+
+
Shares

डलरको भाउ बढेको बढ्यै, यस्ता छन् फाइदा र घाटा

रोयल आचार्य रोयल आचार्य
२०७६ भदौ १८ गते १६:४८

१८ भदौ, काठमाडौं । अमेरिकी डलर दिनप्रतिदिन बलियो महंगो बन्दै जाँदा त्यसले नेपाली अर्थतन्त्रलाई पार्ने प्रभावबारे विश्लेषण सुरु भएको छ ।

मंगलबार एक अमेरिकी डलरको खरिदर ११३ रुपैयाँ ९५ पैसा थियो भने बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा थियो । त्यो बढेर बुधबार नेपाल राष्ट्र बैंकले खरिददर १ सय १५ रुपैयाँ ५५ पैसा र बिक्री दर १ सय १६ दशमलव १५ रुपैयाँ निर्धारण गरेको छ ।

पछिल्लो एक महिनामा मात्रै एक अमेरिकी डलर ५ रुपैयाँले महंगो भएको छ । आजको ठ्याक्कै एक महिना अघि (अगस्ट ४ मा) अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४ पैसा थियो भने बिक्रीदर १११ रुपैयाँ ६४ पैसा थियो ।

अमेरिकी डलर बलियो बन्दा नेपाली रुपैयाँ स्वतः कमजोर हुने भएकाले यसले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष असर पर्ने अर्थविदहरु बताउँछन् । विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात–निर्यात लगायतका कारण डलरको भाउमा हुने उतार चढावको सोझो असर नेपाली अर्थतन्त्रमा पर्ने गर्छ । अहिलेको प्रवृत्ति नरोकिने हो भने नेपालीहरु महंगीको मारमा पर्ने अर्थविद बताउँछन् ।

नेपालसँग निर्यात गर्न सक्ने क्षमता नभएको र आयातमुखी अर्थतनत्र भएकाले डलरको भाउ बढेसँगै विदेशबाट नेपाल ल्याइने वस्तुहरु महंगिन्छन् ।

किन महंगो भयो डलर ?

अमेरिकी अर्थतन्त्रमा सकारात्मक दिशामा अघि बढेकाले नै डलर बलियो बनेको अर्थविद् डा. चन्द्रमणि अधिकारीको तर्क छ । अमेरिकाले करको दर घटाएको कारण पनि त्यसले सकारात्मक प्रभाव पारेको उनी बताउँछ ।

‘अमेरिकाको अर्थतन्त्र मजवुत भएको र भारतको खस्किएकाले डलरको तुलनामा भारु कमजोर बनेको छ,’ डा. अधिकारीले भने ।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँको स्थिर विनिमय दर भएकाले भारती रुपैयाँ कमजोर हुँदा स्वत नेपाली समेत कमजोर बनेको उनको विश्लेषण छ ।

‘आउदो वर्षदेखि अमेरिकामा मन्दी हुन्छ भन्ने अनुमान गरिएको थियो, तर अहिले त्यसको सम्भावना कम देखिएको छ । बरु भारतमा ५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर छ’ उनले भने, ‘हाम्रो अर्थतन्त्र भारतबाट बढी प्रभावित हुनु र स्थिर विनिमय दरका कारण पनि नेपाली रुपैयाँमा असर परेको छ ।’

रेमिट्यान्स र पर्यटनमा सकारात्मक प्रभाव

अहिले मुलुकको आयको महत्वपूर्ण श्रोत भनेको विप्रेषण नै हो । वैदेशिक रोजगारीमा गएका लाखौ युवाहरुले गरेको आम्दानी रेमिट्यान्सको रुपमा नेपाल भित्रिन्छ । र, त्यसैले देशको अर्थतन्त्र धानिएको छ ।
अमेरिकी डलर बढ्दा नेपालमा आउने रेमिटेन्स पनि स्वतः बढ्ने छ । त्यसैले वैदेशिक रोजगारीमा गएका युवा र उनीहरुको परिवारलाई यसबाट फाइदा हुन्छ । उनीहरुले डलरमा पठाउने पैसा नेपालमा आउँदा धेरै हुन्छ ।

डलर बलियो हुँदा फाइदा पुग्ने अर्को क्षेत्र पर्यटन पनि हो । अमेरिकी डलर बलियो हुँदा नेपालमा पर्यटनमार्फत हुने आम्दानी बढ्ने अर्थविदहरु बताउँछन् ।

‘विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ,’ एक अर्थविदले भने, ‘नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ ।’ पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने उनको तर्क छ ।

अमेरिकी डलर बढ्दा नेपाली अर्थतन्त्रलाई केही फाइदा पनि हुने नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन । अमेरिकी डलरको भाउ बढ्दा नेपालमा रेमिट्यान्स बढ्ने र त्यसले अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने उनको तर्क छ ।

‘हाम्रा धेरै युवाहरु विदेशमा छन्, उनीहरुले हिजो १ सय डलर पैसा पठाउँदा १० हजार मात्रै हुने थियो भने अहिले ११ हजार ३ सय रुपैयाँ हुने भयो’ उनी भन्छन्, ‘यसले पैसा पठाउने ती व्यक्ति र अर्थतन्त्रलाई समेत सकारात्मक असर पार्छ ।’

अमेरिकी डलर बलियो हुँदा नेपालको निर्यात बढाउनुपर्ने पनि उनी बताउँछन् । नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली निकासी वा सामानको भाउ अन्तर्राष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्ने र निकासीलाई यसले टेवा पुग्ने उनको भनाइ छ ।

तर, नेपालले वस्तु तथा सेवा निर्यात गर्न नसक्ने हुँदा अमेरिकी डलरको भाउ बढ्दा फाइदा भन्दा पनि नेपाललाई घाटा धेरै हुने उनको तर्क छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?