Comments Add Comment

ड्राइभिङ गर्दा मोबाइल चलाउनु खतरनाक

केही वर्षयता मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ । मानिस खान, सुत्न बिर्सन्छन्, तर मोबाइल चलाउन बिर्सदैनन् । आज मोबाइलविना मानिस बाँच्न नसक्ने भएका छन् । तर मोबाइलप्रतिको यो लगाव साँच्चै नै सही हो त ? होइन । आज देशमा हुने धेरैजसो दुर्घटनाको कारण कि त मदिरापान गरेर गाडि चलाउनाले हुन्छ कि भने त ड्राइभिङको क्रममा मोबाइलमा कुराकानी गर्नाले हुन्छ । त्यसैले ड्राइभिङ गर्दा मोबाइलमा कुराकानी गर्नु कत्तिको घातक हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।

हिजोआज ड्राइभिङ विशेष गरेर मोटरसाइकलमा सवार हुँदा मोबाइल चलाउनु अति नै घातक मानिन्छ, किनभने ड्राइभिङको क्रममा मोबाइलमा कुरा गर्दा आफ्नो सम्पूर्ण ध्यान फोनतिर हुन्छ, जसको कारण ड्राइभिङबाट ध्यान हट्छ र दुर्घटना हुन्छ ।

ड्राइभिङको क्रममा मोबाइलप्रति ध्यान नै दिनु हुँदैन । त्यसले तपाईंलाई त नोक्सान पुर्‍याउँछ नै, तपाईसँगसँगै यात्रा गर्नेको पनि ज्यान जाने जोखिम हुन सक्छ । ड्राइभिङको क्रममा मोबाइल बज्यो कि, कसैले म्यासेज पठायो कि भन्ने जस्ता कुराले पनि दुर्घटना हुन सक्छ ।

अझ कहिलेकाहीँ त मोबाइलमा बहस हुने, झगडा हुने र तनावको समाचार सुन्नु पर्दा त ड्राइभरको ध्यान ड्राइभिङमा पटक्कै हुँदैन्ा । ऊ तनावमा आउँछ र तनावको अवस्थामा गरेको ड्राइभिङले धेरै दुर्घटना भएको पाइन्छ ।

हिजोआज बसमा यात्रुहरुले नै ड्राइभरहरुलाई मोबाइलमा कुरा गर्न दिँदैनन् । बस चालकहरुले मोबाइलमा कुरा गरेका कारणले नै कतिपय दुर्घटनाहरु भएका छन् । जसका कारण कति निर्दोष यात्रुहरुले ज्यान गुमाएका छन् भने कति घाइते भैरहेका हुन्छन् । कतिले आफ्नो आँखा अगाडि आफन्तको ज्यान गएको देखेका छन् । बस चालकको ध्यान ड्राइभिङबाट नहटोस् भन्ने उद्देश्यले हिजोआज यात्रुहरुले बस चालकलाई ड्राइभिङ गर्दा मोबाइलमा कुरा नगर्न आग्रह गर्न थालेका छन् ।  बस चालकहरुले पनि ड्राइभिङको क्रममा मोबाइलको प्रयोग घातक हुन्छ भन्ने कुरा राम्रोसँग बुझन आवश्यक छ । किनभने कुनै एक जनाको लापरवाहीको परिणाम समस्त निर्दोष यात्रुहरुले भोग्नु पर्छ ।

आज दिनदिनै दुर्घटनाको समाचार पढ्न अथवा देख्न पाइन्छ । जसमा बाइक गएर ट्रकसंग ठोक्कियो, कार भिरबाट खस्यो, बस-बस जुधे जस्ता दुर्घटनाका समाचारका प्रमुख कारण चालकले ड्राइभिङको क्रममा प्रयोग गरेको मोबाइललाई नै मानिएको छ ।

अहिले युवापिँढीहरुमा ड्राइभिङको क्रममा मोबाइलमा कुराकानी गर्ने फेशनजस्तै भएको छ । ड्राइभिङका क्रममा समय बचाउनका लागि अथवा एक्लोपनको साथीको लागि पनि मोबाइल प्रयोग गरेको पाइन्छ । जसका कारण दुर्घटना हुन्छ । उसले गरेको सानो गल्तिका कारण आफ्नो ज्यान नै गुमाउन पुग्छ । यद्यपि उनीहरुलाई ड्राइभिङ गर्दा मोबाइलको प्रयोग घातक हो भन्ने थाहा हुँदाहुँदै पनि उनीहरु यो जोखिम मोल्छन् ।

एक सर्वेक्षणका अनुसार ड्राइभिङमा आउने बाधाहरुमा मोबाइललाई सबैभन्दा खतरनाक पाइएको छ । ३४ प्रतिशत व्यक्तिहरुको विचारमा ड्राइभिङ गर्दा मोबाइलमा कुराकानी गर्नु खतरनाक हुन्छ भन्ने छ । ९६ प्रतिशत व्यक्ति यसलाई असुरक्षित मान्छन् । त्यस्तै ६० प्रतिशत व्यक्तिहरु ड्राइभिङ गर्दा मोबाइलमा फोन आउँदा मात्र कुराकानी गर्ने गरेको पाइन्छ । ६८ प्रतिशत व्यक्ति ड्राइभिङ गर्दा मोबाइलको प्रयोगमा कडा कानून बन्नु पर्छ भन्ने धारणा राख्छन् । यद्यपि यातायात व्यवस्था विभाग तथा ट्राफिक प्रहरीको नियमअनुसार सवारी साधन चलाउँदा मोबाइलको प्रयोग गर्नु कानूनतः अपराध हो तर यसको लागि सजाय दिनु भन्दा अर्थदण्ड दिने भएकाले यो त्यति प्रभावकारी भएको पाइँदैन ।

मोबाइल तपाईको सुविधाको लागि हो, त्यसैले यसको प्रयोग सावधानीपूर्वक गर्नु पर्छ । यसो गर्दा तपाई आफू पनि सुरक्षित हुन सक्नु हुन्छ र तपाईंको कारण अरु निर्दोषले पनि ज्यान गुमाउन पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment