Comments Add Comment

९ दिनमा ‘मारुनी’ले कती कमायो ?

सुरुवाती दिनमा आशातित व्यापार नगरेको चलचित्र ‘मारुनी’ले बलियो वर्ड अफ माउथका कारण सुखद व्यापार गरिरहेको छ । शुक्रबार, शनिबार र आइतबार चलचित्रको व्यापार आशातित नभएपनि सोमबारबाट भने बढेको थियो । भारतीय चलचित्र ‘साहो’को व्यापार कमजोर बनेपछि ‘मारुनी’ केही हदसम्म बलियो बनेको हो ।

दोश्रो सातामा पनि ठूलो नेपाली र हिन्दी चलचित्र नहुँदा यसलाई प्रत्यक्ष फाइदा भएको छ । निर्मात्री पूनम गौतमले दिएको आँकडा अनुसार, ‘मारुनी’ले दोश्रो साताको शनिबारसम्म आइपुग्दा करिब १ करोड ८५ लाखको ग्रस कलेक्शन गरेको छ । उनले भनिन्–‘सोमबारदेखि चलचित्रको व्यापार एउटै रफ्तारमा छ । केही हलमा शोजहरु बढेका छन् । केही हलले चलचित्र नै मागेका छन् ।’

उनले, दोश्रो साताको शनिबारसम्म चलचित्रले काठमाण्डौ बाहिरबाट ६५ लाखको ग्रस कलेक्शन गरेको बताइन् । यस्तै, दोश्रो साताको शनिबारसम्म चलचित्रले काठमाण्डौबाट १ करोड २० लाखको ग्रस कलेक्शन गरेको पूनमको भनाई छ ।

उनले १ करोड ५५ लाखमा चलचित्र निर्माण भएको बताइन् । यसैले, चलचित्रको व्यापारिक रफ्तार यही तरिकाले अगाडि बढेको खण्डमा नेपालबाटै लगानी सुरक्षित हुने आशा उनले लिएकी छिन् । तर, यसका लागि चलचित्रले व्यापारिक रफ्तारलाई कायम राख्न आवश्यक छ । दोश्रो साताको शनिबार पनि नेपालभर चलचित्रले पाएका शोजहरुमा दर्शकको अकुपेन्सी ८० प्रतिशत माथि थियो ।

नवल नेपाल निर्देशित चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङको मुख्य भूमिका छ । चलचित्रको व्यापारमा कलाकारको स्टारडम भन्दा पनि कथा बलियो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment