Comments Add Comment

आजका पत्रपत्रिका : साढे २५ प्रतिशतले घट्यो विदेशी लगानी

१७ भदौ, काठमाडौं । मिडिया काउन्सिल विधेयकमा सत्तारूढले हालेको संशोधन, प्रधानमन्त्रीको स्वास्थ्यदेखि विदेशी लगानीमा आएको गिरावटसम्मका विषय आजका दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ ।

मुख्य पृष्ठमा तीज झल्किने तस्वीर छापेको कान्तिपुरले दुरुपयोग भएका सार्वजनिक जग्गाको खोजीमा सरकार गम्भीर नदेखिएको निष्कर्ष निकालेको छ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगले २५ वर्षअघि विभिन्न व्यक्तिद्वारा १८ सय रोपनी जग्गा दुरुपयोग गरेको प्रतिवेदन दिए पनि अझैसम्म त्यस्ता जग्गाकाे खोजी नभएको कान्तिपुर समाचारमा उल्लेख छ ।

कान्तिपुर लेख्छ– सरकारी र सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासोपछि ०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूर्वभूमिसुधार सचिव रामबहादुर रावलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेका थिए । आयोगले दुई वर्ष लगाएर प्रतिवेदन पेस गरे पनि त्यसको कार्यान्वयन अझैसम्म भएको छैन ।

अनाहकमा भारतको अमृतसरस्थित जेलमा राखिएका नेपालीको कथालाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक आज छापेको छ । सैनिक इलाका प्रवेशको आरोपमा डिल्लीराम थारु नाम गरिएका युवकलाई अढाइ वर्षदेखि अमृतसरस्थित जेलमा राखिएको कान्तिपुर समाचारमा उल्लेख छ । अकारण युवकलाई जेल हालिए पनि उनको रिहाइका लागि सरकार गम्भीर नबनेको भन्दै कान्तिपुरले सरकारकाे आलोचना गरेको छ ।

कान्तिपुरकै आर्थिक पृष्ठमा विदेशी लगानी २५ प्रतिशतले घटेको अर्को खबर पनि छ ।

विदेशी लगानी भित्र्याउन सरकारले अनेक प्रयत्न गरिरहेका बेला उल्टै लगानीमा गिरावट आएको  हो ।

कान्तिपुरका अनुसार गत वर्ष मुलुकमा १३ अर्ब ७ करोड रुपैयाँ बराबर प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रियो । जुन गत वर्षको तुलनामा २५ प्रतिशतले कम हो ।

कान्तिपुर लेख्छ– विदेशी लगानी बढाउन सरकारले थुप्रै नीतिगत र ववहारिक सुधार भएको दाबी गरिरहेको वर्षका सबै महिनामा विदेशी लगानी घटेको छ ।’

सरकारले नीतिगत सुधार गरेको जनाए पनि लगानीकर्ता विश्वस्त हुने आधार विकास भइनसकेकाले विदेशी लगानी बढ्न नसकेको अर्थविद्हरुको भनाइ छ ।

‘विदेशी लगानीकर्ताले नेपालको लगानी वातावरणलाई पत्यार गरेनन्’, अर्थविद् केशव आचार्यले कान्तिपुरसँग भनेका छन् ।

अन्नपूर्णले ‘किन झस्किए नेताहरू’ शीर्षक दिएर राजासँग दल र तिनका नेता त्रसित हुनुको कारण सोधीखोजी गरेको छ । पूर्वराजाको सक्रियता, अन्तर्राष्ट्रिय गतिविधि र सरकारप्रतिको चुलिँदो असन्तुष्टिका कारण दलहरू सिंहासन छाडिसकेका राजासँग सशंकित भएको अन्नपूर्ण समाचारको सार छ ।

तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ । समाचार अनुसार सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ ।

नागरिकको नजर डोरज विकासले निम्त्याएको विनाशमा परेको छ । डोजर विकासले कैलाली, बझाङ र बैतडीमा पारेको असरबारे कम्पाइल स्टोरी गरेको नागरिकका अनुसार मापदण्डविपरीतका सडकले यी जिल्लाका दर्जनौं बस्ती जोखिममा परेका छन् ।

एटीएम लुट प्रकरणमा भारतीय रिजर्भ बैंकले चासो देखाएकोलाई पनि नागरिकले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार उसले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको छ ।

चिनियाँ राष्ट्रपति १५ अक्टोबरमा नेपाल आउन लागेको खबर राजधानीले छापेको छ भने गोरखापत्रले एउटै रुखका कारण बारामा अवरुद्ध भएको सडक निर्माणबारे एंकर बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment