Comments Add Comment

पेट्रोलियम पाइपलाइन उदघाटन : बोतलमा थाप्ने, भण्डारण गृहमा खन्याउने !

२४ भदौ, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना आजबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको परीक्षणपछि उदघाटन गर्न लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार, नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ-आफ्नो देशबाट ‘स्वीच’ थिचेर पाइपलाइन उद्घाटन गर्ने तय भएको छ । स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उदघाटन मध्याहृन १२ बजे हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तो छ उदघाटन प्रक्रिया

सुरुमा दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट भिडियो कन्फ्रेन्समार्फत स्वीच थिचेपछि बरौनीमा तेलको पाइप ‘अन’ हुन्छ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, त्यसपछि सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेर भारतबाट पठाइएको तेल स्वीकार गर्ने छन् ।

तेल पहिल्यै पाइपमा भरेर राखिएको हुनाले स्वीच थिच्नासाथ तेल खस्न थाल्नेछ । पाइपबाट झारेको तेल बोतलमा थापेर बरौनी डिपो प्रमुखले नेपाल आयल निगमका प्रमुखलाई हस्तान्तरण गर्नेछन् । त्यसलाई निगमका प्रमुखले भण्डारगृहमा खन्याउनेछन् । त्यससँगै पाइपबाट तेल भण्डारगृहमा खन्याइन्छ । यो कामको लागि अमलेखञ्जमा नेपालका अधिकारीहरु भेला भएका छन् ।
यो पनि पढ्नुहोस अमलेखगञ्जमा यस्तो छ पेट्रोलियम पाइपलाइन उद्घाटनको तयारी (फोटोफिचर)

उदघाटन सकिएपछि भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट नियमित तेल डिपोमा जम्मा हुन थाल्नेछ ।

उक्त पाइपलाइनको साउन २ गते सफल परीक्षण सम्पन्न भएको थियो । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

नेपालतर्फको पाइपलाइनको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ भने भारतले आफ्नो भूमितर्फको सुरक्षा तेल उद्योग सुरक्षा निर्देशनालय -ओईएस आईडी) एवं पेट्रोलियम तथा विस्फोटन सुरक्षा संगठन पीईएसओबाट गराउनेछ ।

उदघाटनपछि पहिलो चरणमा पाइपबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ ।

उपभोक्ता मूल्य समायोजन हुने

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने नेपाल आयल निगमको भनाइ छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौं ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च हुने गरेको छ ।

पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । यद्यपि, विविध कारणले बीचमा परियोजना निर्माण अघि बढ्न सकेको थिएन । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको थियो ।

परियोजना करीब चार अर्ब ४० करोड लागतमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment