Comments Add Comment

प्रशासकीय अधिकृतको क्वार्टरमा मेयरले लगाए ताला

असुरक्षित भएको भन्दै प्रशासकीय अधिकृतले दिए प्रशासनमा निवेदन

२७ भदौ, विराटनगर । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृतको निवासमा तालाबन्दी गरेका छन् । सामान्य विवादमा भनाभन भएपछि फागोले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको क्वार्टरमा तालाबन्दी गरिदिएका हुन् ।

रेग्मीले असुरक्षित भएको भनी बिहीबार उर्लाबारी छाडेका छन् । उनले नगर प्रमुख फागोका कारण जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षा माग गर्दै निवेदन दिएका छन् ।

रेग्मीको निवेदन जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले शान्ति सुरक्षा माग गर्दै शुक्रबार पत्र आएको पुष्टि गरे । यस विषयमा प्रशासकीय अधिकृत रेग्मीले केही टिप्पणी गर्न मानेनन् ।

मेयर भन्छन् – सामान्य ‘ठाक–ठुक’ भयो

यता उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो प्रमुख प्रशासकीय अधिकृत रेग्मीसँग सामान्य भनाभन भएको बताएका छन् । जानकारी नै नदिई रेग्मी विदामा बसेको बताउँदै उनले भने ‘सामान्य ठाकठुक भएको हो, उहाँले उजुरी गर्नभएछ ।’

वादविवादपछि रेग्मीले क्वार्टर छाडेको र आफूले नगर प्रहरी लगाएर क्वार्टरमा तालाबन्दी गरेको उनले बताए । ‘ कोठमा ८–१० तोला सुन पैसा छ भन्ने कुरा आयो’ उनले भने ‘भोलि सामान हराउँदा अपजस आउला, उहाँले क्वार्टर छाडेपछि ताला लगाएको हो ।’

कोरम नपुगी नगरसभा, आदेशपछि कामठप्प

नेपाली कांग्रेसबाट निर्वाचत प्रमुख खड्ग फागो र नेकपाबाट निर्वाचित उपप्रमुख लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण नगरको काम प्रभावित भएको एक भयो ।

कोरम नपुगी नगरसभा डाकेको दाबी गर्दै उपप्रमुख सहित १३ जना कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रीट दायर गरेका थिए । उच्च अदालतले गत साउन २७ गते नगरसभाको निर्णय कार्यन्वयन नगर्न आदेश जारी गरेको थियो ।

गत असार २९ गते उर्लाबारी नगरपालिकाको चौथो नगरसभा भएको थियो । १९ जना कार्यपालिका सदस्य रहेको नगरमा मेयर खड्ग फागोसहित नेपाली कांग्रेसका ६ जना सदस्यले निर्णय गरी चौथो नगरसभा डाकेका थिए ।

नगर कार्यपालिकामा नेकपाको १३ सदस्य छन् । तर कांग्रेसबाट निर्वाचितहरुले अल्पमतका आधारमा एकलौटी रुपमा नगरसभा गरेको दाबीसहित उपमेयरसहित १३ जनाले उच्च अदालत विराटनगरमा रीट दायर गरे । उच्च अदालतको आदेश दिएपछि नगरपालिकाको काम ठप्प भएको हो ।

एक महिनापछि मन्त्रालको हस्तक्षेप

एक महिनादेखि अवरुद्ध भएको काम सञ्चालन गर्न बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । तर नगरको सेवा अझै अवरुद्ध छ ।

उर्लाबारी नगरपालिकाका प्रमुख फागो मन्त्रालयको पत्रपछि बिहीबार कार्यपालिकाको बैठक बोलाएको बताउँछन् ।

बैठकको निर्णयका आधारमा अघि बढ्ने बताउँदै उनले भने ‘ केन्द्रको निर्णय मान्दा अदालतको अवहेलना हुन्छ, नमान्दा मन्त्रालयलाई अटेर गरेजस्तो ।’ कानुन व्यवसायीसँग छलफल गरी अघि बढ्ने उनले बताए । उपप्रमुख भण्डारीले मन्त्रालयको पत्र आएपछि सेवा प्रवाह गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment