Comments Add Comment

मोरङ–सुनसरीमा भारतबाट बोइलर कुखुराको तस्करी

२४ भदौ, विराटनगर । कुखुरा तथा पन्छीमा बर्डफ्लू देखिएपछि मोरङ, सुनसरी, झापासहितका जिल्लाहरुमा कुखुरा निकासीमा कडाई गरिएको छ । मोरङ र सुनसरीमा बर्डफ्लू देखिएपछि स्थानीय प्रशासनले जिल्ला निकासीमा कडाई गरेपनि भारतबाट बोइलर कुखुरा तस्करी खुलेआम भइरहेको छ । तस्करले विराटनगरसँगै सुनसरीका भित्री नाकाहरु तस्कारीका लागि प्रयोग गरेका छन् ।

मंगलबार बिहानको राति मात्र सुनसरीमा स्थानीयबासीको सहयोगमा प्रहरीले ठूलो परिमाणमा कुखुरासहित ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो । तस्करहरुले हरिनगर गाउँपालिकाको घुस्की हुँदै ११ वटा मोटरसाइकलमा भित्र्याएका ५७२ वटा वटा कुखुरा स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको थियो ।

कुखुरामा नेपाल आत्मनिर्भर छ । बर्डफ्लूसहित अन्य रोग भित्रिन सक्ने भन्दै सरकारले भारतबाट कुखुरा तथा पन्छी आयातमा प्रतिबन्ध लगाएको छ । तर, अबैध बाटो हँुदै भित्रिने कुखुरा काठमाडौंसम्म पुग्ने गरेको कृषकहरु बताउँछन् ।

‘भारतबाट भित्रिएका कुखुरा विभिन्न बजारमा पुग्छन्,’ कुखुरा पालक कृषक प्रकाशकुमार माझी भन्छन्, ‘तस्करी फस्टाउँदा स्थानीय कृषकले उत्पादन गरेको कुखुराले बजार पाउन सकेन् ।’

उनका अनुसार सुनसरीका विभिन्न नाका हुँदै दैनिक ५ हजार वटासम्म अबैध कुखुरा भित्रिन्छ । कुखुरा तस्करले रातको समयमा मोटरसाइकलमा तस्करी गर्ने उनको दाबी छ । ‘रातभरी पारीबाट ओसारेका ओसारै गर्छन्,’ उनी भन्छन्, ‘तस्करीको कुखुरा काठमाडौंसम्म पुग्छ भन्ने सुनेको छु ।’

खुला सीमा भएका कारण विराटनगरमा पनि कुखुराको तस्करी ठूलो छ । सिमाबाट करिब सात किलोमिटरको अन्तरमा रहेको विराटनगरका कतिपय पसलहरुमा भारतबाटै काटेर कुखुरा आयात हुन्छ । मंगलबार इलाका प्रहरी कार्यालय रानीले भारतीय बजार जोगवनीबाट काटेर ल्याउँदै गरेको करिब १० केजी कुखुराको मासु बरामद गरेको थियो ।

खुला सीमा भएका कारण प्रहरीलाई तस्करी रोक्न चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठ बताउँछन् । प्रहरीले देखेसम्म नियन्त्रण गर्ने बताउँदै उनले सबै स्थानमा २४ सै घण्टा प्रहरी खटाउन नसकिएका कारण तस्करी हुने गरेको बताए । तस्करको समूहले प्रहरी नभएको मौकामा समिा वारपार गर्ने गरेको उनको दाबी छ ।

सुनसरीमा मंगलबार कुखुरा नियन्त्रणमा लिँदा तस्करीका लागि नक्कली बिल प्रयोग गर्ने गरेको पाइएको थियो । तस्करीको कुखुराको चल्ला र दाना लगेको नक्कली बिल बनाएर भारतबाट भित्रिएका कुखुरा बजारसम्म पु¥याउने गरेको कुखुरा पालक कृषक मनोज कुँवर बताउँछन् ।

खुला सीमा नाका हुँदै भित्रिएका कुखुरा इटहरी, इनरुवा, झुम्का खनार, दुहबी हुँदै मोरङको पथरीसम्म पुग्ने गरेको कुवँरले बताए ।

भारतबाट अबैध बाटो हुँदै भित्रिएको कुखुराका कारण स्थानीय कृषकको कुखुरा बिक्री न्यून छ । नेपाली कुखुराको बजार मुल्य जिउँदो प्रतिकिलो २२० रुपैयाँ पर्छ । तर, भारतबाट भारु ९० रुपैयाँमा नै कुखुरा आयात गर्न सक्छन् । तस्करले मुनाफा धेरै भएपछि रातारात तस्करी गर्दै आएको प्रहरीको दाबी छ ।

निमित्त प्रमुखको भरमा क्वारेन्टाइन

पशु पन्छी आयात र निर्यात अनुगमन र नियन्त्रणको दाहित्व पशु क्वारेन्टाइन कार्यालयको हो । तर चार जिल्लाको क्वारेन्टाइन हेर्ने विराटनगरस्थित कार्यालय निमित्त प्रमुखको भरमा छ । कार्यालयमा निमित्त प्रमुख केशवकुमार सिंह जनशक्ती अभावमा कार्यालयले गस्ती गर्न सक्ने अवस्था पनि कम छ । कार्यालयमा चारजना मात्र कर्मचारी रहेको बताउँदै उनले प्रहरीले चोरी पैठारी नियन्त्रणमा सहयोग गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment