Comments Add Comment

बेलायतमा निर्वाचन प्रयास : संसदमा सोमबार फेरि मतदान हुने

१९ भदौ, काठमाडौं । बेलायतमा समयअघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुने भएको छ ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन लागिएको हो ।

समयअघि नै निर्वाचन गराउने प्रस्तावमाथि संसदमा मतदान गराइएको थियो । तर, प्रधानमन्त्री जोनसनको सो प्रस्ताव अस्वीकृत भएको थियो ।

वरिष्ठ मन्त्री याकोब रिस मोग्गाले अग्रीम निर्वाचनका लागि आफूले संसदमा प्रस्ताव पेस गर्ने तयारी गरको सांसदहरूलाई जानकारी दिएका छन् ।

बेलायती संसद् हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदानको नतिजा प्रधानमन्त्री जोन्सनको विपक्षमा आएका छन् ।

प्रधानमन्त्री जोन्सनले बुधबार आगामी अक्टोबर १५ मा आमनिर्वाचन गर्नेगरी प्रस्ताव गरेका थिए, तर संसदले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो ।

त्यस्तै युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिना सम्झौता गर्ने प्रधानमन्त्री जोन्सनको अर्को प्रस्ताव पनि संसद्ले अस्वीकृत गरेको थियो ।

संसदमा चुनावी नतिजा आफ्नो पक्षमा नआएका कारण हतास देखिएका प्रधानमन्त्री जोन्सनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन जनताको बीचमा जान डराएको आरोप लगाएका छन् ।

ब्रेक्जिटको गतिरोध अन्त्य गर्ने दृढ विश्वासका साथ छ हप्ताअघि प्रधानमन्त्री बनेका प्रधानमन्त्री जोन्सन अहिले संसदमा सहमति नजुट्दा संकटको घेरामा परेका छन् ।

प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ को मितिभित्रै युरोपेली संघ छाड्नै पर्ने पटकपटक बताएका छन् । उनी सम्झौतासहित वा बिना सम्झौता ईयूबाट बहिर्गमनको पक्षमा छन् । तर जोन्सनकै कन्जरभेटिभ पार्टीका समेत धेरै सांसदहरु प्रधानमन्त्री यसको पक्षमा छैनन् । सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा झिनो बहुमत प्राप्त भएको थियो ।

चुनावको घोषणाका लागि ६५० सदस्यीय हाउस अफ कमन्समा दुई तिहाई मत आवश्यक पर्दछ । अर्थात् ४३४ मत आवश्यक हुन्छ, तर संसदमा भएको मतदानमा चुनावको पक्षमा केबल २९८ मत परेको थियो भने ५६ जनाले विपक्षमा मतदान गरेका थिए । बाँकी सांसदहरु अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment