पनि ध्यान दिनैपर्छ ।

मर्मत खर्च बेहोर्न कठिन हुनेले लामो समयको सर्भिस प्याकेजसहितका कार खरिद गर्नु ठिक हुन्छ । सँगै मर्मत खर्च र कम्पनीको सर्भिसिङ सुविधा कति सहज र सस्तो छ भन्ने कुरा पनि गाडी चढ्नेले बिचार गर्नै पर्ने पक्ष हो ।

टेष्ट ड्राइभ अनिवार्य

कार परीक्षणविना नै किन्नु जोखिम मोल्नु हो । त्यसैले कार किन्ने अन्तिम निर्णयअघि तपाईंले टेष्ट ड्राइभ गर्नुपर्छ । किनभने ठूलो लगानी गरेर किन्न लागिएको कार कस्तो छ भन्ने ‘कन्र्फम’ हुन टेष्ट ड्राइभ अनिवार्य हुन्छ ।

अहिले नेपालमा गाडी बिक्री गर्ने अधिकांश कम्पनीले ग्राहकलाई टेष्ट ड्राइभको सुविधा दिएका छन् । टेष्ट ड्राइभिङले तपाईंलाई निर्णय लिन र विश्वस्त हुन सहयोग गर्छ । सकेसम्म टेष्ट ड्राइभ एकपटक भन्दा बढी गर्नुस् ।

टेष्ट ड्राइभिङपछि उब्जिएका प्रश्नहरुको उत्तर कम्पनीको अधिकारीहरुसँग खोज्नुभयो भने तपाईंले भविष्यमा गाडी किनेर पछुताउनुपर्ने अवस्था आउँदैन । अझ टेस्ट ड्राइभमा जाादा गाडीकोको मेकानिक, ड्राइभर वा लामो समय गाडी चढेका साथीभाईलाई पनि सँगै राख्नुभयो भने निर्णय लिन सहज हुन्छ ।

केही खराबी छन् कि, हेर्नुस्

अन्तमा तपाईंले कार लिनुअघि राम्रोसँग निरीक्षण गर्नुस् । प्रायः नयाँ भनेपछि हामी त्यसमा कुनै ‘डिफेक्ट’ हुँदैन भन्ने मान्छौं । तर, त्यस्तो हैन, कम्पनीबाट एप्रुभ आएका केही प्रोडक्टमा कहिलेकाँही स–साना डिफेक्टहरु भेटिन्छन् । त्यसैले लाखौं खर्च गर्ने यस्ता गाडीमा तपाईंले केही खराबी छन् कि भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

विशेषगरी एक्सेटेरियरर इन्टेरियरका स–साना पार्टहरु राम्रोसँग निरीक्षण गर्नुपर्छ । यसरी निरीक्षण नगर्दा धेरैले दुःख पाएका छन् । त्यसैले गाडीलाई पूर्णरुपमा आफू सन्तुष्ट भएर मात्रै किन्नुस् र त्यसलाई त्यतिकै माया पनि गर्नुस् । तपाईंले आफ्नो कारको स्याहार पनि निकै गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment