Comments Add Comment

गृहमन्त्रीको ‘ग्रिन सिग्नल’पछि पक्राउ परेका हुन् साइला भाइ

सीआईबीका निर्देशक भन्छन्– माथिबाट सहयोग नभएको भए, अनुसन्धान गर्न सकिन्नथ्यो

२६ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अनुसन्धान अघि बढाउन बाटो खुला गरिदिएपछि साइला भाइ नरेश थापा पक्राउ परेको खुलेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्न्यात समूहका सदस्य र नरेश थापाबीच नियमित सम्पर्क हुने गरेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

त्यसक्रममा गृहमन्त्री बादलले अनुसन्धान अगाडि बढाउन भनेको स्रोतको दाबी छ । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गृहमन्त्रीका साइला भाइ नरेशसँग सोधपुछ थालेको थियो । त्यही क्रममा उनलाई प्रहरी हिरासतमा राखिएको छ ।

समीर समूहसँग नरेशको कनेक्सन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको योजनाकार भएको आरोपमा पक्राउ परेका समीरमान हाल केन्द्रीय कारागार, सुन्धारामा छन् । तर कारागारमा रहेकै बेला उनले फिरौती धन्दा चलाएको बताइन्छ । उपत्यकाका निर्माण व्यवसायीहरुलाई माग्दै नदिए गौचनको हालत बनाइदिने धम्की आएको थियो ।

समीरमानको योजनाअनुसार फिरौती असुलीमा संलग्न भएको आशंकामा सीआईबीले साउन अन्तिमतिर पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गर्‍यो । उनीहरुमाथि अनुसन्धानका क्रममा नरेशसँग कनेक्सन देखिएको प्रहरीले बताएको छ ।

तर, उनको संलग्नतामा रकम उठाइयो वा उठाइएन भन्ने प्रहरीले बताएको छैन ।

यो पनि पढ्नुहोस ‘गौचन बनाइदिन्छु’ भन्दै ठूला ठेकदारलाई कसले दिइरहेको छ धम्की ?

‘केही म्यासेजका विवरण’ र दुई जनासँग नियमित सम्पर्क देखिएपछि सीआईबी पूर्वभारतीय सेनाका नरेशमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्षमा पुगेको थियो । त्यो खबर प्रहरी महानिरीक्षक खनाललाई भयो । खनालले गृहमन्त्री बादललाई भेटेर यसबारे ब्रिफिङ गरे । जवाफमा गृहमन्त्री बादलले ‘त्यस्तो केही देखिन्छ भने अनुसन्धान गर्नुस्’ भनेको प्रहरी उच्च स्रोतले बतायो ।

ब्युरोका निर्देशक निरज शाही पनि अनुसन्धानमा गृहमन्त्रालयबाट असहयोग नभएको बताउँछन् । ‘माथिबाट अफ्ठ्यारो भएको भए अनुसन्धान गर्नै सकिने थिएन’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाहीले अनलाइनखबरसँग भने ।

अनुसन्धानका क्रममा गृहमन्त्रीका भाइ नरेशलाई फिरौती असुल्ने समूहले प्रयोग गरेको देखिएको उनले बताए ।

उनकाअनुसार सीआईबीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । बुधबार दिउँसो जिल्ला अदालतका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासमा थापासहित अन्यको बयान भइरहेको छ ।

यो पनि पढ्नुहोस जेलबाटै सुरक्षा चुनौतीः गृहमन्त्रीलाई चिठी, सञ्चार उद्यमीलाई ‘थ्रेट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment