Comments Add Comment

भूतपूर्व गोरखा सैनिकले दिए भोक हडतालको चेतावनी

माग पूरा गर्न बेलायत सरकारलाई २४ अक्टुबरको समयसीमा

१७ भदौ, काठमाडौं । बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटक–पटकको आग्रह सुनुवाइ नभएको भन्दै गोर्खा सत्याग्रह संघर्ष समितिले भोक हडतालमा उत्रिने चेतावनी दिएकाे हाे । गोर्खा सत्याग्रह संघर्ष समिति भूतपूर्व ब्रिटिस गोरखा सैनिकको हक–हितका पक्षमा आवाज उठाउँदै आएको संस्था हो । यसबाहेक गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) पनि सक्रिय छ । यद्यपि, उसले भने दबावमुलक कार्यक्रम सञ्चालन गरेको छैन ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार, हडतालको चेतावनी दिएको  गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारलाई आउँदो २४ अक्टुबरसम्मको समयसीमा दिएकाे छ । उक्त समयसीमाभित्र पर्खने र त्यतिबेलासम्म पनि बेलायत सरकारले मागबारे सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने उनीहरूको चेतावनी छ ।

बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन् । साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताए ।

‘नेपाल र बेलायतका दुवै सरकार हाम्रा मागबारे छलफल गरेर निष्कर्षमा पुगुन् भन्ने हाम्रो चाहना छ’, राईले बेलायत सरकारलाई चुनौती दिँदै चीनको साउथ मर्निङ पोस्टसँग भनेका छन् । संवादमार्फत समाधान गर्न दुई सरकारले उदासीनता देखाए सास रहेसम्म हडताल गर्ने चेतावनी उनले दिए ।

बेलायती गोरखा सैनिकको इतिहास लामो छ । पहिलो विश्वयुद्ध आफ्नो पक्षमा पार्न बेलायतले पहिलोपटक नेपाली प्रयोग गरेको थियो । त्यसयता उसको राष्ट्रियता र स्वाधीनताका लागि भर्ती भएर कैयन नेपालीले सेवा गरेका छन् । सैन्य सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालीहरू त्यहाँको विभिन्न प्रतिष्ठित पदकबाट सम्मानित भएको इतिहास छ ।

यद्यपि, त्यहाँको सेनामा भर्ती हुने बेलायती र नेपालीबीच विभेदको गहिरो खाडल रहेको भन्दै भूतपूर्व बेलायती गोरखा सैनिकहरू रुष्ट छन् । उनीहरूले बेलायत सरकारको असमान व्यवहारविरुद्ध संघर्ष गर्दै आइरहेका छन् । यसअघिका दबावहरूले आफ्ना माग सुनुवाइ नभएपछि पछिल्लोपटक उनीहरूले भोक हड्तालको चेतावनी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment