Comments Add Comment

सुन्दरले खोल्यो सार्वजनिक सवारीका लागि पहिलो ‘चार्जिङ स्टेसन’

१७ भदौ, काठमाडौं । सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेले चाबहिलस्थित आधुनिक चार्जिङ स्टेसनको उद्घाटन गरे ।

कम्पनीले भदौभित्रै काठमाडौंमा सार्वजनिक विद्युतीय बस चलाउने तयारी गरिरहेको छ । त्यसका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको उनले कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।यो सार्वजनिक सवारीका लागि स्थापना गरिएको नेपालकै पहिलो चार्जिङ स्टेशन हो । सार्वजनिक विद्युतीय सवारी सञ्चालन गर्न चार्जिङ स्टेशन स्थापनाका लागि नीतिगत र कानुनी व्यवस्था हालसम्म गरिएको छैन ।

तर, उर्जा मन्त्रालयले यसबारे सुझाव दिन बनाएको समितिले चार्जिङ स्टेसन स्थापनाका लागि विभिन्न नीतिगत व्यवस्था गर्न सिफारिस गरेको छ । मन्त्रालयका सहसचिव प्रविणराज अर्याल संयोजकत्वमा बनेको कार्यदलले चार्जिङ स्टेसन निर्माणका लागि विभिन्न व्यवस्थाहरु गर्न सिफारिस गरेको हो ।

विद्युतीय सवारी चार्ज गर्न सुन्दर यातायात प्रालिले काठमाडौंको सुकेधारा र सितापाइलामा पनि चार्जिङ स्टेसन निर्माण गरेको छ । तर सञ्चालनमा ल्याउन बाँकी  छ।

चार्जिङ स्टेशसन खुलेसँगै पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ ।

विद्युत् खपत बढाउनका लागि राजधानी काठमाडौंलगायत प्रमुख शहरमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने र घरायसीरुपमा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै जाने नीति सरकारको छ ।

सरकारको सोही नीतिलाई सम्बोधन गर्ने लक्ष्यका साथ निजी क्षेत्रले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालनमा मात्रै ल्याएको छैन यही भदौ २३ गतेदेखि राजधानीमा चार वटा विद्युतीय बसबाट सेवा दिने तयारीसमेत गरेको छ ।

चार्जिङ स्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को खपत बढाउने लक्ष्य राखिएको बताए ।

चालू आवको अन्त्यसम्म राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीलगायतका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । यस्तै रसुवागढी, साञ्जेनलगायतका आयोजनाका अलावा निजी क्षेत्रका एक दर्जन बढी आयोजनासमेत सम्पन्न हुने छ ।

ती आयोजना सम्पन्न भएपछि विद्युत् खेर जाने सम्भावनालाई मध्यनजर गरेर सरकारले विद्युत् खपत बढाउने नीति तथा कार्यक्रमसमेत सञ्चालनमा ल्याएको सचिव घिमिरेको भनाइ छ ।

‘उत्पादित सबै विद्युत् प्रयोग होओस् भन्ने लक्ष्यका साथ विद्युतीय सवारी साधनको अलावा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै जाने लक्ष्य राखिएको छ,’ उनले भने,’ विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउँदै पेट्रोलियम पदार्थको आयात घटाएर व्यापार घाटा घटाउनेसमेत सरकारको लक्ष्य छ । खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको आयात मात्रै घटाउन सकिए भुक्तानी सन्तुलन र व्यापार घाटा घटाउनमा मद्दत पुग्छ ।’

सुन्दर यातायाताका अध्यक्ष थापाका अनुसार सञ्चालनमा आएको चार्जिङ स्टेशनले एकै पटक छ वटासम्म सवारी साधन चार्ज गर्न सकिन्छ ।

उनका अनुसार चक्रपथमा दैनिक गुड्ने डिजल गाडीले दिनमा ४ हजार बराबरको इन्धन खपत गर्छ भने विद्युतीय सवारी साधनले मात्रै सात सय बराबरको विद्युत् खपत गर्छ । त्यसबाट यातायात थप सरल र सस्तो बन्न जान्छ ।

उनका अनुसार प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय बस चार्ज गर्ने व्यवस्था मिलाइएको छ । प्राधिकरणबाट थ्री फेज लाइन विद्युत् लिइएको छ ।

सार्वजनिक रुपमा चल्ने अन्य यातायातका लागि भने स्वीकृति लिएपछि मात्रै चार रुपैयाँ ८० पैसासम्म लिन सकिने उनले बताए ।

लामो समयको प्रयासपछि आफूहरुले वातावरण मैत्री बस सञ्चालनमा ल्याउन लागिएको जानकारी दिँदै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री पुनको योजना अब व्यावहारिकरुपमा कार्यान्वयनमा जान लागेको बताए ।

‘सरकारको योजनालाई कार्यान्वयन गर्न पाउँदा हामीलाई असाध्यै खुसी लागेको छ । तर केही कानूनी र नीतिगतरुपमा थप प्रष्टताको जरुरी छ । त्यसका लागि मन्त्रालयले आवश्यक समन्वय गरिदिनेछ भन्ने मैले विश्वस लिएको छु’ उनले भने ।

कूल एक करोड ६२ लाख पर्ने विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको जानकारी दिँदै उनले महंगो सवारी साधनले लागत उठाउँछ त भन्ने धेरैको जिज्ञासा रहेपनि आगामी ६ वर्षभित्र आफूहरु नाफामा जान सक्ने अवस्था रहेको बताए ।

विद्युतीय सवारी साधनको मर्मत तथा सञ्चालन खर्च कम पर्ने भएकोले आम नेपाली त्यसैमा अभ्यस्त हुने विश्वास उनको छ ।

कम्पनीले ल्याएको चार्जिङ मेसिनबाट ब्याट्री बिगि्रने चिन्ता लिनु नपर्ने कम्पनीका अध्यक्ष थापाको दाबी छ । ‘नेपालमा चलिरहेका १६ वटा कम्पनीका गाडीका ब्याट्रीलाई उपयुक्त छ हाम्रो चार्जिङ मेसिन’, उनी भन्छन् ।

डिजिटल प्रविधिका चार्जिङ मेसिन भएकाले जति चार्ज गर्नु छ त्यति नै युनिट तोकेर चार्ज गर्न मिल्ने सुविधा पनि छ । ‘पेट्रोल पम्पमा गएर २०० को तेल हाल्छ भन्छौं नि यहाँ पनि त्यसरी नै बटम दबाएर निश्चित युनिट चार्ज गर्न मिल्छ’, उनले भने ।

चार्ज फूल भएपछि मेसिन ‘अटो अफ’ हुने भएकाले ब्याट्रीमा कुनै समस्या नआउने उनको दाबी छ । चीनबाट भित्र्याएको यी चार्जिङ मेसिन एउटाको १३ लाख रुपैयाँ परेको थापा बताउँछन् ।

सुन्दर यातायातले ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार्जिङ मेसिनको स्थलगत रुपमै अवलोकन गराएर अप्ठेरो फुकाइदिन अनुुरोध गरेको थियो ।

हाल शहर र राजमार्गहरुमा पेट्रोलपम्प जस्तै विद्युतीय चार्जिङ स्टेसन खोल्ने बाटो कानूनतः खुलिसकेको छैन ।

निजी क्षेत्रले खोल्ने चार्जिङ स्टेसनको मापदण्ड र चार्जिङ शूल्क तथा त्यसमा दिइने अनुदानबारे सरकारले स्पष्ट निर्णय लिनुपर्ने अवस्था छ ।

कम्पनीले निकट भविश्यमा नै प्रदेश नं ५ को बुटवल र प्रदेश नं १ को विराटनगरमा समेत विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

ऊर्जामन्त्री पुनले गठन गरेको कार्यदलका संयोजकसमेत रहेका सहसचिव अर्यालले निजी क्षेत्रबाट विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरिनु आफँैमा सकारात्मक र स्वागतयोग्य कदम भएको बताए ।

‘सेवा विस्तार तथा सार्वजनिक सवारी यातायातमा थप सरल र सस्तो पर्न जान्छ । यसले आम नागरिकलाई समेत राज्यप्रतिको विश्वास बढाउनेछ, उनले भने ।

उक्त चार्जिङ स्टेशनमा न्यूनतम चार घण्टामा सवारी साधन पूर्णरुपमा चार्ज हुने इञ्जिनीयर तिलक गिरीले बताए ।

‘हामीले सञ्चालनमा ल्याएको चार्जिङ मेशिन सुपर चार्जिङ मेशिन पनि भएकाले सबै प्रकारका विद्युतीय सवारी साधनका लागि उपयुक्त हुन्छ,’ गिरीले भने ।


सरकारले भने रातीको समयमा खेर जाने विद्युतको बढीभन्दा बढी सुदपयोग गर्न विद्युतीय सवारी साधन उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

सरकारले साझा यातायातलाई ३०० वटा विद्युतीय बस खरीदका लागि रु तीन अर्ब बजेटसमेत विनियोजन गरिसकेको छ । प्राधिकरणले पहिलो चरणमा ३० वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ ।

सोही तयारीका लागि मन्त्री पुनलाई बुझाएको कार्यदलको प्रतिवेदनसमेत प्राधिकरण पुगी सकेको छ ।

प्राधिकरणले अब चार्जिङ स्टेशन सञ्चालनका लागि लोड स्वीकृतिलगायतका अन्य काम पनि पूरा गर्ने तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निकट भविश्यमा नै अन्य नीतिगत निर्णय गर्ने र आक्रामक रुपमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माण हुनेछन् ।

त्यसो त प्राधिकरण र साझा यातायातबीच पनि चार्जिङ स्टेसन निर्माण गर्ने सम्बन्धी समझदारीपत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment