Comments Add Comment

तीजमा दूध अभाव, मागको आधा मात्र आपूर्ति

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभर दूध तथा दूग्धजन्य पदार्थको अभाव देखिएको छ । तीजको अवसरमा आइतबार र सोमबार बढेको मागलाई उत्पादनले धान्न सकेन ।

आइतबार बेलुका तीजको दर खान उपभोक्ता दूध, दही र पनिर लगायत दूग्धजन्य पदार्थको खोजीमा थिए । तर, धेरै उपभोक्ताले माग बमोजिम प्राप्त गर्न सकेनन् । सोमबार तीजको दिनमा पनि बिहानैदेखि काठमाडौं उपत्यकामा दूध अभाव देखिएको छ ।

बजारमा दूध अभाव भएपछि कतिपय उपभोक्ताहरु दूग्ध विकास संस्थानका कर्मचारीसँग झगडा गर्न पुगेका थिए । काठमाडौं दूग्ध वितरण आयोजना बालाजुले दिएको जानकारी अनुसार आइतबार माग अत्यधिक बढेकाले दूध तथा यसका उत्पादनहरु अपुग भएको हो ।

नियमित रुपमा उपभोक्तालाई माग बमोजिमको दूध दिन नसकेपछि साना व्यवसायीहरु सोमबार डेलिगेसनमा आएको दूग्ध वितरण आयोजना बालाजुका प्रमुख राजेन्द्रप्रसाद अधिकारीले बताए । ‘चाडपर्वले गर्दा पनि होला माग बढेको छ, तर त्यही अनुसारको उत्पादन नभएर बजारमा अभाव देखिएको हो,’ अधिकारीले भने ।

बजार मागको तुलनामा कृषकले उत्पादन गर्ने दूधको मात्रा घटेको तथा पाउडर दूधको आयात रोकिँदा दहीलगायतका दुग्धजन्य पदार्थ बनाउन नसकिएको नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

‘फ्रेस दूध उत्पादन कम हुने समयमा पाउडरबाट दूध र दही बनाइन्थ्यो र बजारमा अभाव देखिदैनथ्यो, तर यस वर्ष पाउडरको अभाव भयो,’ दाहालले भने । काठमाडौं उपत्यकामा दैनिक ५ लाख लिटर दूध आवश्यकता पर्छ तर बजारमा साढे दुई लाख लिटर दूध पठाउन पनि कठिन भएको महासचिव दाहालले बताए ।

बजारको मागअनुसार दूध पठाउन नसकिएको दूग्ध विकास संस्थान (डीडीसी) लैनचौरले स्वीकारेको छ । आइतबार डीडीसी दूधको माग १ लाख ४० हजार लिटर थियो, तर ९५ हजार लिटर मात्रै पठाइएको संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईले अनलाइनखबरलाई बताए । डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाका अनुसार चाडपर्वले गर्दा गाउँको दूध सहर नआउँदा पनि अभाव सिर्जना भएको हो ।

गत वर्ष तीजको समयमा संस्थानबाट १ लाख ५८ हजार लिटर दूध बजारमा पठाइएको भए पनि यस वर्ष ६३ हजार लिटर कम भएको झाले जानकारी दिए । तीजको मूख्य दिन बजारमा ६५ हजार लिटर मात्रै दूध पठाइएको छ । बजारमा दूध अभाव भएपछि उपभोक्ताले संस्थानका कर्मचारीसँग दूध खोस्ने तथा गाली गर्ने गरेको गुनासो उनले गरे । कच्चा पदार्थ अभावकै कारण बजारमा दूध अभाव भएको उनले बताए ।

दूध अभावका कारण डीडीसीको पनिर तथा दूग्धजन्य मिठाई उत्पादनमा समेत ह्रास आएको छ । गत वर्ष ७ हजार बट्टा मिठाई बेचेको संस्थानले यस वर्ष मुस्किलले ८ सय बट्टा मात्रै उत्पादन गर्न सकेको झाले बताए । तीजको अघिल्लो दिन जम्मा ३५० किलो पनिर मात्रै संस्थानले बिक्री गरेको उनले जानकारी दिए ।

बजारमा दूध र यसबाट बन्ने परिकारको अभावबारे गुनासो बोर्डससम्म आइपुगेको राष्ट्रिय दूग्ध विकास बोर्डका निमित्त कार्यकारी प्रमुख बाबुकाजी पन्त बताउँछन् । किसानले मिल्क होलिडे नगरुन् भनेर पाउडर दुध आयातमा कडाई गरिए पनि यसको असर सरकारी संस्थान तथा निजी डेरीमा समेत परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment