Comments Add Comment

सत्तारूढ नेकपादेखि विवेकशीलसम्मले पुनः दल दर्ता गर्नुपर्ने

१६ भदौ, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालले आगामी उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ ।

निर्वाचन पूर्व दलहरूले निर्वाचन आयोगमा दर्ता हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप एकीकृतपछि पहिलोपटक निर्वाचनमा जान लागेका यी दलहरूले आयोगमा दर्ता हुनुपर्ने भएको हो ।

निर्वाचन आयोगका अनुसार २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा आयोगमा दर्ता भएका दलले उपनिर्वाचनको प्रयोजनका लागि पुनः दल दर्ता गर्नु पर्दैन । ती चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग दल र अलग चुनाव चिह्नसहित लडेकाले उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गनुपर्ने भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्र निर्वाचनपछि एकीकृत भएर नेकपा बनेको थियो ।

नेकपा एकीकरणसँगै निर्वाचन आयोगमा दल दर्ता भए पनि चुनावी प्रयोजनका लागि पुनः दर्ता हुनुपर्ने नेकपा निर्वाचन विभागका उपप्रमुख खिमलाल देवकोटाले बताए ।

नेकपाले यसअघि चुनावमा भाग नलिएकाले पुनः दल दर्ता हुनुपर्ने प्रावधानबारे आफूहरु जानकार रहेको उनले बताए । निर्वाचन आयोगले दल दर्ताका लागि सूचना प्रकाशित गरेकाले सोही अनुरूप अघि बढ्ने उनको भनाइ छ । नेकपाको चुनाव चिह्न भने सूर्य नै हुने बताइएको छ ।

त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालले पनि पुनः दल दर्ता गर्नुपर्नेछ । ०७४ को निर्वाचनपछि यी दल एकीकृत बनेकाले पुनः दल दर्ता गर्नुपर्ने भएको हो ।

यसबीचमा एकीकरण भएका राप्रपा संयुक्तले पनि पुनः दल दर्ता गराउनुपर्नेछ । त्यस्तै यसबीचमा बिभाजन भएका तत्कालीन साझा पार्टी र विवेकशील पार्टीले पनि उपनिर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्नेछ ।

दल दर्ताका लागि आयोगले भदौ मसान्तसम्मको समय दिएको छ । आवश्यक काजजातसहित निर्धारत समयभित्र इच्छुक दलले सम्पर्क गर्नुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार हाल आयोगमा १३२ वटा राजनीतिक दल दर्ता छन् । उपनिर्वाचन प्रयोजनका लागि थप दल दर्ता हुने क्रममा छन् । दर्ता नहुने दलले निर्वाचनमा भाग लिन पाउँदैनन् ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कुल ५१ वटा पदमा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment