+
+
Shares

प्रचण्डले भने– लाखौं कार्यकर्ता परिचालन गर्छौ‌ं, पार्टी र सरकारविरुद्धका भ्रम चिर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १९ गते १८:३४

१९ भदौ, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया सम्पन्न गर्न ढिला हुँदा कम्युनिस्ट विरोधीहरुले सरकार र पार्टीविरुद्ध गलत प्रचार गरेर बद्नाम गराउने मौका पाएको टिप्पणी गरेका छन् । उनले अब योजना बनाएरै पार्टीको सिंगो पंक्तिलाई विरोधीका भ्रम चिर्न देशब्यापी परिचालन गर्ने बताए ।

नेकपाको विदेश मामिला विभागका प्रमुख माधव नेपाल र उपप्रमुखद्वय राम कार्की र विष्णु रिजाललाई पदस्थापन कार्यक्रमलाई बिहीबार तुलसीलाल अमात्य प्रतिष्ठानमा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकता ३ महिनाभित्र सकिनुपर्नेमा डेढ वर्ष लागेको भन्दै चिन्ता व्यक्त गरे । उनले पार्टीका लाखौं कार्यकर्ता परिचालन हुन नसक्दा विरोधीले कम्युनिस्ट पार्टी र सरकारविरुद्ध भ्रम फैलाउने मौका पाएको बताए ।

अध्यक्ष प्रचण्डले अब माथिबाटै योजना बनाएर वैचारिक, सांगठानिक र जनताबीच प्रचारात्मक हिसाबले ठूला अभियान सञ्चालन गर्ने सोच नेतृत्वले बनाएको जानकारी समेत दिए । विदेश विभागले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा कम्युनिस्ट पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट विश्वमै सबैभन्दा ठूलो जनमत प्राप्त गरेको सन्देश प्रवाह गर्नुपर्ने उनले बताए ।

सो अवसरमा नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपालले नेकपा एकीकरणको डेढ वर्ष पुग्न लाग्दा पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा अन्य समुदायलाई एकताको सन्देश दिन नसकिएको भन्दै अब विभागले सो काम गर्ने बताए ।

कार्यक्रममा नेकपाका प्रवक्ता तथा पूर्वमाओवादीका विदेश बिभाग प्रमुख नारायणकाजी श्रेष्ठ, विदेश विभाग उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालले नेपालमा कम्युनिस्ट पार्टीको सफलतालाई अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरुबीच लैजानुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?