Comments Add Comment

गण्डकी प्रदेशले सार्वजनिक गर्न थाल्यो पर्यटकको तथ्यांक

अगस्टमा १६ हजार विदेशी गण्डकी प्रदेशमा

२५ भदौ, काठमाडौं । गण्डकी प्रदेशले पहिलोपटक प्रदेशस्तरीय पर्यटकीय तथ्यांक संकलन गरी सार्वजनिक गर्न थालेको छ । प्रदेश सरकार, उद्योग, वन तथा वातावरण मन्त्रालय र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयले तथ्यांक सार्वजनिक गरेका हुन् ।

तथ्यांक अनुसार अगस्ट महिनामा मात्र गण्डकी प्रदेशमा १६ हजार १ सय ६२ पर्यटक पुगेका छन् । त्यसमध्ये भारतीय पर्यटकको संख्या ५ हजार ५ सय १५ रहेको छ । भारतबाहेक तेस्रो मुलुकमा पर्यटक १० हजार ६ सय ४७ जना रहेका छन् ।

गण्डकी प्रदेशमा १ महिनाको अवधिमा ५ हजार १ सय १७ जना पर्यटक पोखरा विमानस्थल प्रयोग गरी प्रदेशमा प्रवेश गरेका छन् । आबुखैरेनीबाट ९ हजार ८ सय ३१ र गल्याङ प्रवेश विन्दुबाट १ हजार २ सय १४ जना पर्यटक प्रवेश गरेको प्रदेशको तथ्यांक रहेको छ । यस सूचीमा आन्तरिक पर्यटकको संख्या भने समावेश छैन । गण्डकी प्रदेश आन्तरिक पर्यटकबीचमा समेत सबैभन्दा लोकप्रिय गन्तब्य हो ।

गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाइरहेको छ । सन् २०२० मा छिमेकी मुलुक भ्रमण वर्ष, सन् २०२१ मा पूर्वाधार वर्ष र सन् २०२२ लाई गण्डकी भ्रमण वर्षका रुपमा घोषणा गरेको छ । यस अवधिमा अधिकतम आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य रहेको प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । उनका अनुसार अब गण्डकी प्रदेशले हरेक महिना पर्यटकीय तथ्यांक सार्वजनिक गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment