Comments Add Comment

गृहमन्त्रीको जवाफले कांग्रेसको चित्त बुझेन, संसद अवरुद्ध

२९ भदौ, काठमाडौं । बाँके घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले रोष्टममा उभिएर बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेसको चित्त बुझेन र, संसद बैठक अवरुद्ध भएको छ ।

‘अरिङ्गाल’हरुमाथि कारबाही होस्’

बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बाँके घटनाबारे सरकारको जवाफ मागे ।

सरकारी पार्टीका सदस्यहरुले अर्को पार्टीको सभा विथोल्नु घोर निन्दनीय भएको उनले बताए । घटना हुँदा स्थानीय प्रशासन मौन देखिएको भन्दै उनले योजनाबद्ध त होइन, भन्ने प्रश्न गरे । जागरण अभियानलाई प्रभाव पार्ने उद्देश्यले आक्रमण गरेको भन्दै उनले भने, ‘यस्तो घटनाबाट विचलित भएर अभियान रोक्दैनौं ।’

जवाफ दिएका गृहमन्त्री थापाले घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

यो पनि पढ्नुहोस ‘नेकपाको निर्देशन होइन, कार्यकर्ता संलग्न हुनसक्छन्’

प्रश्नउत्तरका क्रममा कांग्रेस सांसदहरुले भने गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताए । घटनामा संलग्नहरुबारे किटानी जाहेरी दिएको भन्दै उनीहरुले ‘अरिङ्गाल’हरुलाई कारबाही हुन्छ कि हुन्न प्रष्ट जवाफ दिन माग गरेका छन् ।

फेरि जवाफ दिन रोष्टममा पुगेका गृहमन्त्री थापाले नेकपाको निर्देशनमा घटना नभएको बताए । तर नेकपाका कार्यकर्ता संलग्न हुनसक्ने भन्दै कारबाही गर्ने दोहोर्‍याए ।

तर उनको जवाफमा कांग्रेसले चित्त बुझाएन । किटानी जाहेरी दर्ता गर्न निर्देशन दिएपछि मात्र संसद चलाउन सहयोग गर्ने सचेतक पुष्पा भुसालले बताइन् । कांग्रेस सांसदहरू आफ्नो स्थानमा विरोध जनाइरहेपछि सभामुख कृष्णबहादुर महराले बैठक १० मिनेटलाई स्थगित गरिएको घोषणा गरे ।

जाहेरीमा अडि्कयो वार्ता

दश मिनेटका लागि भन्दै स्थगित भएको संसद झण्डै २ घन्टापछि बस्यो, तर प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोध कायमै रहृयो । विपक्षी संसदहरु चुपचाप उभिरहेपछि सभामुख कृष्णबहादुर महाराले सोमबारसम्म स्थगित गरे ।

नेताहरुका अनुसार संसद अवरोध भएपछि सभामुखको पहलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसका नेताहरुबीच कुराकानी भएको थियो ।

तर खजुरा १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध कांग्रेसले दिएको ज्यानुमद्दाका जोहरीमा अडि्कयो । कांग्रेस नेताहरुका अनुसार २५ भदौमा वडा नम्बर १ मा कार्यक्रम भएको थियो, जसमा बत्ताहरुले बाटो बनाउँदा भ्रष्टाचार भएको भन्दै मल्लको आलोचना गरेका थिए । भोलिपल्ट वडा नम्बर २ मा कार्यक्रम भइरहँदा आक्रमण भयो, जुन मल्लकै निर्देशनमा भएको कांग्रेसको दाबी छ ।

कांग्रेसले मल्लविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दामा किटानी जाहेरी समेत दिएको छ । तर उनी घटनामा संलग्न नै नभएको भन्दै प्रहरीले जारी दर्ता गरेको छैन ।

छलफलमा कांग्रेसका एक सांसद भन्छन्, ‘आक्रमणमा वडाध्यक्ष संलग्न थिएनन्, तर उनको निर्देशनमा भएकाले मुद्दा दर्ता गरेर छानविन गरोस् । निर्दोष रहेछ हामी मान्छौं भन्यौं । तर जाहरी दर्ता गर्न दिन गृहमन्त्री तयार हुन भएन ।’

घटनामा पक्राउ परेकाहरुविरुद्ध बाँके प्रहरीले सार्जनजिक अपराधको मुद्दा चलाएको छ । मल्लविरुद्ध पनि सार्जनजिक अपराधको मुद्दा मात्र चलाउने हने भने जाहेरी दर्ता गर्न सक्ने सन्देश नेकपाको संसदीय दलका नेताहरुले दिएका थिए ।

सभामुखले प्रतिपक्षले उठाएका सवाललाई गम्भिरतापूर्वक ध्यान दिन सत्तपक्षलाई आग्रह गरेपछि आफूहरुले समाधान दिन खोज्दा कांग्रेसले नचाहेको नेकपाका सांसद कृष्णभक्त पोखरेलले बताए ।

कांग्रेसले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न शर्त राखेपछि पोखरेलले कांग्रेस सचेतक पुष्पा भुसाललाई कस्तो प्रकृतिको घटनालाई ज्यान मार्ने उद्योग भनिन्छ भन्ने प्रश्न गरेका थिए । पोखरेलले भुसाललाई सोधे-तपाईँ आफैं बरिष्ठ अधिवक्ता हुनुहुन्छ । कस्तो घटनालाई ज्यान मार्ने उद्योग भनिन्छ ? धारिलो हतियार प्रयोग गरेको, अंगभंग हुने गरि आक्रमण गरेको अवस्था त्यहाँ छ ? धकेलाधकेल हुँदा हातमा चोट लागेको घटना ज्यान मार्ने उद्योग हुन्छ ?’

नेकपाका नेताहरुले सार्वजनिक अपराधसम्बन्धी मुद्दामा जाहेरी दर्ता गर्ने गरी जान सकिने बताएका छन् । यद्यपि सार्वजनिक अपराधसम्बन्धी मुद्दा पनि गृहमन्त्रीले निर्देशन दिएर दायर नहुने भन्दै समझदारीका रुपमा त्यसरी जान सकिने प्रस्ताव नेकपाले राखेको थियो ।

तर कांग्रेसले ज्यान मार्ने उद्योगमा वडाध्यक्षमाथि मुद्दा दायर नगरेसम्म सदन चल्न नदिने अडान लियो । र, संसद ३० जेठसम्मका लागि स्थगित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment