Comments Add Comment

एक वर्षको सेयर बजार : नेप्से र पुँजीकरण दुवैमा सुधार

१९ भदौ, काठमाडौं । पछिल्ला समय नेपालको सेयर बजारले निकै उतारचढाव झेलिरहेको छ । बजार कतिबेला उकालो लाग्छ र कतिबेला ओरालो झर्छ भन्ने आँकलन सेयर पण्डितहरुले गर्न सकिरहेका छैनन् ।

यो साता आइतबार र सोमबार दोहोरो अंकले घटेको बजारमा मंगलबार भने एकाएक उछाल आयो । मंगलबार २० अंकभन्दा माथिको सुधार आएकोमा बुधबार पनि ३ अंकले बढ्यो । आर्थिक वर्ष ०७६/७७ को बजेट भाषणपछि धेरैजसो दिनहरुमा नेप्से ओरालो दिशामै थियो ।

एक वर्षयताको बजार विश्लेषण गर्दाचाहिँ राम्रै सुधार देखिएको छ । आर्थिक वर्ष २०७४/७५ मा सेयर कारोबार मापक नेप्से परिसूचकसँगै बजार पुँजीकरणमा समेत ह्रास आएको थियो । तर आर्थिक वर्ष २०७५/७६ मा भने नेप्से र पुँजीकरण दुवै बढेका छन् ।

एक वर्षको अवधिमा नेप्से परिसूचक ३.८ अंकले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा रहेको नेप्से सूचकांक ३.८ प्रतिशतले वृद्धि भइ २०७६ असार मसान्तमा १२५९.० विन्दु कायम भएको छ । यस अवधिमा पुँजीकरणमा पनि राम्रै सुधार भएको छ । एक वर्षको अवधिमा बजार पुँजीकरण १ खर्ब ३२ अर्ब रुपैयाँले बढेको छ ।

धितोपत्र बजार पुँजीकरण ९.२ प्रतिशतले वृद्धि भइ २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड कायम भएको राष्ट्र बैंकले बताएको छ । बजार पुँजीकरण वाषिर्क विन्दुगत आधारमा २०७५ असार मसान्तमा २२.७ प्रतिशतले ह्रास भएको थियो ।

यसअनुसार कुल गार्हस्थ्य उत्पादनसँग बजार पुँजीकरणको अनुपात ४५.२ प्रतिशत हुने देखिन्छ । अघिल्लो वर्ष यस्तो अनुपात ४७.३ प्रतिशत रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ असार मसान्तमा २१५ रहेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, ३० वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् ।

चुक्ता मूल्य ४ खर्ब नाघ्यो

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७६ असार मसान्तमा ४ खर्ब १२ अर्ब २८ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २७ अर्ब २० करोड रुपैयाँ बराबरको साधारण शेयर, १० अर्ब ८१ करोड बराबरको हकप्रद शेयर, २२ अर्ब ५८ करोड रुपैयाँ बराबरको बोनस शेयर र ८५ करोड १७ लाख रुपैयाँ बराबरको डिबेन्चर गरी कुल ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा नेपाल धितोपत्र बोर्डले २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको डिबेञ्चर निष्कासनको अनुमति प्रदान गरेको छ ।

विज्ञ भन्छन्- धेरै माथि जाँदैन

अर्थविद् चन्द्रमणि अधिकारी तत्कालै सेयर बजार धेरै माथि जाने सम्भावना नरहेको बताउँछन् । सरकारले केही राम्रा नीतिहरु ल्याउन खोजे पनि कार्यान्वयनमा समस्याहरु देखिएको भन्दै उनले बजार हृवात्तै बढ्छ भनेर अनुमान गर्न नसकिने उल्लेख गरे ।

अर्कोतर्फ बैंकको ब्याजदर राम्रो भएका कारण पनि सेयर बजार सुस्ताएको उनको भनाइ छ । पछिल्लो समय प्राथमिक बजारमा सर्वसाधारणको आकर्षण देखिए पनि दोस्रो बजारमा आकर्षण कम देखिएको अधिकारी बताउँछ । यसको एउटा कारण बैंकको ब्याजदर भएको उनले सुनाए ।

‘विश्वास जागृत भएको छैन, मान्छेहरु सेयर बजारतर्फ आकषिर्त भएका छैनन्,’ अर्थविद् अधिकारीले भने, ‘प्राथमिक बजारमा आकर्षण देखिए पनि दोस्रो बजारमा सुस्त देखिएको छ ।’

बैंकले राम्रो ब्याजदर दिएका कारण सेयर बजारमा लगानी गर्ने सोच भएका व्यक्तिहरु पनि बैंकतर्फ लागेको उनले बताए । पछिल्लो समय जलविद्युत्का कारण पनि बजारलाई नकारात्मक असर पारेको उनको भनाइ छ ।

‘१०० रुपैयाँमा किनेको जलविद्युतको सेयर ८० रुपैयाँभन्दा तल झरेको छ,’ उनले भने, ‘हिजो जलविद्युत्को सेयरमा के के न हुन्छ भनिन्थ्यो, आज यस्तो अवस्थामा आयो अनि कसरी सुधार हुन्छ ?’

केहि समय अझै बजार थोरै तलमाथि भइरहने उनले बताए ।

बजार घट्नु पर्ने कारण छैन : पूर्व बैंकर

सेयर बजारका विषयमा जानकार पूर्व बैंकर अनलराज भट्टराई बजार घट्नु पर्ने कुनै खास कारण नरहेको बताउछन् । सरकारले ल्याएका पछिल्ला नीतिहरुले बजार सुधार हुनुपर्नेमा उल्टै घट्नु आश्चर्यको विषय भएको उनको भनाइ छ ।

भट्टराई भन्छन्, ‘किन घट्यो भन्ने आश्चर्यको कुरा छ, सिद्दान्ततः हिसाबले घट्नु पर्ने कारण नै छैन ।’

पुँजीगत लाभकरका कारण बजारमा निराशा छाएको र त्यो निराशा अनिवार्य प्यान नम्बरको नीतिले पनि अझ बढेको उनले बताए । यद्यपि सरकारले बजार सुधारका लागि कोशिस भने गरेको उनी बताउछन् ।

‘सरकारले बजेटमार्फत नै बजारको विकास र विस्तारका लागि राम्रो नीति लिएको देखिए पनि अझै लगानीकर्ताहरुमा निराशा छाएको छ,’ भट्टराईले भने ।

एक सय रुपैयाँमा आवेदन दिएर किनेको साधारण सेयर ६२ रुपैयाँमा बिक्री हुनु दुखद भएको उनले बताए । त्यो सेयर सरकार आफैले किनेर भए पनि उद्दार गर्नुपर्ने उनी बताउछन् ।

‘यहाँ घर बनाउनेले नै दमकल किन्नुपर्छ भन्ने जस्तो देखियो, तर घर बनाउनेले दमकल किन्दैन, यो राज्यको दायित्व हो,’ उनले भने, ‘राज्यले दमकल किने जस्तै लगानीकर्ताको लगानीमा जोखिम आयो भने सरकारले सेयर किन्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment