Comments Add Comment

मोवाइल थिच्दा घरकै धारामा पानी !

२३ भदौ, गोरखा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत जिल्लामा १५ वटा खानेपानी योजना निर्माण भइसकेका छन् । २८ सय ७९ धारा जडान भएर पानी वितरण भइसक्यो ।

१ सय २० घरधुरी लाभान्वित हुनेगरी आरुघाट गाउँपालिका–१० को चापानी सिंगारे ढुङ्गा चनौटे लिफ्ट खानेपानी योजना पनि बनिसकेको छ । मोवाइल अपरेटिङ सिस्टमबाट पानी लिफ्ट गरिन्छ । प्रदेशबाट निर्माण भएको योजनामध्ये मोवाइल अपरेटिङ सिस्टमबाट पानी लिफ्ट हुने यो जिल्लाको पहिलो योजना भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भनाइ छ ।

चापाने सिंगारे ढुङ्गामा ३५ हजार लिटर क्षमताको ट्याङ्की छ । मुहानको पानी सिधै ट्याङ्कीमा संकलन हुन्छ । पानी वितरणका लागि गाउँदेखि माथि ५० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण गरिएको छ ।

मोवाइल अपरेटिङ सिस्टमबाट पानी लिफ्ट गरिने उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर श्रेष्ठ बताउँछन् । ‘मुहानको ट्याङ्कीमा मोवाइल अपरेटिङ बक्स छ, त्यो बक्समा सिमकार्ड राखेका छौं,’ उनले भने, ‘मोवाइल एप्समार्फत त्यो नम्बरमा डायल गरे बटम अन भएर पानी लिफ्ट हुन्छ ।’

कोड नम्बरसहितको मोवाइल एप्सबाट पानीको मात्रा, विद्युतको भोल्टेज, प्रणालीमा देखिएको समस्यालगायतका सम्पूर्ण जानकारी पाउन सकिने उनले बताए ।

एप्स संचालन र रेखदेखका लागि रामबहादुर भट्टलाई मासिक १२ हजार रुपैयाँ तलवमा समितिले नियुक्त गरेको छ । बिहान करिव आधा घण्टा उपभोक्तालाई पानी वितरण हुन्छ । पानी लिफ्ट गर्न उनी ट्याङ्की धाइरहनु पर्दैन । मोवाइल एप्सबाटै उनले त्यो काम गर्छन् ।

योजना निर्माणका लागि ३० लाख रुपैयाँ बराबरको जनश्रमदान सहित कुल एक करोड २६ लाख खर्च भएको छ ।

करिव आठ महिनाको अवधिमा योजनाको काम सम्पन्न भएको हो । घरकै धारामा पानी आएपछि स्थानीय खुशी छन् । ‘एक गाग्री पानी लिन जाँदा कम्तीमा एक घण्टा समय खर्च हुन्थ्यो, तर अहिले त्यो समय पनि बचेको छ, सरसफाइमा पनि धेरै सजिलो भयो,’ स्थानीय शान्ता गिरीले भनिन् । घरमै पानी आएपछि करेसावारीमा तरकारी समेत लगाउन थालेकी छिन् ।

स्थानीय शिव गिरीलाई खानेपानीको मात्र होइन गाइवस्तुलाइ दानापानी गर्न पनि सहज भएको छ । ‘पहिले गाइवस्तुलाई पानी खुवाउन खोला लानुपथ्र्याे तर अहिले घरमै पानी छ, खोला धाउनुपर्दैन,’ उनले भने ।

योजनाको आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । उनले अबदेखि पानी खान खोला धाउनुनपर्ने बताए । ‘यो बर्षबाट कसैले पनि खोलाको पानी खानुपर्दैन हामी आधारभूत खानेपानीको व्यवस्था सबै ठाउँमा गर्छाै,’ उनले भने ।

जिल्लामा निर्माण भइरहेको अन्य लिफ्टिङ योजनामा पनि मोवाइल अपरेटिङ सिस्टमको व्यवस्था गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतले बताए ।

‘यो सिस्टमबाट धेरै फाइदा छ, हाइ र लो भोल्टेज आउँदा लाइन आफै कट अफ भएर मोटरमा जान दिदैन, पानी सकियो भने आफै अफ हुन्छ, अटो टाइमिङमा राखेर पानी छाड्न पनि मिल्ने, फेरि अन्य कर्मचारी पनि राख्नुपर्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment