+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कांग्रेस सांसदको प्रश्न : डेंगु नियन्त्रण गर्न संकटकाल घोषणा पर्छ कि पर्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १४:१८

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले मुलुकमा डेंगुको महामारी फैलिसकेकाले सरकारले संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सरकारले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा गरेर डेंगु नियन्त्रणको प्रयास गर्नु पर्ने बताए ।

‘७७ जिल्लामध्ये ५६ जिल्लामा डेंगु फैलिसकेको छ, यो राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नुपर्छ कि पर्दैन ?’ उनले सोधे, ‘स्वास्थ्यमा संकटकाल घोषणा गर्नु पर्छ कि गर्दैन ?’

सांसद अधिकारीले पश्चिम नेपालको बाँके र बर्दियामा डेंगु सुरु हुँदा नियन्त्रणको प्रयास प्रभावकारी नभएकै कारण अहिले ५६ जिल्लामा फैलिएको बताए । ‘५६ जिल्लामा डेंगु फैलिसकेको छ । हिजो हामीले पश्चिमको बाँके बर्दियामा हुँदा त्यहीँ लोकलाइज गर्न सक्थ्यौं । त्यसको प्रभाव यहाँ आइसकेको छ । अहिले राष्ट्रिय इमरजेन्सीको रुपमा लिन सक्दैनौं भने यसले महामारीको रुप लिन्छ,’ उनले भने ।

सरकारले ४/५ जना मान्छे मर्दैमा महामारी भन्नु हुदैन भनेको कुरा सञ्चार माध्यममा आएको भन्दै अधिकारीले सोधे, ‘कति जना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ र सरकार यो कुरा डिक्लियर गर्छ ?’

डेंगुका कारण आम जनतामा भय र त्रास सिर्जना भएको भन्दै सांसद अधिकारीले सरकारबाट आधिकारिक दृष्टिकोण नआउँदा सर्वसाधारण असमन्जसमा परेको बताए ।

‘डेंगुको सन्दर्भमा भन्नुपर्दा सरकार कहाँ छ, सरकारले के गर्दैछ ? आज जनता यो प्रश्न सोध्दैछन् । परस्पर विरोधाभासपूर्ण समाचारले आम जनता अन्योलमा छन्’ उनले भने ।

सांसद अधिकारीले डेंगु परीक्षण नि:शुल्क गर्न पनि सरकारलाई आग्रह गरे ।

‘डेंगु परीक्षणको वास्तविक लागत कति हो सरकारले भन्नुपर्छ । कम्तीमा संक्रामक रुपमा फैलिएको यो रोगको परीक्षणमा लाग्ने खर्च समाजवाद उन्मुख यो सरकारले ब्यहोर्नुपर्ने होइन ?’ उनले भने ‘यसमा लाग्ने खर्च सबै जोड्दा पनि केही भीआईपीले राष्ट्रिय कोषबाट गरेको खर्चको अनुपातमा नगन्य नै हुन्छ ।’

मन्त्रीदेखि डाक्टरसम्म डेंगुको संक्रमणमा पर्दा सरकार भने कुहिरोको काग भएको उनले टिप्पणी गरे ।

चितवनमा डेंगु परीक्षण शुल्क १ हजार कायम गरिएको समाचार आएको भन्दै उनले ३ सय ५० रुपैयाँको किटबाट हुने परीक्षणमा १ हजार रुपैयाँसम्म लिन पाउने सहमति स्थानीय प्रशासनले नै गर्नु लाजमर्दो भएको बताए ।

डेंगु नियन्त्रणका विषयमा सरकार के गर्दैछ भन्ने विषयमा उनले सरकारको पनि जवाफ मागेका छन् । ‘डेंगुको विषयमा सरकारले आफ्नो भनाइ राखोस् भन्ने मेरो पार्टी र मेरो तर्फबाट आग्रह गर्न म यहाँ उपस्थित भएको हुँ’ उनले भने ।

सांसद अधिकारीले डेंगु समयमा पहिचान भएमा ज्यान गुमाउनुपर्दैन भन्ने जनचेतना फैलाउन जरुरी रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?