Comments Add Comment

‘किशोर-किशोरी गम्भीर हुँदैनन्, तर यो जीवनको सबैभन्दा गम्भीर उमेर हो’

२१ भदौ, काठमाडौं । अमर न्यौपाने समकालीन साहित्यमा बढी पढिने युवा पुस्ताका लेखक हुन् । न्यौपानेको पहिलो आख्यान ‘पानीको घाम’ ले ०६६ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको थियो । दोस्रो उपन्यास ‘सेतो धरती’ ले ०६८ को मदन पुरस्कार प्राप्त गर्‍यो । तेस्रो उपन्यास ‘करोडौं कस्तुरी’ ले बेलायतमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली वाङ्मय नक्षत्र पुरस्कार प्राप्त गर्‍यो ।

पछिल्लो समय न्यौपानेले ‘गुलाबी उमेर’ नामक चौथो उपन्यास प्रकाशन गरेका छन् । पुस्तकले टीनएज भनिने १३ देखि १९ वर्ष उमेर समूहले अनुभव गर्ने शारीरिक र मानसिक परिवर्तनको कथा बोकेको छ ।

किशोर-किशोरीका सम्बन्धमा लेखक न्यौपानेको विश्लेषण छ- ‘गुलाबी उमेर (१३-१९ वर्ष) का किशोर-किशोरीहरु समान्यतया गम्भीर हुँदैनन् । तर, यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो ।’

यही ‘गुलाबी उमेर’को सेरोफेरोमा न्यौपानेसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंबाट कुनै गम्भीर सामाजिक विषयको पुस्तक आउला भन्ने पाठकको अपेक्षा थियो । किशोर पुस्ताको उपन्यास आएछ । कुनै विशेष कारण छ ?

गुलाबी उमेर (१३-१९ वर्ष) गम्भीर विषय होइन र ? हो, गुलाबी उमेरका किशोर-किशोरीहरु समान्यतया गम्भीर हुँदैनन् । तर यो नै जीवनको सबैभन्दा गम्भीर उमेर हो । र, सबैभन्दा तरल पनि । तरल उमेरमा सबैभन्दा धेरै शक्ति हुन्छ । त्यो शक्तिलाई बाँध बाध्ने उमेर पनि यही हो । त्यसैले उपन्सासको प्रक्कथनमा लेखेको छु-

भविष्यको अनिश्चित संसारलाई उज्यालो बनाउन र उज्यालो संसारलाई हराभरा बनाउन जीवनको नदीलाई बाँध बाध्ने उमेर पनि यही हो । असम्भवजस्तै लाग्ने कल्पनाÙ महामानवको जस्तै लाग्ने समभावना ! मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो ।

जीवनको यात्रा शिखरको पनि हुन सक्छ ! शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्‍याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो- गुलाबी उमेर ।

यो कुनै जातीय उपन्यास होइन । उमेरगत उपन्यास हो । यहाँ कुनै पात्रको पनि जात उल्लेख गरिएको छैन । तर उपन्यासमा पात्रको चरित्र-चित्रण गर्नुपर्ने हुन्छ । चरित्र-चित्रण गर्ने सन्दर्भमा कुनै जातको झल्को आउन सक्छ । संस्कार आउन सक्छ । के गर्नु संसारमा जात, संस्कार, परम्पराविनाको मानिस हुँदैन । भएको भए त्यही मानिसको कथा लेख्नुहुन्थ्यो ।

किशोरी उपन्यासमा पनि बाहुन समुदायका चेलीको कथा ल्याउनुभयो । यसो गर्दा एकाङ्गी विषय भएन ?

किशोर उपन्यास भएपछि स्वभावतः यौन उत्सुकताका कुरा हुन्छन् । तर, पाठकहरुले यसलाई अश्लील विषय मान्न सक्छन् भन्ने डर लागेको छैन ?

म डराएको छैन । स्कुलमा पढाइहुने स्वास्थ्य शिक्षामा यौन, यौनाङ्ग यससम्बन्धी विषय पढाइ हुन्छन् । के ती अश्लील हुन्छ र ? पाठ्यपुस्तकमा वस्तुगत रुपमा लेखिएका कतिपय कुरालाई मैले उपन्यासमा आख्यानात्मक रुपमा चित्रण गरेको छु । विश्वेश्वरप्रसाद कोइरालाले भनेका छन्, “साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।” मानिसले वस्त्र लगाएन भयो भने अश्लील देखिन्छ, लेखाइलेचाहिँ वस्त्र लगायो भने अश्लील देखिन्छ ।

तर, एउटा बालक (बालिका) निर्वस्त्र हुँदा पनि अश्लील देखिँदैन । युरोपका पार्कहरुमा भएका निर्वस्त्र मूर्तिहरु पनि अश्लील देखिँदैनन् । किनभने त्यहाँ कला छ । लेखकले आफ्नो लेखाइमा कलाको वस्त्र लगाइदिनुपर्छ । कलाको वस्त्र लगाइएको लेखन निर्वस्त्र बालक जस्तै हुन्छ ।

कतिपय ठाउँमा त यौनकै कुरा छ । जस्तो : पोर्न फिल्म, यौन समागमका कुरा, किशोर पुस्तालाई यी कुरा दिनु त्यो पनि तपाईं जत्तिको लेखकले…

लेखाइमा यौन आएर अश्लील हुने होइन, कला नभएर अश्लील हुने हो ।

यो पुस्तक पढिरहँदा सुरुमा तारणीप्रसाद कोइरालाको ‘सर्पदशंको उपन्यासको सम्झना हुन्छ । कथा अघि बढ्दै जाँदा विजय मल्लका कथा र उपन्यासका सम्झना आउन थाल्छ । ती लेखकहरुबाट प्रभावित हुन खोज्नु भएको हो ?

कतै अवचेतनमा प्रभाव रहन सक्छ, तर सचेत रुपमा होइन । खासमा मैले लामो समयसम्म, झण्डै १३ वर्षसम्म यस्तै गुलाबी उमेरका विद्यार्थीलाई पढाएँ । पढाउँदै गर्दा उनीहरुलाई पनि पढें र धेरै प्रभावित भएँ । देख्दा मैले उनीहरुलाई पाठ्यपुस्तकका कुरा पढाएँ, तर खासमा यो अवधिमा उनीहरुले मलाई आफ्ना बढिरहेका उमेर र त्यसले पार्ने प्रभावका बारेमा पढाइरहेका थिए । मैले पढाउँछु भनेर पढाएँ, उनीहरुले पढाउँछु नभनेरै पढाए । मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । खासमा यो उपन्यास तिनै गुलाबी उमेरका विद्यार्थीहरुले दिएको अघोषित गृहकार्य हो ।

उपन्यासका बीचमा कथावाचक उपस्थित गराउनुको कारण के हो ?

कथावाचक त ऋतु अर्थात् वेदांशी नै हो । उसैले आफ्नो उमेरको कथा भनेकी छ । प्रत्येक वर्ष उसले आफ्नो शिक्षकलाई उमेरको कथा बुझाउँछे । तपाईंले बीचमा उपस्थित हुने शिक्षकको कुरा गर्नु भएको होला । खासमा वेदांशीले लेखेका कुरालाई शिक्षकले प्रत्येक वर्ष एक-एक पृष्ठमा आफ्नो प्रतिक्रिया दिँदै गएको मात्र हो । प्रत्येक वर्षको एकएक अध्याय बनाइ उमेरका आधारमा उपन्यासलाई सात अध्यायमा विभाजन गरिएको छ । प्रत्येक अध्याय सकिएपछि एकएक पृष्ठमा शिक्षकले आफ्नो प्रतिक्रिया दिएको छ । यसलाई सैद्धान्तिक व्याख्या गर्दा पाठकीय प्रतिक्रिया सिद्धान्त (रिडर्स रेस्पोन्स थ्यौरी) भन्न सकिएला ।

यो उपन्यास लेख्दा हरबर्टले विकास गरेको बाल मनोविज्ञान र किशोर मनोविज्ञानका ज्ञाता विलियम जेम्सको अध्ययन पनि गर्नुभयो कि यी अनुभव जन्य कुरा मात्र थिए ?

मैले हरबर्ट र जेम्सका सिद्धान्तलाई आधार बनाएको चाहिँ होइन । खासमा गुलाबी उमेरका नानीहरुसँग बिताएका दिब्य १२ वर्षका देन हुन् । यो पुस्तकका अनुभव र प्रेरक मेरा विद्यार्थीहरु हुन् ।

उपन्यासभरि कतै पनि पाठ्यपुस्तक र त्यसका पाठकहरुका कुरा हुँदैनन् । यो उमेरमा विद्यार्थीले केवल उमेरका कुरा मात्रै गर्छ र ? स्कुल जीवनमा सबै कुरा उल्लेख गर्दा पाठ्यपुस्तक नराख्नुको कुनै कारण छ ?

पाठ्यपुस्तकका कुराहरु पाठ्यपुस्तकमै हुन्छन् । त्यसका लाग थप पुस्तक लेख्नुपर्दैन । उनीहरुले पढ्न नपाउने भनेको आफ्नै उमेर र भावनामा भइरहेका परिवर्तन हुन् । जुन अनुभव हुन्छ तर पढ्न र चर्चा गर्न पाईँदैन । मेरो खास उद्देश्य किशोरीहरुको हुर्कंदो उमेरको कथा र उसको मानसिक तथा शारीरिक विकासक्रम पनि आख्यानमा आओस् भन्ने हो ।

यसको अर्थ यो पुस्तक किशोर पुस्ताका लागि हो भन्ने बुझ्नुपर्‍यो । त्यसो भए तपाईंका परम्परागत पाठकहरुलाई के भनेर चित्त बुझाउन लगाउनुहुन्छ ?

उपन्यास बजारमा गएपछि यो फलानाका लागि हो, फलानाका लागि होइन भन्नु त भएन । पल्लवी उमेरमा भएकाले गुलाबी उमेर कल्पँदै पढ्नुहुनेछ । गुलाबी उमेरमा भएकाले गुलाबी उमेर अनुभव गर्दै पढ्नुहुनेछ । मखमली, बैजनी या अस्मानी उमेरमा भएकाले गुलाबी उमेर सम्झँदै पढ्नुहुनेछ । तर पनि यो उपन्यास युवालक्षित हो ।

बहुपति प्रथाबारे उपन्यास आउँदैछ भन्ने चर्चा धेरै सुनियो, तर यो पटक पनि आएन । किन होला ?

कुनै-कुनै पुस्तक जन्मन धेरै समय लाग्दोरहेछ । एकचरण लेखिसकेर राखेको छु । केही पाठ पुनर्लेखन र सम्पादन गर्न बाँकी छ । ढिलो हुनुको मुख्य कारण म आफैं हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment